रक्तचापको श्रेणी !

डा. हेमराज कोइराला २०७८ भदौ ४ गते ८:५१

रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिइएको दबाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा धेरै रगत प्रवाह हुँदा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ । जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ ।

क्रियात्मक रूपले स्वास्थ्थ व्यक्तिमा सिस्टोलिक ९०-१२० एम्.एम्.एच्.जी. र डाएस्टोलिक ६०–८० एम्.एम्.एच्.जीलाई सामान्य रक्तचाप मानिन्छ । यदि रक्तचापले यी मानविन्दुहरु नाघेर तल झरी सिस्टोलिक ९० एम्.एम्.एच्.जी. र डाएस्टोलिक ६० एम्.एम्.एच्.जी भन्दा कम भएको अवस्थालाई निम्न रक्तचाप भनिन्छ ।

सिस्टोलिक रक्तचाप बढेर १२०-१३९ एम्.एम्.एच्.जी र डाएस्टोलिक रक्तचाप बढेर ८०-८९ एम्.एम्.एच्.जी सम्म पुगे एसलाई पूर्वउच्च रक्तचाप (रक्तचापको सुरुवाती अवस्था) भनिन्छ । तर यदि रक्तचापले यी मानविन्दुहरु पनि नाघेर उँभो लागे भने यस्तो अवस्थालाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचापको अवस्थालाई पनि प्रथम द्वितीय र तृतीय गरी तीन श्रेणीमा विभक्त गरिएको छ । सिस्टोलिक १४०-१५९ र डाएस्टोलिक ९०-९९ एम्.एम्.एच्.जी भित्र भए प्रथम श्रेणीको रक्तचाप मानिन्छ भने सिस्टोलिक १६०-१८९ र डाएस्टोलिक १००-१०९ एम्.एम्.एच्.जी भित्र भए द्वितीय श्रेणीको रक्तचाप मानिन्छ ।

तर यदि रक्तचाप अझै बढ्दै गएर सिस्टोलिक १८० र डाएस्टोलिक ११० एम्.एम्.एच्.जी भन्दा माथि भए तृतीय श्रेणीको उच्च रक्तचाप भएको मानिन्छ ।
उच्च रक्तचापले कुनै पनि लक्षण नदेखाईकनै बिरामीका प्रमुख अंगहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खतम पार्दै लान्छ र बिरामीलाई मृत्युको मुखमा पुर्‍याउँछ ।

यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ । उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ र नियन्त्रणको पहिलो आयाम भनेकै रक्तचाप जचाउनु हो । रगत जचाइसकेपछि आफ्नो रक्तचापको स्तर (श्रेणी ) थाहा पाउनुहोस् र यथोचित उपचारका लागि मुटुरोग विशेषज्ञलाई सम्पर्क गर्नुहोस् ।

डा. हेमराज कोइराला

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया