राष्ट्रिय बिमा संस्थान र कम्पनीले गराएनन् ८ वर्षदेखिको लेखापरीक्षण

नेपालखोज २०७८ भदौ १० गते १२:३०

काठमाडौं । राष्ट्रिय बिमा संस्थानले आर्थिक वर्ष २०७६–०७७ मा पाँच करोड ६२ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा पाँच करोड ९० लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी राष्ट्रिय बिमा कम्पनीले पनि आव २०७६–०७७ मा ३६ करोड तीन लाख २८ हजारा रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा ६६ करोड ३५ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

तर सुन्दा अचम्म लाग्छ यति धेरै नाफा कमाउने यि दुुई संस्थाले विगत आठ वर्षदेखि आफ्नो लेखापरिक्षण नै गराएका छैनन् । महालेखा परिक्षककको ५८औं वार्षिक प्रतिवेदन अनुसार राष्ट्रिय बिमा संस्थान तथा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले विगत आठ वर्षदेखिको लेखापरिक्षण गराएका छैनन् ।

समयमा नै लेखापरिक्षण नगराउने संस्थाका जिम्वेवार पदाधिकारीहरुलाई कानुन बमोजिम कारबाही गर्नुपर्दछ, महालेखाले प्रतिवेदन मार्फत भनेको छ ।

अहिले राष्ट्रिय बिमा संस्थाको प्रशासकका कबि प्रसाद पाठक रहेका छन् भने सञ्चालक समितिको अध्यक्ष पदमा गंगाराम कँडेल रहेका छन् । यसैगरी राष्ट्रिय बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा डा. डिल्लीराज अर्याल रहेका छन् भने सञ्चालक समितिको अध्यक्ष पदमा उमेश चन्द्र उपाध्याय रहेका छन् ।

यी दुुई संस्थाहरुले वर्षोदेखि लेखापरिक्षण नगराउँदा कम्पनीका सेयरधनीहरुले कम्पनीको वास्तविक वित्तीय अवस्था, लाभांश लगायतका विषयमा जानकारीसमेत पाउन सकेका छैनन् ।

महालेखाका अनुसार यो वर्ष राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीसहित ४९ वटा संस्थाको बक्यौतासमेत ६८ आर्थिक वर्षको लेखापरिक्षण गर्नुपर्नेमा ४० वटा संस्थाको ५६ आर्थिक वर्षको मात्र लेखापरिक्षण सम्पन्न भएको छ । सम्पन्नमध्ये सबैको अन्तिम प्रतिवेदन जारी भई नौ संस्थाको १२ आर्थिक वर्षको लेखापरिक्षण बाँकी रहेको छ ।

सार्वजनिक संस्थानमध्ये १३ वटाले मात्र २०७८ जेष्ठ मसान्तसम्म २०७६–०७७ सम्मको लेखापरिक्षण गराएका छन् भने २५ संस्थाले २०७६–०७७ को लेखापरिक्षण नगराएको, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७६–०७७ समेत दुई बर्षको, बिशाल बजार कम्पनीले चार वर्षको लेखापरिक्षण नगराएको महालेखाले जनाएको छ ।

प्रतिक्रिया