शुक्रबार, जेठ ४, २०८१

कब्जियतलाई सधैंका लागि जित्ने उपाय !

डा. हेमराज कोइराला २०७८ साउन ३१ गते ८:३७

विशेष रोगावस्थाका कारणले कब्जियत भएको भए रोगको उचित निधान गरेर रोग निर्मूल पार्नेतिर लागौं । गलत आहार-विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन सुधार हो । भोजन सुधार गर्दा निम्नलिखित तथ्यहरूलाई ध्यान दिनुपर्ने हुन्छ ।

१. कब्जियत भएकाहरूले पाचन अंगहरुलाई अधिकतम विश्राम दिन १६ घण्टे उपवाश विधि अपनाउनुपर्ने हुन्छ । यो उपवाश गर्नका लागि साँझ ६ बजेभन्दा पहिल्यै खाना खाएर बिहान १० बजेभन्दा पछाडी मात्र खाना खाने गर्नुपर्छ ।
२. साँझको खानामा अन्नलाई समावेश नगरेर फलफूल, तरकारी र झोलिलो कुरालाई मात्र समावेश गर्दा कब्जियतलाई जित्न सजिलो हुन्छ ।
३. बिहानको खाजाअघि कुभिन्डो वा लौकाको जुस खाँदा यो रोगका लागि अत्यन्त राम्रो गर्दछ ।
४. बिहानको नास्तामा आफ्नो तौलको एक प्रतिशतजस्तै ७० किलोको मान्छे हो भने उसको लागि ७०० ग्राम, ६० किलोको मान्छे हो भने उसका लागि ६०० ग्राम, मौसमअनुसारको चार किसिमका फलफूलहरु जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवाका साथै अंकुरित मुंग र मेथीहरु मौसमी तरकारीहरुलाई समावेश गर्ने । मुनन्का र छोकडालाई राति भिजाएर बिहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्छ ।
५ ठोस भोजन दिनको एकपल्ट मात्रै लिने गरौं बिहानको भोजनमा रातो चामल वा मकैको भात, गहुँको वा मकैको पीठोको रोटी, काउली, बन्दा, तोरई र बेथेको सागको विशेष समायोजन होस् । मास, खेसरीबाहेक बोक्रैसित पकाएको दालले पनि कब्जियतमा फाइदा पुर्‍याउँछ ।
६. बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारीसँग मोही मात्र खाँदा कब्जियतमा राम्रो गर्छ ।
७. माछा, मासु, अन्डा, घिउ, पनिर, दूध, मख्खन र मैदाबाट बनेका वस्तुहरुमा पहरेज गर्नुपर्छ । केरा, अंगुर, लिचीजस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनी, भान्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु । अझ बेलुका त खाँदै नखानु ।

व्यायम :
अंग व्यायम, रिढ व्यायम, शिथिलीकरण व्यायम, प्रातः भ्रमण, सूर्य नमस्कार, योगासन तथा प्राणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पुर्‍याउँछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुरजस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभातिजस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृतझैं काम गर्छ ।

उपचार :
१. पेटलाई सफा गर्ने षटकर्म विधिहरूजस्तै एनिमा, कुन्जल, लधु तथा गरु शंखप्रक्षालन, पेटको मालिस, माटोको पेडुँपट्टि, कटिस्नान र गणेशक्रियाजस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरुले अपनाउनुपर्ने हुन्छ ।
२. पेटको मांशपेशीहरूलाई प्रभाव तुल्याउने किसिमका उपचार पद्धतिहरू जस्तै तातोको सेकाइ, पेटको व्यायाम आदि गर्दा पनि राम्रो लाभ पुर्‍याउँछ।

कब्जियत आफैंमा ठूलो समस्या नभए पनि कैयौं रोगको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकारल समस्याबाट मुक्त भई सर्वांग स्वास्थ्य पाउन सकिन्छ ।

सावधानीहरु :
१. रातl चाँडै सुत्ने, बिहान ब्रह्म मूर्हत (घाम झुल्किनुभन्दा ९६ मिनेट अगाडिदेखि घाम झुल्किँदासम्मको समय) भित्र उठिसक्ने । उठ्नेबित्तिकै एक लिटर जति मनतातो पानी पिउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पुर्‍याउँछ ।
२. दैनिक ३० मिनेटको व्यामलाई जीवनशैलीको अभिन्न अंग बनाऔं । अंग व्यायम, रिढ व्यायम, शिथिलीकरण व्यायम, प्रातःभ्रमणजस्ता व्यायमले शरीर तथा पाचन प्रणालीलाई मजबुत राख्न सहयोग पुर्‍याउँछ ।
३. भोजनको समय निश्चित गरी नियमित उसै समयमा भोजन गर्ने गरौं । रातिको भोजन सकभर सूर्यअस्त आसपासको समयमा होस् । भोजनलगत्तै सुत्ने बानी कब्जियतको मुख्य कारणमध्ये एक हो । भोजन गर्दा खुब चपाइ-चपाइ खाने गरौं । भोजनको समयमा बातचित गर्ने, उठी-उठी वा टीभी, कम्प्युटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरुमा कब्जियत ज्यादा पाइएको छ ।
४. कु-टाइममा कचर पचर खाइ रहने बानी भए त्यागौं ।
५. खानामा मौसमी तथा क्षेत्रीय (लोकल) अन्न तथा सागसब्जीहरुको विशेष समायोजन होस् । कच्चा सागसब्जी, सलाद तथा रेसादार फलफूलहरुको समायोजनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।
६. मल त्यागको समयमा मनलाई पूर्ण रुपमा मल त्यागमै लगाऔं । शौचालयमा बसेर अखबार पढ्ने, गीत-संगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिष्कले मल त्यागसम्बन्धी सूचना सम्बन्धित अंगहरुलाई दिने विलम्ब गर्ने हुँदा कब्जियत हुने सम्भावन रहन्छ ।
७. कब्जियतका उपर्युक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्श लिई रोगको निदान गर्नतिर लागौं ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया