‘मनोबल गिरेपछि अफगानी सेना तालिबानसँग लड्नै सकेन’
आफ्नै सैनिक प्रमुखबाट र तालिबानी सेनाको धाकधम्कीबाट पनि अफगानी सेनाको मनोबल गिरेको थियो ।

काठमाडौं । विश्वका विभिन्न देशमा सरकारविरोधी सशस्त्र समूह बनाएर युद्ध लडेका धेरै घटना छन् । नेपालमा पनि तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म सशस्त्र युद्ध गरेको थियो । तर, जसरी अफगानिस्तानमा तालिबान विद्रोही समूहले सहजै सत्ता कब्जा गर्ने गरी युद्ध छेड्यो, त्यसैगरी नेपालमा माओवादी सफल हुन सकेन । अन्ततः राजनीतिक दलहरूसँग मिलेर प्रजातान्त्रिक धारमा हिँड्ने गरी युद्धविरामको घोषणा गर्यो । तालिबान र माओवादी सशस्त्र युद्ध उस्तै भए पनि तालिबान समूहको युद्धले एकलौटी रुपमा सत्ताको कुर्सी समात्न सफल भयो ।
विश्वका विभिन्न देशको सैनिक अभ्यास हेर्ने हो भने प्रायः सबै देशका सेना विद्रोहीभन्दा मजबुत देखिन्छन् । सरकारी सेनालाई अत्याधुनिक हतियारसहित युद्ध लड्ने प्रभावकारी तालिम सिकाइएको हुन्छ । सरकारी सेना मजबुत हुन्छ । विद्रोही समूह केही कमजोर नै हुन्छ । तर अफगानिस्तानमा भने उल्टो परिणाम भएको छ । अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार अफगानी सेना विद्रोही तालिबानभन्दा निकै सशक्त हुनुपर्ने हो । तर, व्यवहारमा त्यो देखिएन ।
अफगानी सेनालाई शक्तिशाली बनाउन अमेरिकाले आधुनिक हातहतियारसहित २० वर्षसम्म तालिम पनि दिएको थियो । तालिममा ८३ विलियन डलर खर्च गर्यो । आधुनिक हतियार पनि दियो । यतिमात्र होइन, अमेरिकाले बृहत् सैन्य अड्डा पनि बनाइदिएको थियो । अफगानी सेनासँग अहिले तीन लाख आधुनिक हात-हतियारसहितका सेना भएको तथ्यांक छ ।
तालिबानी समूहले अफगानी सेना र जनतालाई मनभरि डर भरिदिएको थियो । त्यसको विरोधमा न तालिबानविरुद्ध नागरिक नै उत्रिन सके, न त अफगानी सरकारी सेना नै ।
यद्यपि तालिबानसँग करिब ८० हजार मात्र लडाकु छन् । तर आधुनिक हातहतियार र तालिमप्राप्त सेना तालिबानी लडाकुसँग हारेको घटना आजभोलि विश्वमा चर्चित छ । बाहिरबाट हेर्दा अफगानी सेनाभन्दा तालिबानी समूह धेरै कमजोर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू दाबी गर्छन् । तालिबानी सेनासँग पुराना थोत्रामोत्रा गाडी छन् । केही नयाँ हतियारबाहेक वर्षौंअघि बनेका पुराना हतियार छन् । लडाकुलाई कुनै सुख-सुविधा छैन ।
कमजोर तालिबान सेनासँग मजबुत अफगानी सेना हार्नुका विभिन्न कारण छन् । पहिलो कारणमा भ्रष्टाचार रहेको छ । आधिकारिक तथ्यांकअनुसार अफगानी सैनिक जवानको संख्या तीन लाख हो । तर, तथ्यले पुष्टि गरेको छ कि अफगानिस्तानमा हजारौं सैनिक कागजमा मात्र सीमित छन् । तर भौतिक रुपमा काल्पनिक छन् । कागजमा काल्पनिक सैनिकको नाम उक्त देशका शासक तथा सैनिक अधिकारीहरूको गतिलो आर्थिक स्रोतको माध्यम थियो । कागजमा मात्र सैनिकको उपस्थितिलाई कतिपय देशहरूले घोस्ट सोल्जर्स अथावा भूतिया सेनाको उपनाम दिने गरेका छन् ।
अफगानिस्तानी सैनिक प्रमुखहरूले कागजमा लेखिएका भूतिया सैनिकको तलब र सेवा-सुविधाहरू अन्य सरकारी निकायका प्रमुखहरूसँग मिलेर खाँदै आएका थिए । देशभक्त अफगानी सेनाका लागि परिवारको खर्च टार्नु त परको कुरा थियो । सच्चा रूपमा अफगानिस्तानमा जो सैनिक खटिएका थिए, उनीहरूलाई पेटभरि खाने गरी तलब पनि दिइँदैनथ्यो । तालिबानले देश कब्जा गर्दै गएका बेला आधुनिक हतियारयुक्त सेना आफ्नो जीवनको बलिदान गर्न सक्थे । त्यो प्रतिबद्धता अफगानी सैनिक जवान र सामान्य प्रहरी अधिकृतसँग पनि देखिएन ।
वास्तवमा आफूभन्दा माथिका अधिकारीले भ्रष्टाचार र घूसमा लिप्त भएर आफूहरूको रोजीरोटी नै नपुग्ने भएपछि अफगानी सेनाहरूको मनोबल गिरेको थियो । उनीहरू वर्तमान शासन व्यवस्था र विशेषगरी सैनिक कमान्डरहरूसँग वाक्कदिक्क थिए । मनोबल गिरेका अफगानी सेना मैदानमा आउनुभन्दा अगाडि नै तालिबानसँग हारिसकेका हुन्थे । अफगानी सेनाहरू सच्चा रुपमा अन्तर्मनबाट हारेका थिए । उनीहरूको मनमा एक प्रकारको डर थियो । आफ्नो सैनिक फोर्स व्यवहारिक रुपमा कमजोर भएकाले हार निश्चित छ भन्ने उनीहरूको मनमा थियो ।
तालिबानी सेनासँग पुराना थोत्रामोत्रा गाडी छन् । केही नयाँ हतियारबाहेक वर्षौंअघि बनेका पुराना हतियार छन् । लडाकुलाई कुनै सुख-सुविधा छैन ।
अमेरिकी सैनिकले छाडेर गएपछि मनोबल अझ गिरेका अफगानी सैनिकमा पछिल्लो समय नक्कली राष्ट्रवाद मात्रै थियो । भनिन्छ युद्धभन्दा पहिले एक सेना मनदेखि नै हार्छ भने उसको हार निश्चित हुन्छ । अफगानिस्तानमा भएको परिणाम त्यही हो । अफगानी सेना हार्नुको अर्को कारण तालिबानविरुद्ध विद्रोह नहुनु रहेको छ । तालिबानले पछिल्लो एक महिनाको अवधिमा एक-एक गरेर प्रायः सबै प्रान्त कब्जा गरेको थियो । त्यसको कतैबाट पनि विद्रोह भएन । न त अफगानी सेना नै ज्यान दिएर भिडे । यस्तै अफगानिस्तानका सर्वसाधारणले पनि जमेर तालिबानको विरोध गर्न गर्न सकेनन् । अफगानी सेना तालिबानसँग नभिड्नु, सर्वसाधारण र विभिन्न राजनीतिक पार्टीले विरोध नगर्नुको पछाडि तालिबानी लडाकुसँगको डर थियो ।
तालिबानी लडाकुहरूले पनि ज्यान बाजीमा राखेर लडाइँ गर्नु परेन । किनकि नागरिकदेखि सेनासम्मको मनभित्र तालिबानसँग शरण लिनुबाहेक केही थिएन । तालिबानका साथ कुनै वायुसेना पनि थिएन। उता अफगानिस्तानी सेनासँग भने अत्याधुनिक वायुसेना थियो । यता तालिबानले अफगानी नागरिक र सेनाको रणनीतिकरुपमा मनमा डरत्रास पैदा गरिदिएर मनोबल गिराएका थिए । यतिसम्म कि तालिबानले युद्ध जित्न पाइलट मार्नका लागि टार्गेट अपरेसन सुरु गरिएको हल्ला फिँजायो । पाइलट मरेको खण्डमा स्थल सेनाको अवस्था कमजोर हुने भन्दै अफगानी सेनाले प्रतिकार गर्ने कुनै सोचै राखेन । तालिबान समूहले नौजना पाइलटको पनि हत्या गर्यो । तालिबानको रणनीति यो थियो कि पाइलट मार्ने अपरेसन सुरु गरेपछि वायुसेनाबाट आफूमाथि कुनै खतरा हुँदैन । मर्ने डरले धेरै पाइलटले पदबाट राजीनामा पनि दिए । मनमा डर भएको वायुसेनाले पनि तालिबानविरुद्ध युद्ध छेड्न सकेन ।
आफ्नै सैनिक प्रमुखबाट र तालिबानी सेनाको धाकधम्कीबाट पनि अफगानी सेनाको मनोबल गिरेको थियो । तालिबानी समूहले अफगानी सेना र जनतालाई मनभरि डर भरिदिएको थियो । त्यसको विरोधमा न तालिबानविरुद्ध नागरिक नै उत्रिन सके, न त अफगानी सरकारी सेना नै । अन्ततः अफगानिस्तान तालिबानको कब्जामा गएरै छोड्यो ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया