लोसपाको सनाखत, प्रमाणपत्र दिने आयोगको तयारी

नेपालखोज २०७८ भदौ ९ गते १६:००
तस्बिर रासस

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टीका नेताहरुको सनाखत भएको छ ।

निर्वाचन आयोगमा बुधबार पार्टीका नेताहरु तथा सांसदहरुको सनाखत भएको हो । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टी विहिन अवस्थामा पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्‍‍याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले सनाखत गरेसँगै सो पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाउने भएको छ । सनाखत गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफुहरुको पार्टी विधिवत् रुपमा दर्ता भएको जानकारी दिए ।

अब पार्टीको मूल्य, मान्यता अनुसार पार्टी आगामी दिनमा संघर्ष गर्दै अगाडी बढ्ने उनले उल्लेख गरे । सांसदको हकमा १४ जना सांसदको सनाखत भएको बताइएको छ ।८ जना चाहिएकोमा १४ जना सांसदको सनाखत भएको उनले जानकारी दिए । कार्यकारिणी समितिमा पुरानो ५१ जनामा १७ जनाको सनाखत भएको छ । चाहिएको भन्दा बढी उपस्थित भएर सनाखत गरेका हुन् ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले आफुहरुको माग र मुद्धामा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट प्रतिवद्धता व्यक्त गरेका कारण वर्तमान सरकारलाई समर्थन गरेको उनको भनाइ थियो ।निर्वाचन आयोगले लोसपालाई पार्टी दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।

प्रतिक्रिया