शुक्रबार, वैशाख १४, २०८१

युरिक एसिड बढ्दा खानै नहुने कुरा !

डा. हेमराज कोइराला २०७८ भदौ १२ गते १२:१०

युरिक एसिड बढ्दा खान नहुने भनेकै उच्च प्युरिन भएका खानेकुराहरू हुन् । सय ग्राममा २०० मि.ग्रा. भन्दा ज्यादा प्युरिन भएको खानेकुरालाई उच्च प्युरिन भएको खानेकुरा भनिन्छ ।

यसैगरी उच्च फुक्टोज भएको खानेकुराहरू युरिक एसिडमा विष समान छन् । तर अचम्मको कुरा के छ भने, उच्च प्युरिन भएको सागपात र उच्च फुक्टोज भएका फलफूलको सेवनले चाहिँ युरिक एसिडलाई केही गर्दैन ।

१. माछा, मासु, अन्डा : मांशाहारी भोजनले युरिक एसिड भएकाहरूको लागि विष समान काम गर्दछ । मांशहारमा पनि फलमासु जस्तै मुटु, कलेजो, फोक्सो, मिर्गौला आन्द्रा-भुँडी र गिदी आदिको सेवन अत्यन्त हानिकारक छ । यसैगरी सिकारबाट प्राप्त मासु अथवा जंगली जनावरको मासु पनि युरिक एसिडका लागि अत्यन्त हानिकारक सिद्ध छ । यी जनावरबाट प्राप्त खानेकुराहरूमा उच्च मात्रामा प्युरिन पाइने हुँदा रक्त युरिक एसिड स्तर बढ्छ ।
२. समुद्री खानेकुरा : माछाका अतिरिक्त समुद्र वा तलाउमा पाइने घुँगी, झिंगेमाछा, कछुवा, गँगटा, मोतीजस्ता समुद्री जीवको मासु पनि युरिक एसिड बढ्दा खानु हुँदैन । यी खानेकुरामा पनि प्युरिन न्युक्लिक अम्लको मात्रा उच्च छ ।
३. चिनी : चिनी ५० प्रतिशत ग्लुकोज र ५० प्रतिशत फुक्टोजको मिश्रण हो । पाचनपश्चात ग्लुकोजको उपयोग पूरै शरीरले गर्दछ भने फुक्टोजलाई कलेजोले पचाउँछ । कलेजोमा फुक्टोज पच्ने क्रममा धेरै एटीपी खर्च भएर एएमपी बन्ने हुँदा धेरै प्युरिनको हुन पुग्दछ यसर्थ चिनीको सेवन युरिक एसिड बढेकाहरूका लागि अत्यन्त हानिकारक छ ।
४. शीतल पेय : कोकाकोला, पेप्सीकोला, ड्यु, फ्यान्टा, मिरिन्डा जस्ता शीतल पेय, रेडबुल, रेड टाइगर, एक्सएल, स्ट्राङ्गबुल, अर्नाजस्ता इनर्जी पेय र जुसका नाममा बजारमा बेचिने रियल जुस, एक्टिभ, ब्रस्ट, प्राण, रियो, फ्रुटीजस्ता पेयहरूमा प्रचुर मात्रामा चिनी हालिएको हुन्छ । एउटा २५० मिलिको यी पेयहरूमा २५ देखि ३० ग्रामसम्म चिनी वा कर्नसिरप हालिएको हुन्छ भने चिनीका अलावा, अल्कोहल, सिट्रिक अम्ल, फस्फोरिक अम्ल, बिसोफिनोल ए, बेन्जिनलगायतका भारी धातुजस्ता अन्य थुप्रै खाद्य रक्षक वस्तुहरू मिलाइएको हुन्छ । जसले गर्दा युरिक एसिड बढ्छ ।
५. कृतिक चिनी : राइस सिरप, कर्न सिरप, हात्तीबारको सिरप, जस्ता उच्च मात्रामा फुक्टोज भएका खानेकुराहरूले पनि रक्त युरिक एसिडको मात्रा बढाउँछ ।
६. मह : महले धेरै रोगहरूमा औषधिको काम गरे पनि युरिक एसिडका लागि भने महको सेवन हानिकारक छ । युरिक एसिडमा मह हानिकारक हुनुको कारण पनि यसमा विद्यमान उच्च फुक्टोज नै हो ।
७. खमिर वा खमिर हालिएका खानेकुरा : आज बजारमा पाइने धेरै खानेकुराहरूमा खमिर हालिएको हुन्छ । जाँड, रक्सी, बियर बनाउनका लागि खमिर नभई हुँदैन । यसैगरी बिस्कुट, पाउरोटी र केक आदि बनाउन पनि खमिरको प्रयोग गरिन्छ । खमिर पनि प्युरिन न्युक्लिक अम्लको राम्रो स्रोत हो ।
८. मादक पदार्थ : मादकताका लागि पिइने जाँड रक्सी र बियरमा पर्याप्त मात्रामा खमिर हालिने हुँदा युरिक एसिड बढाउँछ । यसैगरी जाँड-रक्सीको सेवनले युरिक एसिडको मूत्र उत्सर्जनलाई पनि घटाइदिएर रक्त युरिक एसिडको स्तर बढाउँछ भने अल्कोहलिक पेयले जेन्थेन अक्सिडेजलाई पनि प्रतिरोध गर्ने हुँदा युरिक एसिडको रक्त स्तर बढ्छ ।
९. दाल-गेडागुडी : दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्युरिन न्युक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरीरमा प्रशस्त युरिक एसिड बन्छ ।
१०. जंकफुड : जंकफुड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । जंकफुड बनाउँदा यसमा उच्च मात्रामा खमिर हालिएको हुन्छ। खमिर प्युरिन न्युक्लिक अम्लको राम्रो स्रोत हो । यसका अलावा जंकफुडमा हालिएको प्रिजरभेटिभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाइ समस्या ल्याउन सक्छ । जंकफुड ज्यादा खाँदा तौल बढ्न गई युरिक एसिड बढ्ने समस्या पनि आउँछ ।
११. अचार (पुरानो), तामा, गुन्द्रुक, सिन्की पनि युरिक एसिड बढ्ने समस्याका लागि राम्रो होइन ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया