सार्क राष्ट्रका सरकार प्रमुखको बैठक तत्काल बोलाउन माग

नेपालखोज २०७८ भदौ ७ गते १५:१६

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्क राष्ट्रका सरकार प्रमुखको बैठक तत्काल राख्न ध्यानाकर्षण गराएको छ ।

समाजको प्रतिनिधिमण्डलले मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल समेत गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन,निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न आग्रह गरेको छ ।

यसैगरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुसल आ आफ्नो देश फिर्तिका लागि दक्षिण एशियाली सहयोग संगठन सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गर्न ध्यानाकर्षण गराएको हो ।

यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी सहभागी रहेका थिए ।

प्रतिक्रिया