डुबान र कटान रोक्न यसरी जुटे प्रजिअ, सेना र प्रहरी (फोटो फिचर)

सर्लाही । बाढी, पहिरो, भूकम्पलगायत विभिन्न प्राकृतिक विपत्हरुका कारण नेपाल उच्च जोखिममा छ । मिश्रित विपत्तिहरुको जोखिममा नेपाल १६औं स्थानमा पर्छ । तराई र पहाडी क्षेत्रमा बर्सेनि बाढी-पहिरोको विपत्तिले सयौं नेपाली घरबारविहीन भएका उदाहरणहरु छन् ।
तराईका विभिन्न जिल्लाहरुमध्ये सर्लाहीमा बर्खामासमा बाढी र कटानले वितण्डा मच्चाउने गरेको छ । कतै डुबानको त कतै बाढीको समस्याले जिल्लाका बासिन्दा हैरान छन् । सर्लाहीको कोडोना गाउँपालिका क्षेत्रमा रहेको लखन्देही खोलाले गर्ने वितण्डा भने यस वर्ष टरेको छ ।
खोलामा बाढी बढेसँगै उच्च डुबान र कटानले जमिन तथा बस्तीमा क्षति गर्न थालेपछि विभिन्न सरोकारवालाको सक्रियतामा खोला किनारमा बाँसको पाइलिङ बनाएपछि तत्काललाई समस्या टरेको हो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको सक्रियतामा सरोकारवालाले सम्भावित कोडोना खोलामा संयुक्त अनुगमनपछि सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बाँसको पाइलिङ निर्माण गरिएको छ ।
यस्तै पाइलिङ निर्माणमा जनताको तटबन्ध कार्यक्रमको बोरासहित प्राविधिक सहयोग, कोडोना गाउँपालिकाले उपलब्ध गराएको बाँससहित श्रमिकको उपलब्धता र स्थानीयको पनि सहभागितामा बाँसको बाँध बनाइएको प्रजिअ महतोले जनाएका छन् ।
‘तत्काल तटबन्ध नगर्दा लखन्देही खोलाले बाँध कटान गरी कौडेना गाउँपालिकाको ठूलो क्षेत्र डुबान तथा कटानमा पर्ने भएकाले यसलाई विकल्पका रुपमा बाँसको बाँध बनाएका हौं,’ प्रजिअ महतोले जनाएका छन् । बाँसको बाँध नबनाइएको भए खोलाको बहाव परिवर्तन भई बस्ती विस्थापित हुने जोखिम उच्च थियो ।
हेरौं सर्लाहीको कोडोनामा सेना, प्रहरी र स्थानीयको सक्रियतामा खोलाको वितण्डा रोक्न बनाइँदै गरिएको बाँसको पाइलिङ थप तस्बिर :












तस्बिरहरु : सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको फेसबुकबाट
प्रतिक्रिया