आइतबार, वैशाख १४, २०८२

साँपे कि सक्षम ?

आचार्य प्रभा २०७८ साउन ३० गते ९:०८

-“छ्या:कस्तो साँपे छोरा जन्मिएछ त्यो उर्मिलाको ?”
-“आ त्यस्तो ? बच्चा जन्मिनुभन्दा त बरु गर्भमै तुहिनु नि !”

उर्वशी र दीपाले यसरी उर्मिलाको नियतिमा हाँसो उडाई रहेको सुनेर मन्जुले भनी । -“त्यसरी अरुलाई गिल्ला नगर है । तिमीहरुका पनि त्यस्तै जन्मेलान् । साँपे नै त भन्न मिल्दैन अपाङ्ग चाहिँ होला। “

उर्वशीले हाँस्दै भनी । -“मेरा त दुईवटा पुगी सके छोरा र छोरी । कोटा पुगी सक्यो । दीपाको के विचार छ कुन्नि ? फेरि जन्माउँने हुँदा उर्मिलाकै जस्तो हालत होला नि !” भन्दै दीपातिर हेरी ।

लामो समयको अन्तरालपछि उर्मिलाको छोरालाई पनि उपचार गरेर स्कुल जान सक्ने भो तर अरुसरह हिँड्डुल गर्न भने सक्दैनथ्यो।

एकदिन अनायास गाउँमा हल्ला चल्यो। उर्वशीको छोराले नशाको सुरमा गाउँकै केटीमाथि हातपात गरेको कसुरमा गाउँलेहरुले बेस्सरी कुटे भनेर । त्यो दिनदेखि रमनेको गाउँमा मुख देख्न छाडियो । भित्रभित्रै खासाक्खुस्क सुनिन्थे । -“त्यो रमनेको खुट्टै भाँचिएर घाइते भाको छ रे । ” भनेर ।

एकदिन अचानक उर्वशी उर्मिलाको घरमा आएर बिलौना पोख्न थाली । -“उर्मिला तिमीले छोरालाई के खुवाएर हिँड्न सक्ने बनायौ ? मलाई पनि त्यो औषधिको नाम भनन ।”

उर्मिलाले भनी । -” मेरो छोराको जन्म नै साँपे भन्थ्यौ । साँपे भए पनि आत्मनिर्भरमा विश्वास राख्छ । उसलाई मैले औषधि खुवाएरभन्दा नि आफ्नै आत्मबलले सबल बन्दै गयो । क्याल्सियमको कमी रहेछ त्योचाहिँ दिनहुँ खान्छ । बिहान-बेलुका दूध, फलफूल खान्छ । अनुशासनमा बस्छ । त्यही नै हो । ऊ हिँड्न सक्षम हुनुको कारण ।”

उर्वशीले आफ्नो छोराको करामत सम्झेर गम्भीर बन्दै सोंच्न थाली । -“मेरो छोरा पनि उर्मिलाकै जस्तो ज्ञानी भएको भए अहिले यस्तो स्थिति आउँने नै थिएन नि ।” ऊ अझ विगतमा फर्की । रातदिन घरको खाना नखाई, जाँडको सुरमा हिँडेको । आमाले पकाएर दिएको खानालाई लात्तीले हुर्याइदिएको ।

उर्वशीको मौनतालाई भंग गर्दै उर्मिलाले भनी । -” त्यस्तै हुन्छ साथी । बोल्न पाउँदैमा प्याच्च नबोल्नु । सन्तान सपाङ्ग जन्मिएर के गर्नु ? हुर्किंदै गएपछि आफ्नै खुट्टा आफैंले गिँडेर अपाङ्ग हुनुभन्दा त जन्मदै कमजोर जन्मिए पनि आफ्नो सन्तान आत्मबल, अनुशासन, कर्तव्यले सबल भए भई गो नि । गोडा कमजोर भए पनि आफू सबल र सक्षम छ मेरो छोरा । अनि नाम पनि त सक्षम राखेको नि ।

प्रतिक्रिया