शुक्रबार, वैशाख २१, २०८१

ढिलो सुत्ने स्पेनी, चाँडो उठ्ने अमेरिकी !

नेपालखोज २०७८ साउन २२ गते ८:२१

काठमाडौं । प्रविधिको विकास र सहरीकरणसँगै हिजोआज मानिसहरू कम सुत्न थालेका छन् । मानिसले दैनिक सातदेखि नौ घण्टा सुत्न आवश्यक हुन्छ । सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ । रोगको प्रतिरोध गर्ने क्षमतामा पनि असर गर्ने चिकित्सकहरूको भनाइ छ ।

आजभोलि संसारका मानिस कम निद्रासँगै रोगको जोखिममा छन् । संसारका मानिसहरूले रातमा निद्रा पुर्‍याउँछन् कि पुर्‍याउँदैनन् भनेर जान्नका लागि वैज्ञानिकहरूले हालै एक मोबाइल एपको मद्दतबाट एक सयवटा बढी देशका ६ हजार मानिसको अध्ययन गरे ।

वैज्ञानिकहरूले मानिसको रातमा सुत्ने बानीका सम्बन्धमा गहिरो अनुसन्धान गरेका थिए । अध्ययनका क्रममा केही वर्ष पहिलेभन्दा आजभोलि मानिसहरूले कम सुतेको पाइयो । अध्ययनका क्रममा स्पेनका मानिसहरू एकदमै ढिलो सुत्न गएको पत्ता लागेको छ । स्पेनमा अधिकांश मानिस राति पौने १२ बजे मात्र सुत्ने गरेका छन् । यस्तै अस्ट्रेलियाका प्रायः सबै मानिस विश्वमै सबैभन्दा छिटो पौने ११ बजे सुत्ने गरेका छन् । नेदरल्यान्ड्सका मानिस संसारमा सबैभन्दा बढी सुत्ने गरेका छन् । उनीहरू औसतमा ८ घण्टा १२ मिनेटसम्म सुत्ने गर्छन् ।

जापान र सिंगापुरका मानिसहरू भने सबैभन्दा बढी अनिँदो बस्नेमा पर्छन् । उनीहरू औसत ७ घण्टा २४ मिनेट मात्र सुत्ने गर्छन् । यस्तै साउदी अरबका मानिसहरू सबैभन्दा ढिलो उठ्ने गर्छन् । साउदीमा ओछ्यानबाट उठ्ने औसत समय बिहानको ७ बजेर ४५ मिनेट हो ।

यता अमेरिकाका अधिकांश सबै संसारमा सबैभन्दा छिटो उठ्ने गर्छन् । अमेरिकामा मानिस बिहान पौने ७ बजे उठिसकेका हुन्छन् । छिमेकी देश भारत र नेपालको उठ्ने र सुत्ने समय औसत रुपमा समान छ । सन् २०१५ मा भारतीयहरूको सुत्ने बानीको सम्बन्धमा एक सर्भे गरिएको थियो । उक्त सर्भेअनुसार ९३ प्रतिशत मानिस मज्जाले सुत्ने गरेका छैनन् । उक्त अध्ययनअनुसार रातमा ७२ प्रतिशत भारतीयहरू रातमा चार पटकसम्म निद्राबाट ब्युँझने गर्छन् । ८७ प्रतिशत मानिसलाई कम निद्राका कारण स्वास्थ्यमा असर गरिरहेको छ । ५७ प्रतिशत भारतीयमा निद्राको कमीका कारण दैनिक कामकाज प्रभावित भएको छ ।

वैज्ञानिकहरूका अनुसार चौबीस घण्टा काममा लागिरहने जीवनशैली, राति अबेरसम्म मोबाइल फोनमा झुम्मिनु, अलगअलग सिफ्टमा काम गर्नुपर्ने बाध्यता र जिन्दगीको दौरानमा अरूलाई उछिनेर अगाडि बढ्नेलगायत क्रियाकलापले विश्वका मानिसहरूको निद्रामा संकट उत्पन्न भएको छ ।

सन् १९५० सम्म विश्वका मानिसहरू औसत ८ घण्टासम्म सुत्ने गर्थे । सन् २०१३ मा आएर संसारका मानिसको औसत सुताइ ६ घण्टा ३० मिनेट मात्र भएको छ । हर रात आठ घण्टा सुत्ने बानीको विकास गर्ने हो भने ९० वर्षसम्म बाँच्ने मानिस ३२ वर्षसम्म सुतेर बिताउँछन् ।

वैज्ञानिकका अनुसार प्राचीनकालमा घनाजंगल भएका बेला बाघ-भालुका डरले मानिसहरू रुखमा बस्दथे । तर निदाएका बेला तल खस्ने डरले उनीहरू अनिँदो बस्ने गर्थे । आजभन्दा करिब २० लाख वर्षदेखि मानिसहरू जमिनमा बस्ने थालेसँगै ओछ्यानमा सुत्ने बानीको विकास भएको मानिन्छ । जब मानिस रुखमा बस्न छाडेर जमिनमा बस्ने थाले, तब उनीहरूको निद्रा पनि लामो हुन थाल्यो । अहिले फेरि समय र प्रविधिको विकाससँगै मानिसहरूको सुताइ छोटिन थालेको छ । यसको अर्थ निद्रा पनि उद्‌विकासको क्रमसँगै फरक पर्न थालेको छ ।

वैज्ञानिकहरूमा अनुसार निदाएका बेला मानिसहरूको दिमाग बढी सक्रिय हुने गर्छ । जब मानिस मज्जाले सुत्न पाउँछ भने तब अनावश्यक दिमागी फोहोरहरू पनि बाहिरिने गर्छन् । मज्जाले निद्रा नपुग्नाले हाम्रो हार्मोनमा गडबडी हुनसक्छ । बिरामी भएको महसुस हुन्छ । यहाँसम्मकी लगातार निद्रा नपुर्‍याएकै कारण विभिन्न रोग लागेर मानिसको मृत्यु पनि हुन सक्छ । पर्याप्त समय सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सिर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ ।
–जी न्युजलगायत विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया