ठन्डी देशमा ‘हिट डोम’ घातक !
क्यानाडामा त यसपालि गर्मीले अघिल्ला वर्षहरूको रेकर्ड तोडेको छ भने ‘लु’ का कारण धेरै मानिसको मृत्यु भएको छ ।
क्यानाडामा र उत्तर-पश्चिम अमेरिकामा अहिले देखिएको तापक्रम नेपाल, भारतलगायत केही देशमा पहिले देखिएको रेकर्ड छ ।

काठमाडौं । अहिले विश्वका धेरै देशमा ह्वात्तै गर्मी बढेको छ । वर्षाको समय छ । तर वर्षा नभएका बेला नेपालको तराई क्षेत्रमा त मानिसको दैनिकी नै प्रभावित हुने गरेको छ । यस्तै छिमेकी देश भारतका विभिन्न ठाउँमा पनि गर्मीका कारण मानिसको दैनिकीमै प्रभाव परेको छ ।
नेपाल र भारतको तुलनामा यतिखेर युरोप र अमेरीकी जनता गर्मीबाट बढी प्रभावित छन् । क्यानाडामा त यसपालि गर्मीले अगाडिका वर्षहरूको रेकर्ड नै तोडेको छ । क्यानाडामा तातो बाफ अर्थात् ‘लु’ का कारण धेरै मानिसको मृत्यु भएको छ । धेरै बिरामी परेका छन् । पछिल्लो समय क्यानाडामा ४९ दशमलव ५ डिग्रीसम्म तापक्रम मापन गरिएको छ । यो साता त्यहाँ गर्मीले एकपछि अर्को रेकर्ड कायम गरेको छ । यो भन्दा पहिले क्यानाडामा ४५ डिग्रीभन्दा बढी तापमानको रेकर्ड कायम गरिएको थिएन ।
क्यानाडाका वरिष्ठ जलवायु विशेषज्ञ डेभिड फिलिपले अहिले अचाक्ली गर्मी बढेकोप्रति आश्चर्य व्यक्त गरेका छन् । उनी भन्छन्, ‘यसभन्दा पहिले क्यानाडा ठन्डा मौसम हुने ठाउँका लागि चिनिँदै आएको थियो । यो संसारको ठन्डा देशमा पनि गनिन्छ । यहाँ भारी बरफ जम्ने गर्छ ।’
क्यानाडामा गर्मीको रेकर्ड तोडिनुलाई जानकारहरूले ‘हिट डोम’ को कारण मानेका छन् । हिट डोम अथवा तातो हावाको बेग क्यानाडामा एक युगमा एकचोटि आउने गर्छ । त्यहाँ तातो हावाले भरिएको एक पहाड नै छ, जसलाई हिट डोम भन्ने गरिन्छ । हिट डोममा एकदमै रफ्तारमा तुफानी हावाको उत्तरचढाव अथवा घर्षण हुनेगर्छ । चिसो तुफान तल्लो तहमा रहन्छ र तातो हावाको वेग माथिल्लो तह वा वातावरणमा फैलिन्छ । तुफानी चिसो र तातो हावाको घर्षण भएपछि वातावरणको माथिल्लो तहमा जम्मा हुने तातो हावा नै हिट डोम भएको जलवायु विशेषज्ञहरू बताउँछन् । वातावरणमा रहेको तातो हावाको जामलाई उच्च हावाको वेगले हिट डोमबाट धकेलेपछिको परिणाम अहिले क्यानाडा र उत्तर पश्चिम अमेरिकामा सहनै नसक्ने गर्मी भएको छ ।
क्यानाडा र उत्तर-पश्चिम अमेरिकामा तामक्रमले वर्षौंपछिको उच्च रेकर्ड बनाएको छ । अमेरिकाको नेसनल वेदर सर्भिसका अनुसार उत्तर-पश्चिम अमेरिकाको पोर्टल्यान्ड र ओरगेनमा आजभोलि ४६ दशमव १ डिग्री सेल्सियससम्म तापक्रम छ । यस्तै सिएटल र वासिंगटनमा ४२ दशमलव १ डिग्री सेल्सियस छ । अमेरिकामा तापक्रमको रेकर्ड यति धेरै कहिल्यै मापन नगरिएको नेसनल वेदर सर्भिस अमेरिकाको दाबी छ ।
पोर्टल्यान्डमा त गर्मीका कारण केवल (तार) आफैं पग्लिन थालेकाले स्ट्रिट कार सर्भिस नै बन्द गरिएको छ । जब गर्मीको कारण केवल तार पनि पग्लिन्छ भने त्यो गर्मीले कतिसम्म स्वास्थ्य असर गर्छ भनेर सजिलै अनुमान गर्न सकिन्छ ।
क्यानाडामा र उत्तर-पश्चिम अमेरिकामा अहिले देखिएको तापक्रम नेपाल, भारतलगायत केही देशमा पहिले देखिएको रेकर्ड छ । तर कहिल्यै अधिक तापक्रम नहुने ठाउँमा यो वर्ष भने बढी तापक्रम हुनुचाहिँ अनौठो विषय हो । क्यालिफोर्नियाको डेथ भ्यालीमा सन् २०२० अगस्त १६ मा ५५ डिग्रीसम्म तापमान रेकर्ड गरिएको थियो । फरनेस क्रिक भन्ने ठाउँमा सन् २०१३ मा ५६ दशमलव ६ डिग्री तापमान मापन भयो । सन् १९३१ मा ट्युनिसियामा ५५ डिग्री तापमान रेकर्ड गरिएको थियो ।
गर्मी मौसममा विशेषगरी, झाडापखाला, जन्डिस, टाइफाइड, फुड पोइजनिङलगायत संक्रामक रोगको जोखिम बढी हुने गर्दछ ।
चिकित्सकहरूका अनुसार जाडो होस् वा गर्मी हाम्रो भित्री शरीरले हरदम ३७ दशमलव ५ डिग्री सेल्सियससम्म तापक्रम थेग्ने क्षमता राखेको हुन्छ । वास्तवमा मानव शरीर ३७ दशमलव ५ डिग्री सेल्सियसमा काम गर्ने गरी बनेको हुन्छ । तर यो दरभन्दा ३-४ डिग्रीमाथि र ३-४ डिग्री तल हुँदा पनि फरक नपर्ने चिकित्सकहरू बताउँछन् । तर न्यूनतम र अधिकतमभन्दा माथि जब शरीरमा गर्मी वा तापक्रम हुन्छ भने त्यसले निकै नराम्रो असर पुर्याउँछ । अमेरिकाको इन्डियना विश्वविद्यालयका प्रोफेसर जेकरी जे श्लेडर मानिसको शरीरले कतिसम्म गर्मी थेग्न सक्छ भन्ने प्रश्नको यकिन जवाफ नहुने दाबी गर्छन् ।
गर्मी बढेपछि महामारीको चिन्ता स्वास्थ्य क्षेत्रमा थपिने गरेको छ । अधिकांश महामारी गर्मी मौसममै फैलिने चिकित्सकहरूको दाबी छ । चिकित्सकका अनुसार भाइरस र ब्याक्टेरियाका कारण हुने र सर्ने खालका रोगको मौसम गर्मी हो । गर्मी मानव स्वास्थ्यको लागि एकदमै खतरनाक छ । गर्मी मौसममा विशेषगरी, झाडापखाला, जन्डिस, टाइफाइड, फुड पोइजनिङलगायत संक्रामक रोगको जोखिम बढी हुने गर्दछ ।
शरीरमा असर पुर्याउने ब्याक्टेरियाको सामान्यतः २५ देखि ४० डिग्री तापक्रममा विकास हुन्छ । गर्मीमा तापक्रम यति नै हुने भएकाले खाना चाँडै बिग्रन्छ । गर्मीमा बढी मसलायुक्त, प्रोटिन र क्यालोरी भएका खानेकुरा पचाउन कठिन हुन्छ । बढी तातो हुने र शरीरमा भएको पानी सोसिने हुनाले शरीरको तापक्रम सन्तुलनमा राख्न झोल पदार्थ खानुपर्ने चिकित्सकहरूको सुझाव छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
प्रतिक्रिया