शुक्रबार, जेठ ४, २०८१

मास्क लगाउँदा गर्नै नहुने गल्ती

मीना साउँद २०७८ साउन २९ गते ११:१२

काठमाडौं । नेपालमा यतिबेला मास्क अभियान देशव्यापी जारी छ । पछिल्लो समय कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएको तर, जनस्वास्थ्यको मापदण्ड अपनाउन नागरिकबाट हेलचेक्रयाइँ भइरहेको भन्दै नागरिकलाई सचेत गराउन र मास्कको महत्त्वबारे बुझाउन अभियान थालिएको हो ।

कोरोना महामारीले कुनै एक वा दुई मुलुक होइन सिंगो विश्वलाई नै त्राहीत्राहीमाम बनाएको छ । विगत १५/१६ महिनादेखि सिंगो विश्व यसको प्रभावबाट गुज्रिरहेको छ । यसको संक्रमणका कारण हालसम्म लाखौंले ज्यान गुमाइसकेका छन् । सिंगो मानवजगत्‌को अर्थतन्त्र तहसनहस भएको छ । विश्वभरका ठुल्ठूला वैज्ञानिकहरूको करिब एक वर्षको अथक प्रयासपछि यसविरुद्धको भ्याक्सिन उत्पादन भएको थियो । हाल विभिन्न राष्ट्रहरूले उत्पादन गरेका कोरोनाविरुद्धको भ्याक्सिन लगाइँदै छ । तर, कोरोनाविरुद्धको खोप विश्वका सबै मुलुकले समान रुपले पाउन सकेका छैनन् ।
खोपका लागि शक्तिशाली ठूला राष्ट्रहरूबीच प्रतिस्पर्धा नै चलेको छ । ठूला अनि धनी राष्ट्रहरूले आफ्ना नागरिकलाई पुग्ने खोप प्राप्त गरिसकेका छन् । भने न्यून आयस्रोत अनि कमजोर मुलुकहरूले अझै खोप पाउन सकेका छैनन् । खोपका लागि तछाडमछाड भइरहँदा यसले संक्रमणलाई पूर्ण रुपमा नियन्त्रण गर्न भने सकेको छैन ।

विश्वका विभिन्न मुलुकमा कोरोनाविरुद्धको दुवै खोप लगाएका मानिसमा समेत फेरि यसको प्रभाव देखिएको छ । यसले पनि भ्याक्सिन मात्रै यसको विकल्प होइन भन्ने बुझिन्छ । भ्याक्सिनले यसको मृत्युदरलाई अवश्य कम गरेको छ । तर, संक्रमणलाई नै यसले कम गर्न भने सकेको छैन । अहिले पनि विश्वका धेरै मुलुक तेस्रो अनि चौथो लहरको संक्रमणबाट गुज्रिरहेका छन् । नेपालमा पनि दोस्रो लहर पनि असोजको अन्तिमसम्ममा कोरोनाको तेस्रो लहर आउन सक्ने विज्ञहरूले प्रक्षेपण गरिसकेका छन् ।

यस्तो अवस्थामा मास्कलाई यसबाट बच्न सकिने सबैभन्दा शक्तिशाली हतियारका रुपमा लिन सकिन्छ । जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षितका अनुसार यदि हामीले सही तरिकाले मास्कको प्रयोग गर्न सक्यौं भने संक्रमणबाट आफूलाई बचाउन सक्छौं । यतिबेला कोरोना संक्रमण हुनबाट बच्ने दरिलो उपाय भनेको जनस्वास्थ्यको मापदण्ड नै हो भन्छन्, जनस्वास्थ्यविज्ञ दीक्षित । हामीले मास्क त प्रयोग गरिरहेका हुन्छौं । तर, कहिलेकाहीं मास्क लगाउँदा पनि हामीबाट हुने गल्तीले मास्क लगाएको कुनै फाइदा हुँदैन । मास्क लगाउँदा गर्न नहुने गल्तीहरू के-के हुन त ?

मास्क लगाउँदा गर्नै नहुने गल्ती
१. हामीले मास्क लगाउँदा चिउँडो मात्रै छोपिने गरी लगाउनु हुँदैन ।
२. आफ्नो मास्क भुलेर पनि अरुलाई प्रयोग गर्न नदिने र आफूले पनि अरुको मास्क कहिले प्रयोग गर्नु हुँदैन ।
३. आफू वा अरु कसैले लगाइरहेको मास्क छुने गर्नु हुँदैन ।
४. अन्य व्यक्तिसँग कुराकानी गर्दा मास्क खोलेर बोल्ने नगरौं ।
५. भिडमा मास्क कदापि नखोलौं ।

बालबालिकाले मास्क लगाउनु जरुरी छ ?
यतिबेला मास्क लगाउनु सबैका लागि अनिवार्य भइसकेको छ । केही वर्ष अघिसम्म सामान्य केही मानिसले मात्रै मास्क प्रयोग गरेको देखिन्थ्यो भने यतिबेला मास्क सबैका लागि नभइ नहुने आवश्यक वस्तु भइसकेको छ ।

हामीले मास्क प्रयोग गरिरहँदा क-कसले मास्क लगाउने अथवा बालबालिकाहरूले मास्क लगाउन आवश्यक हुन्छ कि हुँदैन जस्ता प्रश्नहरू पनि मनमा जागेर आइरहेका हुन्छन् ।

जनस्वस्थ्यविद्‌हरूका अनुसार ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाहरूले मास्कको प्रयोग गर्न आवश्यक छैन । तर, ६ वर्षदेखि ११ वर्षका बालबालिकाहरूले भने मास्कको प्रयोग गर्नुपर्छ ।

६ देखि ११ वर्षसम्मका बालबालिकाहरूले कस्तो अवस्थामा मास्क लगाउने त ?
-यदि कोभिड-१९ को संक्रमण समुदायमा व्यापक रुपमा फैलिएको छ भने ६ देखि ११ वर्षसम्मका बालबालिकाहरूले पनि मास्क लगाउनुपर्छ ।
-बालबालिकाले सुरक्षित रुपमा मास्क प्रयोग गर्न, धुन वा प्रतिस्थापन गर्न सक्छन् भने मास्क लगाउनुपर्छ ।
-बालबालिका हालसालै उच्च जोखिममा भएकाहरूको सम्पर्कमा पुगेका छन् भने पनि मास्क लगाउनुपर्छ ।
-१२ वर्ष वा माथिका बालबालिकाले भने वयस्कले जसरी नै मास्क लगाउनुपर्छ ।
-अपांगता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउनुपर्छ ।
-दौडँदा, उफ्रँदा वा अन्य खेलकुदमा सहभागी हुँदा मास्क नलगाउने ।

कोरोनाविरुद्धको खोप लगाइसकेका व्यक्तिले मास्क प्रयोग गर्न पर्छ कि पर्दैन ?
तपाईं आफू स्वस्थ महसुस गर्नु हुन्छ भने पनि तपाईंमा भाइरस हुन सक्छ । खोप लगाएका व्यक्तिहरूलाई गम्भीर बिरामी हुने जोखिम कम भए पनि संक्रमण हुने जोखिम भने रहिरहन्छ ।

लक्षण नदेखिएका व्यक्तिहरूले पनि अर्को व्यक्तिलाई संक्रमित बनाउन सक्ने भएकाले थाहै नपाइ तपाईंले आफ्ना प्रियजनहरू माझ संक्रमण फैलाइरहनुभएको पनि हुन सक्छ । त्यसैले जहिले पनि नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ । यसो गर्नाले आफू पनि सुरक्षित भइन्छ र अरुलाई पनि सुरक्षित राख्न सकिन्छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने माध्यम भनेको बोल्दा, खोक्दा, गीत गाउँदा, हाँच्छ्युँ गर्दा नाक मुखबाट निस्कने स-साना छिटाहरूबाट हो । यो भाइरस कुनै लक्षण नदेखिएको मानिसबाट पनि सर्न सक्छ अर्थात् संक्रमितलाई आफू संक्रमित भएको थाहै नभई उसले अरुलाई भाइरस सार्न सक्छ ।

त्यसैले मास्कको प्रयोग गर्नाले एकातर्फ अन्य व्यक्तिको नाक र मुखमार्फत तपाईँको शरीरमा आउन सक्ने भाइरसबाट बच्न सकिन्छ भने अर्कोतर्फ यति तपाईं संक्रमित हुनुहुन्छ भने तपाईंबाट अन्य मानिसमा संक्रमण सर्दैन ।

पुरानो मास्कलाई सही र उचित तरिकाले कसरी विसर्जन गर्ने ?
-मास्क खोल्नुअघि साबुनपानीले राम्रोसँग हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
-मास्क खोल्दा छेउको डोरी समातेर खोल्ने र बीचको भाग सकेसम्म नछुने ।
-खोलिसकेपछि मास्कलाई प्लास्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाँधेर राख्ने, संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आउँदा लगाइएको मास्कलाई दुई तह झोलामा राख्ने ।
-मास्क राखेको झोलाको मुख बन्द गर्ने र त्यस झोलालाई सामान्य घरेलु फोहोरसँग राखी विसर्जन गर्ने ।
-बिसर्जन गरिसकेपछि फेरि साबुनपानीले राम्ररी मिचिमिची हात धुने गर्नुपर्छ ।

प्रतिक्रिया