आइतबार, वैशाख १४, २०८२

कलम एक-व्यथा अनेक !

केशव आचार्य २०७८ भदौ १२ गते ९:०८


एक
मन उडेर कहाँ कहाँ पुग्छ, शरीर जहाँथ्यो त्यहीं छ।
प्रार्थना मक्किएर कुही सक्यो,मन्दिर जहाँथ्यो त्यहीं छ।
आँट र साहस चिहान घारीमा रोइरहेको सुन्छु,
संसारलाई थर्काउने गोर्खाली वीर जहाँथ्यो त्यहीं छ।

दुई
दुर्गन्धित राजनीतिमा राष्ट्र फसेको छ।
लोकतन्त्र उमेर नपुगी बेत बसेको छ।
सत्ताका पुजारी हो तिमीलाई के थाहा,
हाम्रो आँशु रित्ता थालमा कति खसेको छ ?

तीन
दास र घाँस पत्रकारले गर्दा हैरान छु म ।
अति भ्रामक समाचारले गर्दा हैरान छु म ।
आफ्नै घुँडामा बन्चरोले हानु झैं भएको छ,
अक्षरको कालो व्यापारले गर्दा हैरान छु म ।

चार
यहाँ राम्रा मान्छे कति छन् कति चिन्नु पर्छ ।
उनीहरुभित्रको ‘राम्रो पक्ष’ उधिन्नुपर्छ ।
आउनुहोस् यो कर्म आफैंबाट आरम्भ गरौं,
राम्रो हुन नराम्रोलाई आफैंले उछिन्नुपर्छ।

पाँच
म निदाउँदा सपनीमा आऊ तिमी ।
ब्युँझदा प्रत्यक्ष विपनीमा आऊ तिमी ।
दुई-चार दिन रमाउँला माया पिरतीमा,
अनि जीवनको आँगनीमा आऊ तिमी ।


सदियौंदेखि आकाशका जून तारा उस्तै छन् ।
धर्तीले बोकेका अनेकौं अभिभारा उस्तै छन् ।
ठूलो परिवर्तन भयो भनी कसरी ठान्नु र खोइ !
सदियौंदेखि दीन-दु:खीका अश्रुधारा उस्तै छ्न् ।

प्रतिक्रिया