रासायनिक मलको अभाव छैन

नेपालखोज २०७८ साउन २६ गते १३:२२

विराटनगर । प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको सम्बन्धित कार्यालयले जनाएको छ । लगभग रोपापाइँ सकिएको यो प्रदेशमा अझै पनि रासायनिक मल युरिया, डिएपी र पोटास मौज्दातमा रहेको बताइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरमा अझै युरिया पाँच हजार ५०६ टन, डिएपी ६४६ टन र पोटास ७२ टन मौज्दातमा रहेको कार्यालयका प्रमुख नवरत्न गौतमले जानकारी दिए ।

उनले यस कार्यालयमा केही दिनभित्रै थप युरिया एक हजार ५०० टन आउने भएकाले किसानलाई वर्षे धान बालीका लागि चाहिने मलको अभाव नरहने बताए ।

गएको वर्षमा रासायनिक मल ५१ हजार २०८ टनमा मातहतका कार्यालयमा २८ हजार ९५४ टन पठाएको र कार्यालयले आफैं १२ हजार ९१६ मेट्रिक टन बिक्री गरी असारसम्ममा नौ हजार ७७७ टन रासायनिक मल मौज्दात रहेको थियो ।

युरिया अहिले ५० केजीको प्रति बोरा रु ७५० र डिएपी रु।दुई हजार २०० मा बिक्री भएको बताइएको छ । साल्ट ट्रेडिङ कम्पनी विराटनगरमा युरिया १८ हजार ५६२ बोरा, डिएपी १५ हजार २०६ बोरा र पोटास एक हजार ९६४ बोरा मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिए ।

कार्यालयले यस वर्ष युरिया २३ हजार ७४७ बोरा, डिएपी १३ हजार ४७० बोरा र पोटास एक हजार ६०० बोरा वितरण गरेको छ भने चालू आवको साउनदेखि अहिलेसम्म वितरण गरेको रासायनिक मलको विवरण भने निकाल्न नपाएको प्रमुख चौधरीले जानकारी दिए ।

प्रतिक्रिया