तापमान वृद्धिका लागि मानवीय गतिविधि जिम्मेवार

काठमाडौं । अहिले संसारभरका सहरहरु प्रचण्ड गर्मी र लुगलुग कमाउने जाडोको सिकार हुन थालेका छन् । जंगलहरुमा डढेलो लाग्नु, खडेरी देखापर्नु,अतिवृष्टि आदि सामान्य रुपमा भइरहेकै छन् ।
जलवायु परिवर्तनका सन्दर्भमा ९ अगस्तमा इन्टर-गभर्मेन्टल प्यानल फर क्लाइमेट चेन्ज (आईपीसीसी) वर्किंङ ग्रुपको रिपोर्ट ‘क्लाइमेट चेन्ज २०२१ : द फिजिकल साइन्स बेसिस’ शीर्षकमा जारी भयो । उक्त रिपोर्टअनुसार जलवायु परिर्वतनका लागि मानवीय गतिविधि तथा तिनको प्रभाव प्रमुख रूपले जिम्मेवार छन् ।
रिपोर्टमा भनिएको छ- लगभग सन् १९५० पछि देखि नै ग्रिनहाउस ग्यास (जीएचजी) को साद्रता (कन्स्ट्रेसन) मा लगातार वृद्धि देखा पर्दै आएको छ । यसको प्रमुख कारण स्पष्ट रूपले मानवीय रहेको देखिन्छ । पृथ्वीको तापक्रम वृद्धिको एउटा ठूलो कारण मिश्रित ग्रिन हाउस ग्यास पनि हो ।
१९८०-९० को दशकमा अन्तर्राष्ट्रिय स्तरमै भूमिको दोहनमा तीव्रता देखियो । बीसौं शताब्दीको मध्यतिर भूमिमाथि मानवीय ज्यादति सामान्यजस्तै लाग्न थालिसकेको थियो । अर्कातिर ९० को दशकमा ग्लेसियर पग्लनुको मुख्य कारण पनि मानवीय प्रभाव नै थियो । यसबीच अन्टार्टिकाको हिउँले ढाकिएको समुद्री इलाका पनि खुम्चिएर गयो । अन्टार्टिकामा हिउँको सर्वाधिक कमी १९७९-८८ तथा २०१०-२० को बीचमा देखिएको थियो ।
मानव प्रभावका कारण ग्लेसियरको क्षेत्रीय तथा आन्तरिक प्रवृत्ति पनि अत्यधिक परितर्वनशील रह्यो । रिपोर्टमा भनिएको छ- १९५० पछि उत्तरी गोलार्धमा कम हिउँ जम्न थालेको छ । पछिल्ला दुई दशकयता ग्रिनल्यान्डमा हिउँको सतह पग्लिनुमा पनि मानव प्रभावकै सबैभन्दा ठूलो योगदान छ ।
रिपोर्ट भन्छ- १९७० देखि माथिल्लो महासागरीय क्षेत्र मानवीय प्रभावका कारण बढी तातो रहे । यसका कारण १९०१ पछि समुद्री सतहमा पनि ०.२० मिटर वृद्धि भयो । सन् १९७० पछि भूमिको प्रवृत्तिमा देखिने परिवर्तन र वैश्विक तापमान वृद्धिको दर उस्तै छ । रिपोर्टमा भनिएको छ- सन् २०११ पछि वातावरणमा तापक्रमको वृद्धि निरन्तर जारी छ । यस्तोमा कार्बन डाइअक्साइडको वार्षिक औसतदर ४१० पीपीएमसम्म पुगेको छ । पछिल्ला ६ दशकका दौरान भूमि र महासागरमा भएका मानवीय गतिविधिका कारण प्रत्येक वर्ष ५६ प्रतिशतका दरले कार्बन डाइअक्साइड उत्सर्जन भएको छ ।
बितेका चार दशकदेखि कुनै पनि दशकको तुलनामा वैश्विक तापमानमा निरन्तर वृद्धि हुँदै आएको छ । १८५०-१९०९ को तुलनामा २१औं शताब्दीको पहिलो दुई दशकमा (२००१ देखि २०२० सम्म) तापक्रममा ०.९९ डिग्री सेल्सियसभन्दा बढी वृद्धि देखिएको छ । २०११ देखि २०२० को बीचमा विश्वको तापक्रम १.०९ डिग्री सेल्सियस वृद्धि भएको छ ।
एक अनुमानअनुसार २००३ देखि २०१२ को बीचमा अन्तर्राष्ट्रिय वातावरण ०.१९ डिग्री सेल्सियस थप तातो भयो । नयाँ तथ्यांकअनुसार तातोपनको वृद्धि लगभग ०.१ डिग्री सेल्सियस छ । मानवीय गतिविधिकै कारण पृथ्वीको तापक्रम वृद्धि ०.८ बाट बढेर १.३ डिग्री सेल्सियस भइसकेको छ ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)
प्रतिक्रिया