बिहीबार, वैशाख २०, २०८१

बाराका माछा किसानलाई मेगाको सहुलियत कर्जा

नेपालखोज २०७८ साउन २२ गते ८:१२

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछा कृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।

यससम्बन्धी सम्झौतापत्रमा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा बैंककी सीईओ अनुपमा खुञ्जेली, ए एन्ड डी आक्वा बिजनेसका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभाका अध्यक्ष शिवहरि आचार्यले सम्झौता गरेका हुन् ।

सम्झौताबाट बाराको कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ए एन्ड डी आक्वा बिजनेसले माछापालक कृषकहरुलाई प्राविधिक सहयोग र अन्य सामग्री आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जा सहज रुपमा उपलब्ध गराउनेछ ।

हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगाले माछापालक कृषकहरुलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष शाहले बताए । बैंकले आगामी पाँच वर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।

बैंककी सीईओ खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरु सदैव प्राथमिकतामा रहेको बताइन् । बैंकले आमनागरिकलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको बताउँदै उनले माछापालक किसानहरुलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताइन् ।

यसैगरी ए एन्ड डी आक्वाका अध्यक्ष थिङ र सुनगाभाका अध्यक्ष आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताए ।

यसैगरी बिहीबार (साउन २१ गते) बैंकले बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ स्थित जितपुरमा नयाँ शाखा विस्तार गरी सो शाखाबाट बैंकिङ कारोबारको शुभारम्भसमेत गरेको छ ।

प्रतिक्रिया