आइतबार, जेठ ६, २०८१

‘साँपको पनि गोत्र हुन्छ’

सुनील सापकोटा २०७८ साउन २९ गते १०:३२

सर्प, साँप वा नाग जे भने पनि यसको सम्बन्ध हामी मनुष्य जातिसँग बडो विचित्रको छ । साँप हाम्रो शत्रु होइन । यसले हामीलाई विनाकारण डस्दैन । नजिक गएर डिस्टर्भ गरियो अथवा कुल्चियो वा हमला गरियो भने मात्र सर्पले मनिसदेखि डराएर आफ्नो प्रतिरक्षा गर्न टोक्छ ।

यो दुनियाँमा सर्पले डसेर मर्ने मानिसको संख्याभन्दा साधारण रुघाखोकीले मृत्यु हुनेको संख्या धेरै छ । ९० प्रतिशत सर्प विषालु हुँदैनन् । प्राचीनकालदेखि नै हिन्दुहरु प्रकृति पूजक भएकाले हो वा साँपको फाइदा बुझेर हो वर्षमा एकपल्ट नाग पञ्चमीका दिन यसको पर्व मनाउने चलन छ ।

भनिन्छ सर्पले वातावरणमा भएको विषालु हावा ग्रहण गरी सफा तुल्याउन सहयोग पुर्‍याउँछ । यसले किसानहरुलाई खेतको मुसाबाट पनि रक्षा गर्छ । एक अनुसन्धानअनुसार साँपले मानिसलाई डस्दा यसको विष चढेर मर्नेभन्दा पनि आत्तिएर, डराएर मृत्यु हुनेहरुको संख्या बढी छ ।

भनिन्छ- साँपको पनि गोत्र हुन्छ । साँपको जुन-जुन गोत्रहरु हुन्छन् ती सबै गोत्र हिन्दुहरुको पनि गोत्र हुन् । त्यसैले हिन्दु धर्मशास्त्रमा सर्पलाई नमार्नू भनिएको छ । सर्पले भगवान् शिवको गलादेखि लिएर भगवान् विष्णुको शय्यासम्म त्यसै स्थान पाएको होइन ।

पहिले मलाई साँपदेखि खुब डर लाग्थ्यो । साथीहरुले मलाई जिस्क्याउँथे पनि, कति साँपदेखि त्रसित भएको भनेर । अचेल मलाई साँपभन्दा बढी डर मानिसहरुसँगै लाग्न थालेको छ । साँपले त उसलाई कुल्चियो भने मात्र डस्छ, तर मानिसले त आफ्नो स्वार्थसिद्धि, ईर्ष्या अनि प्रतिशोधका लागि बारम्बार अरुलाई डसिरहेको हुन्छ ।

अचेल हाम्रा कतिपय युवा नाग पञ्चमीका दिन घरमा नागको तस्बिर टाँसेको देखेर मनमनै हाँस्दा पनि हुन् । तर ‘इकोलोजिकल ब्यालेन्स’ का लागि हाम्रा पूर्वजले हामीलाई मनुष्य जीवनमा साँपको कति महत्त्व छ भन्ने सन्देश दिन पनि यसलाई पर्वका रुपमा दिएका वा चलन चलाएका होलान् । अन्त्यमा, सबैमा नाग पञ्चमीको हार्दिक शुभकामना ।

प्रतिक्रिया