मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपालखोज २०७८ साउन २५ गते १७:२२

काठमाडौं । किर्तिपुर नगरपालिका–९ नगाउँ स्थित आफू बस्दै आएको घर अगाडि पार्किङ्ग गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेको अभियोगमा दुई जनालाई २४ घण्टा नबित्दै ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका-७ घर भई हाल काठमाडौं नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका–२ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।

चोरी भएको सूचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी बिना चावी डाईरेक्ट स्टार्ट गरेर नम्वर प्लेटसमेत परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका-९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उक्त मोटरसाइकल यही श्रावण २३ गते रातको समयमा काठमाडौं किर्तिपुर नगरपालिका – ९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आधिखोला गाउँपालिका – ५ घर भई हाल किर्तिपुर बस्ने मुक्ति प्रसाद पौडेलले यस महाशाखामा निवेदन दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त,किर्तिपुरमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तररूपमा चलाई राखेको छ ।

प्रतिक्रिया