बँदेल मार्न मकैबारीमा करेन्ट, करेन्ट लागेर दाजुभाइको मृत्यु

नेपालखोज २०७८ साउन २१ गते ८:५४

बैतडी । जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुईजनाको मृत्यु भएको छ।

बैतडीको सुर्नया गाउँपालिका ५, स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो । बुधबार राति पौने ११ बजे घरनजिकै रहेको मकैबारीमा जंगली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले बताए।

‘जंगली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ,’ उनले भने । करेन्ट लाग्नेबित्तिकै दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुवै सहोदर दाजुभाइ हुन् । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज (प्रहरी निरीक्षक) राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ। -रासस
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया