आइतबार, जेठ ६, २०८१

नागप्रति कृतज्ञ, यसरी गर्ने आराधना !

बबिन गौतम २०७८ साउन २९ गते ७:००

आज २०७८ साउन २९ गते शुक्रबार श्रावण शुक्लपक्षको नागपञ्चमी तिथि अर्थात् घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा अर्चना गरेर नाग-देवतालाई प्रसन्न पार्ने दिवस ।

सबेरै नुहाइधुवाइ गरेर चोखो भई घरमा लिपपोत गरी शुद्ध गरिसकेपछि घरको मूलढोकामाथि गोबरले नागको चित्र टाँसेर गाईको दूध र दूबो चढाई पूजा अर्चना गर्ने गरिन्छ । पुराणहरूमा पातालमा निवास गर्ने नागदेवताले पृथ्वीलाई धारण गरेको प्रसंग एवं भगवान् शिवजीको गहना तथा भगवान् नारायणको शय्याका रूपमा नागदेवताको विशिष्ट भूमिका दर्साइएको छ। रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले नागहरूप्रति कृतज्ञता ज्ञापन गर्न पूजाअर्चना गर्ने चलन रहेको जनविश्वास पनि छ ।

नागपञ्चमीमा मूलढोकाको दुवैतिर विषालु सर्पको चित्र वा मूर्ति निर्माण गरी दही, दुबो, अक्षता, कुश, गन्ध, पुष्प, नैवेद्य आदि अर्पण गरी पूजार्चना गर्नुपर्दछ। घरमा नागपूजन गर्नाले बिजुली, वज्र, अग्नि, सर्प आदिको भय हुँदैन भनिन्छ। भूमिमा नागदेवताको निवास हुन्छ ।

यसर्थ जुनसुकै कामका लागि भूमि खन्नुपूर्व वा गृहनिर्माण गर्नुपूर्व भूमि धारण गर्ने नागदेवतालाई प्रसन्न पार्न विशेष पूजा गर्नुपर्दछ। यो दिन व्रतालुले ५ वटा टाउका भएका वा अष्टकुलि नागको आकृति बानाई अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नाम भएका अष्टनागलाई विशेष पूजा गरिन्छ ।

नागपूजन मन्त्र –
आस्तिकस्य मुनेमातर्जगदानन्दकारिणि ।
एह्येहि मनसादेवी नागमातर्नमो स्तुते ।।
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुर्जैमिनिश्चैव पञ्चैते वज्रवारकाः ।।
पूजा गरेर यसप्रकारले नाग स्तोत्रको पाठ गर्ने पनि गरिन्छ :-
ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।
सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।
मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।
प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।
रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।
०००
नागमन्त्र पाठ गर्न असम्भव भए ॐ कुरुकुल्ये हुँ फट स्वाहा मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।

नागगायत्री मन्त्र (ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विद्ममहे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्) को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ । यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास छ । नागदेवतालाई श्रीखण्डको सुगंध विशेष रुपले मनपर्ने भएकाले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ ।

त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्नेसेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कार्य पूर्ण रुपमा गर्न सक्दा कालसर्प योग दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।

प्रतिक्रिया