अफगानिस्तानमा एक ट्रिलियन डलरको खनिज
तालिबानी लडाकुहरुको जितपछि उत्पन्न परिस्थितिमा कुनै पनि विदेशी मुलुकले ऊसँग सम्बन्ध राख्न चाहेको देखिँदैन तर चीन अफगानिस्तानसँग व्यापार गर्न तयार छ ।
अफगानिस्तानले आफ्नो यो विशाल खनिज भण्डार पत्ता लगाउन लामो समय संघर्ष पनि गर्नुपर्यो ।

काबुल । अफगानिस्तानमा तालिबानको कब्जापछि अब त्यहाँको खनिज सम्पदामा पनि उसको नियन्त्रण रहनेछ । अफगानिस्तानमा कैयौं प्रकारका खनिज छन् जसको मूल्य करिब एक ट्रिलियन डलर रहेको बताइन्छ । त्यसमा केही खनिज यस्ता पनि छन् जसले संसारलाई आवश्यक ऊर्जाको माग पूरा गर्न सक्छ । अफगानिस्तानले आफ्नो यो विशाल खनिज भण्डार पत्ता लगाउन लामो समय संघर्ष पनि गर्नुपर्यो ।
तालिबान बीस वर्षपछि सत्तामा फर्किएको छ । अहिले ऊसँग सीमित वित्तीय संसाधन छ । अन्त्यहीन युद्ध र कमजोर पूर्वाधारले अफगानिस्तानलाई ती धातुहरु निकाल्न रोक्यो जसले उसको आर्थिक भाग्य बदल्न सक्थ्यो । यूएस जियोलजिकल सर्भे (यूएसजीएस) को जनवरीको एक रिपोर्टअनुसार अफगानिस्तानमा वाक्साइट, तामा, फलाम, लिथेनियमजस्ता खनिज विद्यमान छन् । कपर, जसको प्रयोग बिजुलीको तार बनाउन गरिन्छ यसको मूल्य यो वर्ष दश हजार डलर प्रतिटनभन्दा माथि पुग्यो । अफगानिस्तान त्यसको पनि प्रमुख उत्पादक हुन सक्छ ।
लिथेनियमको विशाल भण्डार
लिथेनियम इलेक्ट्रिक सवारीको ब्याट्री, सोलार प्यानल, मोबाइलको ब्याट्री आदि बनाउन प्रयोग हुने एउटा महत्त्वपूर्ण एलिमेन्ट हो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, सन् २०४० सम्म संसारमा लिथियमको माग चालीस गुना बढिसकेको हुनेछ । द रेयर मेटल्स वार पुस्तकका लेखक गिलाउम पिट्रोनका अनुसार अफगानिस्तान लिथियमको एउटा विशाल भण्डारमाथि बसेको छ जसको आजसम्म दोहन हुनसकेको छैन ।
केही खनिजको उत्खनन
अफगानिस्तानमा नियोडिमियम, प्रेजोडियम र डिस्प्रोसियम पनि पाइन्छ जुन भूगर्भ बाट प्राप्त हुने दुर्लभ मेटल हो । यसको उपयोग स्वच्छ ऊर्जाको क्षेत्रमा गरिन्छ । अफगानिस्तानले पन्ना र माणिकजस्ता बहुमूल्य पत्थरका साथ-साथै अर्ध-बहुमूल्य खनिजहरु पनि निकालिरहेको छ । यद्यपि पाकिस्तानमा त्यसको अवैध तस्करी पनि हुन्छ । त्यसका अतिरिक्त अफगानिस्तानमा सिंगमर्मर, कोइला तथा फलामको खानी पनि छ ।
अफगानिस्तानमा चीनको लगानी
तालिबानी लडाकुहरुको जितपछि उत्पन्न परिस्थितिमा कुनै पनि विदेशी मुलुकले ऊसँग सम्बन्ध राख्न चाहेको देखिँदैन तर चीन अफगानिस्तानसँग व्यापार गर्न तयार छ । संसारको दोस्रो ठूलो अर्थव्यवस्था भएको चीनले तालिबानको अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध राख्न तयार रहेको बताइसकेको छ ।
सरकारी स्वामित्वको चाइना मेटलर्जिकल ग्रुप कर्पोरेसनले सन २००७ मा तामा उत्खननका लागि ३० वर्षको ठेक्का र साढे एघार मिलियन टन कमोडिटी निकाल्ने अधिकार प्राप्त गरेको थियो । चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार संसारकै दोस्रो ठूलो उक्त तामाको भण्डारबाट तामा निकाल्ने प्रोजेक्ट सुरक्षा मुद्दाका कारण सुरु हुन सकेको छैन । ग्लोबल टाइम्सले स्रोतलाई उद्धृत गर्दै अफगानिस्तानको स्थिति स्थिर भएपछि उत्खननको काम पुन सुरु हुने जनाएको छ ।
‘राजनीतिक स्थिरताबिना कुनै पनि कम्पनी काम गर्न चाहँदैन’
फ्रान्सेली विशेषज्ञ पिट्रोनका अनुसार चीनले लोकतान्त्रिक सिद्धान्तमा आधारित भएर व्यापार गर्ने होइन तर व्यापारका लागि पनि अफगानिस्तानमा स्थिर राजनीतिक वातावरण चाहिन्छ ।
पिट्रोनका अनुसार खनिजको खोज र उत्खनन पूरा गरी उत्पादन सुरु गर्न २० वर्षसम्म लाग्न सक्छ । यस्तोमा स्थिर राजनीतिक तथा कानुनी व्यवस्था नहुन्जेल कुनै पनि लगानीकर्ता सहकार्यका लागि तयार हुँदैनन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
-प्रतिकात्मक तस्बिर ।
प्रतिक्रिया