कहाँ-कहाँ भइरहेको छ वर्षा ?

नेपालखोज २०७८ भदौ ८ गते ७:२९

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव सामान्य रहेको जनाएको छ । न्यून चापीय रेखा नेपालको तराई भू-भागभन्दा केही दक्षिणतिर रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । यस्तै आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

मौसमविद् धर्मराज उप्रेतीका अनुसार हिजो सोमबारदेखि भदौ ११ गते शुक्रबारसम्म देशभर वर्षाको सम्भावना छ । ‘भदौ ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म देशभरी वर्षा हुने देखिन्छ । साताको सुरुमा पूर्वी भागमा र साताको मध्यदेखि अन्त्यसम्म देशभरी नै फैलिने छ । पूर्वी भागमा बढी असर हुने,’ उनको भनाइ छ ।

यस्तै भोलि (बुधबार) दिउँसो देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी पर्सि (बिहीबार) दिउँसो देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । साथै प्रदेश १ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया