आइतबार, वैशाख ३०, २०८१

श्रीकृष्णबारे लुकेका केही रमाइला तथ्य !

सुनील सापकोटा २०७८ भदौ १४ गते ६:१५

श्रीकृष्णको व्यक्तित्वबाट म अत्यन्तै प्रभावित छु । हुन त कृष्णलाई व्यासले महाभारत साहित्यत्को एउटा अद्भूत महानायक बनाएर प्रस्तुत गरे पनि उहाँको व्यक्तित्व बडो अजिब, विवादास्पद, रहस्यमय, ज्ञान र चातुर्यले भरिएको छ । उहाँको जीवनमा मान्छेमा हुने सबै राम्रा-नराम्रा गुण र रङहरु पाइन्छ । उहाँबारे ओशोले भनेका छन्- ‘जब कुनै चेतना व्यापक भएर सबैलाई समेटछ त्यो कृष्ण हो’ बुद्धका लागि जीवन दु:ख हो भने कृष्णका लागि जीवन उत्सव हो । प्राग-ऐतिहासिक कुरा गर्दा भगवान् श्रीकृष्णको जीवन चरित्र हामी मानव जातिसँग धेरै मिल्दोजुल्दो भए पनि चमत्कारिक र विचित्रको छ ।

जीवनका केही विशेषता :
१. उहाँको छालाको रङ कालो थियो । उहाँको शरीरबाट एउटा मादक गन्ध आउँथ्यो । कोही भन्छन्- उहाँको आयु १२५ वर्ष, कोही भन्छन् ११० वर्ष ।
२. उहाँको शरीर हेर्दा सुन्दर र कोमल देखिन्थ्यो, तर युद्धका बेला उहाँको मांसपेसीहरु कठोर हुँदै फैलिन्थ्यो ।
३. उहाँको मृत्युका बेला शरीरमा न चाउरिपना थियो न केश नै फुलेका थिए ।
४. उहाँको सौतेनी आमा र हजुरआमा (बाबुपट्टिको) नाग जातिका थिए । उहाँलाई पाल्ने धर्मपिता नन्द आभिर जातिका थिए भने जन्म दिने पिता वासुदेव यादव जातिका थिए ।
५. कृष्णको प्रेमिका ‘राधा’ को प्रसंग महाभारत, भागवत पुराणमा पाइँदैन । जनश्रुति, गीत, भजन र कविताहरुमा मात्र उल्लेख भएको पाइन्छ । उनी कृष्णभन्दा लगभग १६/१८ वर्ष जेठी थिइन् । राधाको विवाह ‘अय्यन’ वा रमण नाम गरेका गोपसँग भएको थियो ।
६. कृष्णको जेठो छोरा प्रद्युम्नको सानैमा अपहरण भई १६ वर्षपछि मात्र बिहे भएर घर फर्किएका थिए । प्रद्युम्न पनि रुक्मणिबराबर उमेरका थिए ।
७. कृष्णको अन्तिम वर्ष छाडेर हेर्दा उहाँ ६ महिना मात्र द्वारिकामा बसोबास गरेको पाइन्छ । जबकि त्यो स्थान उहाँले नै निर्माण गर्नुभएको थियो ।
८. कृष्णको त्यत्रा छोरा नाति आपसमा युद्ध गरेर मरे, सिद्दिए । पछि पनातिहरुमध्ये एक मात्र जीवित पनाति ‘ब्रज नाभ’ जसलाई युधिष्टिरले इन्द्रप्रस्थको सिंहासनमा बसाएका थिए ।

अत्र-शस्त्र शिक्षा :
१. उहाँले औपचारिक शिक्षा केही महिना मात्र लिएको पाइन्छ । योग-साधनाचाहिँ सिक्नुभएको थियो ।
२. उहाँले मार्सल आर्ट र डाँडिया नाच आफैं सिर्जना गर्नुभएको थियो । उहाँले आफैं एउटा शक्तिशाली नारायणी फौजको पनि आत्मरक्षाका लागि निर्माण गरेको पाइन्छ ।
३. उहाँले कैयौंपटक युद्ध, सामाजिक र राजनीति कर व्यक्तिगत अभियानहरु सञ्चालन गरेको पाइन्छ । जस्तै- आफ्नै मामा कंशको वध, महाभारतको युद्ध, अर्जुन, नकासुर र वाणासुरसँगको युद्ध, अनि आफ्नै भान्जा शिशुपालको हत्या आदि ।

लेखक : सुनील सापकोटा

महान कार्य :
१. द्वारिका र खाण्डवप्रस्त (इन्द्रप्रस्थ) को स्थस्पना ।
२. स्कुलको स्थापना । जहाँ युद्ध कौशलका ट्रेनिङ हुन्थ्यो ।
३. नारीहरुको रक्षा र सम्मान । उहाँले १६ हजार स्त्री जो नरकासुरले बन्धक बनाएर शोषण गरेको थियो । तिनीहरुलाई मुक्त गर्न युद्ध गरी नरकासुरलाई मारी ती स्त्रीहरुलाई मुक्त गरी आफैंले विवाह गरी उनीहरुको अवैध सन्तानहरुलाई आफ्नो नाम दिई पिताको भूमिका खेल्नुभएको थियो । जबकि त्योबेला ती स्त्रीहरुको पिता र दाजुभाइ र समाजले उनीहरुलाई सामाजिक स्वीकार र मान्यता दिएको थिएन । त्यस्तै द्रौपतीको चिरहरण गरेका बेला सहायताको प्रसंग आदि । द्रौपतीलाई उहाँ सखी भन्नुहुन्थ्यो र द्रौपतीसँग घनिष्ट मित्रता थियो ।
४. त्यतिबेला निरंकुश राजतन्त्रको विरोध र गणतन्त्रको स्थापनामा अहम् भूमिका निर्वाह गर्नुभएको थियो । अन्याय, अत्याचार, शोषणविरुद्ध र रुढीवादीको विरोध । जस्तै- काशीका पाखण्डी ब्राह्मणहरुविरुद्धको अभियान आदि ।
५. गीताको उपदेश जो मानवताका लागि ठूलो सन्देश हो उहाँले नै अर्जुनलाई ज्ञान दिँदा भन्नुभएको थियो ।

श्री कृष्णको चिन्तन गर्दा मलाई बडो अचम्म लाग्छ । वास्तवमा यो होला न होला । यो एउटा दर्शन वा साहित्य नै होला । तर पनि म कृष्णको जीवन प्रसंग हेर्दा रोमाञ्चित हुन्छु । केही उहाँका रोचक थप कुराहरु :

एकातिर ५५ वर्षभन्दा माथि उमेर हुँदा रुक्मणिसँग विवाह गर्नुहुन्छ भने अर्कोतिर आफूभन्दा १६ वर्ष जेठी अर्का की श्रीमती (राधा) सँग प्रेम र रोमान्स गर्नुहुन्छ । त्यस्तै गोपिनीहरुसँग जिस्कनुहुन्छ । राशलीला गर्नुहुन्छ । उहाँले आठवटा नारीसँग विवाह गर्नुभएको थियो ।

एकातिर सानैमा घर-घर गएर मखन चोरी गर्नुहुन्छ भने अर्कोतिर हेर्दा गाउँ समाजको हकहितमा सानैमा धेरै सामाजिक कामहरु गरेको पाइन्छ ।

त्यस्तै ज्ञान, बुद्धि र तर्कमा त्यो बेला उहाँलाई कसैले पनि पराजित गर्न सक्दैन थियो । वास्तवमा उहाँको रुप र व्यक्तित्व अत्यन्तै बुझ्न नसकिने मायावी छ ।

प्रतिक्रिया