अफगानिस्तानमा के चाहन्छ चीन ?

काठमाडौं । चीनले तालिबानसँग शान्तिपूर्ण हस्तान्तरणका लागि अपिल गरेको छ र एउटा समावेशी इस्लामिक सरकार स्थापित गर्ने उसको वाचा पूरा गर्न भनेको छ ।
अफगानिस्तानमा तालिबानको कब्जासँगै अमेरिकासहित अनेकौं मुलुकले आफ्नो सेना र कर्मचारीहरुलाई फिर्ता बोलाए तर चीन एक्लो जस्तो काबुलमा डटिरह्यो र उसले आफ्नो मनशाय पनि स्पष्ट गरिसकेको छ । चिनियाँ प्रवक्ताले भनिसकेका छन्- अफगानिस्तानसँग मित्रता र सहयोगपूर्ण सम्बन्ध विकास गर्न चीन तयार छ । आफ्नो देशमा उइगर मुस्लिमहरुमाथि अत्याचारको आरोप झेलिरहेको चीनले कट्टरपन्थी इस्लामिक संगठनलाई किन समर्थन दिइरहेको छ त ?
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइङका अनुसार तालिबानले बारम्बार चीनसँग राम्रो सम्बन्ध विकसित गर्ने इच्छा जाहेर गरेको छ । अनि ऊ अफगानिस्तानको पुनर्निर्माण र विकासमा चीनको भागिदारी चाहन्छ । हुआ भन्छन्, ‘हामी यसको स्वागत गर्छौं । चीन अफगानिस्तानको आत्मनिर्णयको अधिकारको सम्मान गर्छ र अफगानिस्तानसँग मित्रता र सहयोगी सम्बन्ध विकास गर्न चाहन्छ ।’
हुआले तालिबानसँग शान्तिपूर्ण हस्तान्तरण र एउटा समावेशी इस्लामिक सरकार स्थापित गर्ने उसको वाचा पूरा गर्न अपिलसमेत गरेका छन् ।

तालिबान अफगानिस्तानको सत्तामा आएपछि चीन ऊसँग आतंकवादको बाटो छोडेर सबै दल र जातीय समूहहरुसँग मिलेर एउटा समावेशी इस्लामिक सरकार निर्माण गर्न अपिल गरिरहेको छ ।
सारा संसारले अफगानिस्तानमा बन्दुकको नोकमा सत्ता परिवर्तन भएकामा तालिबानको आलोचना गरिरहेको छ भने चीन उसका साथ मित्रतापूर्ण सम्बन्ध विकसित गर्ने तयारीमा छ । आफ्नो एक ताजा विज्ञप्तिमा चीनले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ कि अहिले अफगानिस्तानमाथि दबाब सिर्जना गर्नुको साटो तालिबानलाई सत्ता हस्तान्तरण प्रक्रियामा गाइड गरेर मद्दत गर्नुपर्छ । चीनका विदेशमन्त्री वाङ यीले यो विषयमा पाकिस्तान र बेलायतका आफ्ना समकक्षीहरुसँग कुराकानी गरेका छन् ।
चीनले भनेको छ- अफगानिस्तानलाई फेरि आतंकवादको अखडा बन्न दिनु हुँदैन । गृहयुद्धको सामना गरिरहेको यो देशको बदलिँदो परिस्थितिअनुसार तालिवानलाई यो संकटबाट पार पाउन दृढतापूर्वक उसलाई समर्थन गर्नुपर्छ ।
संयुक्त राष्ट्रसंघको एक ताजा रिपोर्टअनुसार, पूर्वी तुर्किस्तान इस्लामिक मुभमेन्ट (ईटीआईएम) सँग सम्बद्ध सयकडौं आतंकवादी तालिबानको गतिविधिबीच अफगानिस्तानमा एकत्रित भइरहेका छन् । चीन यो विषयमा समेत चिन्तित छ । चिनियाँ विदेशमन्त्रीले भनेका छन्- ‘अफगानिस्तानका महत्त्वपूर्ण छिमेकी र यो क्षेत्रका जिम्मेबार देशका रूपमा, चीन र पाकिस्तानले आपसी सम्पर्क र समन्वयलाई मजबुत तुल्याउँदै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।’
बेलायतका विदेशमन्त्रीसँगको कुराकानीमा वाङले अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमाथि दबाब सिर्जना गर्न नहुने कुरा बताएका थिए । वाङले भने, ‘अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई सकारात्मक दिशामा अघि बढ्न प्रेरित र गाइड गर्नुपर्छ । यो नै तालिबान र देशका सबै पक्षका लागि अनुकूल हुन्छ । यो अहिलेको संक्रमणमा अफगानिस्तानको घरेलु स्थिति स्थिर बनाउन र शरणार्थी वा पलायन रोक्न पनि आवश्यक छ ।
वाङका अनुसार तालिबानीहरु सत्तामा आएपछि अफगानिस्तानको स्थिति अस्थिर छ । अफगानिस्तानको घटनाबाट के बुझिन्छ भने यहाँका मानिसहरु बाहिरबाट थोपरिएको सरकारलाई समर्थन गर्दैनन् । वाङले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्दै भनेका छन्- हामीले अफगानिस्तानको स्वतन्त्रता र सम्प्रभुत्वको सम्मान गर्नुपर्छ अनि ऊसँग बातचित जारी राख्नुपर्छ, यतिबेला राजनीतिक स्वार्थका लागि अफगानिस्तानलाई युद्धको मैदान बनाउनु उचित हुँदैन ।
मुल्ला अब्दुल गनी बरादारको नेतृत्वमा तालिबानको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले गएको महिना चीनको भ्रमण गरेको थियो । उक्त प्रतिनिधिमण्डलले चिनियाँ विदेशमन्त्री वाङ यीसँग कुराकानी गर्दै सिनजियाङका उइगर समुदायको आतंकवादी समूहलाई अफगानिस्तानको भूमि प्रयोग गर्न नदिने वाचा गरेको बताइन्छ ।
स्केच : रिबल पिपर
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया