शुक्रबार, वैशाख १४, २०८१

नेपालमा पनि ‘इलेक्सन म्यानेजमेन्ट’

नेपालखोज २०७८ साउन २१ गते १८:५९

काठमाडौं । चुनावी अभियान व्यवस्थापनकै कारण भारतका प्रशान्त किशोरको चर्चा भइरहेकै बेला नेपालमा पनि चुनावी अभियान व्यवस्थापनको व्यावसायिक सुरुवात भएको छ ।करिब एक वर्षदेखि कम्पनी स्थापना गरेर आन्तरिक अभ्यास तथा गृहकार्यमा रहेको युवाहरुको एक समूहले नेपालमै पहिलोपटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक सुरुवात गरेको हो । विभिन्न क्षेत्रका दक्ष युवा, विज्ञ तथा विदेशमा यस्तो अनुभव लिएकाहरुको टिम नै निर्माण गरेर प्रिज्मा टेक्नोलोजिजमार्फत इलेक्सन क्याम्प म्यानेजम्यान्ट एजेन्सी सुरु गरेको समूहले जनाएको छ । ‘विश्वका उत्कृष्ट राजनीति अभ्यास भएका देशमा यस्तो अभ्यास छ,’ प्रिज्मा टेक्नोलोजिजका सीईओ तथा प्रिज्मा ग्रुपका अध्यक्ष राजेन्द्र चटौतले भने, ‘करिब एक वर्षदेखि हामीले इलेक्सन क्याम्प म्यानेजेमेन्ट एजेन्सी सुरु गरेका छौं, हामीलाई जानकारी भएसम्म यो नेपालमै पहिलोपटक हो । छोटो समयमा जे-जति काम गर्ने अवसर जुट्यो, हामीलाई त्यसले ऊर्जा थपेको छ। कल्पना नै नगरेका पञ्चायतदेखि चुनावमा उठेका, जितेका पुस्ताले समेत चासोले बुझ्न आउनुहुन्छ, अनुभव आदान-प्रदान गर्नुहुन्छ, हौसला बढाएर जानुहुन्छ ।’

विगत केही वर्षदेखि नेपालको राजनीतिक अवस्था, मौलिकता, विगतका चुनावी परिणाम, पार्टी तथा विभिन्न संघ-संस्थाका चुनावी एजेन्डा तथा राजनीतिप्रतिको नागरिक धारणाबारे अध्ययन गरिरहेको यो समूहले केही संस्थागत चुनावमा अभ्यास पनि गरिसकेको जनाएको छ । ‘यो बीचमा हामीले विगतका चुनाव र प्रचार अभियान, घोषणापत्र, तिनमा नागरिकको आकर्षणबारे गहन अध्ययन गर्‍यौं,’ प्रबन्ध निर्देशक चटौतले भने, ‘पैसा भए चुनाव सजिलै जितिन्छ भन्ने मनोविज्ञान विकास हुँदै गएको पाइन्छ, जुन सरासर गलत छ । हरेक चुनाव सम्पूर्ण किसिमले फरक हुन्छ, तर पनि धेरै कुरा समान हुन्छ । चुनावमा प्रतिस्पर्धा हुन्छ, एजेन्डा हुन्छ, निश्चित विधि पद्धति हुन्छ, नतिजाको पर्खाइ हुन्छ, ब्रेन वासिङ हुन्छ, व्रेन ह्याकिङ हुन्छ, मतदान हुन्छ, मतदाता हुन्छन्, समर्थन-विरोध हुन्छ, हार-जित हुन्छ, अपेक्षाहरु हुन्छन्, थुप्रै कुरा हुन्छन् ।’

साझेदारी गर्ने व्यक्ति, पार्टी वा संगठनलाई चुनावी मुद्दा, नारा, कार्यक्रम, प्रचार सामग्री निर्माण र चुनावसम्बन्धी सम्पूर्ण गतिविधिमा प्रत्यक्ष सहयोग पुर्‍याउने यो समूहले फिल्ड सर्भे, ग्राउन्ड एनालाइसिस, डाटा एनालाइसिस, डेमोग्राफिक सर्भे, सोसियो इकोनिमिक सर्भे, पब्लिक सेन्टिमेन्ट एनालाइसिस,आर्टिफिसियल इन्टिलिजेन्स, पोलिसी मेकिङ तथा डिजिटल प्लेटफर्मको प्रयोगमार्फत उम्मेद्‌वारलाई चुनावमा सफल बनाउने रणनीति तय गरिने जनाएको छ ।

‘हामी सूक्ष्म किसिमले उम्मेद्‌वारका लागि मार्ग निर्माण गर्छौं । जसले उम्मेद्‌वारलाई सफलता हासिल गर्न सक्षम बनाउँछ,’ चटौतले भन्छन्, ‘हामी नेपालका राजनीतकर्मीका एजेन्डा र नारा मात्रै हेरौं न, आवश्यकता एकातिर उम्मेद्‌वार अर्कैतिर हुन्छन् । अझ, सबै कपिपेस्ट हुन्छन् । कतिपय राजनीतिकर्मीले समाजको रुपान्तरणसँग सामञ्जस्यता गर्न सकिरहेका छैनन् । नया पुस्तासँग सम्बन्ध जोड्न सामाजिक सन्जालमा त उहाँहरु हुनुहुन्छ तर युवाहरुको विश्वास जित्न धेरै कमले सक्नुभएको छ। कतिपय त आफ्ना भोटर र सामाजिक सन्जालका फलोवरलाई के पस्किने भन्नेसम्म विवेक राख्न सक्न्नुहुन्न । सबैको आफ्नो युनिक सेलिङ पोइन्ट हुन्छ । चुनाव लड्ने र जित्ने कुरा मात्र होइन, त्यसबेलाको एजेन्डा, प्रस्तुति, व्यवस्थापन, सिनर्जी सबैको आफ्नो दीर्घकालीक प्रभाव हुन्छ ।’

विशुद्ध व्यावसायिकभन्दा पनि सभ्य चुनाव र राजनीतिक संस्कार निर्माणका लागि पनि आफूहरुले यस्तो कार्य थालनी गरेको यो समूहको दाबी छ ।

प्रतिक्रिया