एनआरएनए मध्यपूर्व उप-संयोजकमा मरासिनीको उम्मेद्वारी

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनमा बालकृष्ण मरासिनीले मध्यपूर्व उप–संयोजकमा उम्मेद्वारी घोषणा गरेका छन् ।
नेपालीहरुको मुख्य गन्तव्य मध्यपूर्वका देशहरूमा नेपाली श्रमिकले व्यहोर्नुपरिरहेका समस्याहरूको दीर्घकालीन समाधानका लागि युवा पुस्ता सक्रिय हुनैपर्ने समय आएकाले आफूले उमेद्वारी घोषणा गरेको मरासिनीले बताए । मध्यपूर्वका संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, साउदी अरब, कतार, बहराइन, इजरायल, कुवेत नेपाली श्रमिकहरूका प्रमुख गन्तव्य मुलुक हुन् ।
करिब डेढ दशकदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा रहँदै आएका मरासिनीले यसअघि एनआरएनए यूएईको विभिन्न पदीय जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका छन् । आफू निर्वाचित भएको खण्डमा संस्थामा शुद्धीकरण अभियान चलाउने र नेपाली समुदाय तथा अन्य संघ-संस्थाहरूसँग परामर्श गर्दै सहकार्यमा अघि बढ्ने मरासिनीले प्रतिबद्धता जनाएका छन् ।
‘१४ वर्षसम्म यूएईमा रहँदा मैले यस क्षेत्रका श्रमिकका दुःख, कष्ट र समस्या राम्रोसँग बुझेको छु,’ मरासिनीले भने, ‘तीमध्ये अधिकांश एनआरएनको नेतृत्वमा इच्छाशक्ति भएमा समाधान गर्न सम्भव छ ।’ अधिकांश समस्या समाधान गर्न सकिने र त्यसका लागि आफूसँग योजना भएकाले उम्मेद्वारी घोषणा गरेको उनको भनाइ छ ।
स्याङ्जाका मरासिनीको समाजसेवाको यात्रा भने ‘स्याङ्जा सहयोग समाज’ सुरु भएको हो । उनी हाल स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय केन्द्रको युवा उप-संयोजक छन् । यसअघि उनी सन् २०१५ देखि २०१७ सम्म समाजको उपाध्यक्ष भएका थिए । त्यस्तै, एनआरएनएतर्फ भने मरासिनी २०१७ देखि २०१९ सम्म उपाध्यक्ष तथा २०१५ देखि २०१७ सम्म प्रवक्ताका रुपमा क्रियाशील थिए ।
एनआरएनएको आसन्न दशौं विश्व सम्मेलन तथा महाधिवेशन अक्टोबर २३ देखि २५ सम्म हुँदै छ । भर्चुअल माध्यमबाट आगामी हुने अधिवेशनमार्फत दुईवर्षे कार्यकालका लागि नेतृत्व छनोट हुनेछ । कोभिड–१९ का कारण यसपाली ‘स्मार्ट एनआरएनए एप’ मार्फत सदस्यता विस्तार तथा ई-भोटिङको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया