आइतबार, वैशाख १४, २०८२

चोकमा दुम्सीदेखि आलुका मूर्ति ! (तस्बिरसहित)

केशव भट्टराई २०७८ भदौ १४ गते १३:५९

काठमाडौं । ‘सिर्जनशील देश : गाउँ-सहरमै ठडिए काउलीदेखि दुम्सीसम्मका सालिक, तपाईंको गाउँ-ठाउँमा पनि छन् भने कमेन्टमा थप्नुहोस् है ।’ सामाजिक सन्जाल फेसबुकमा पत्रकार मोद ढकालले उक्त स्टाटस लेखे । स्टाटससँगै विभिन्न ठाउँमा राखिएका काउलीदेखि दुम्सीका सालिकका तस्बिर पनि अपलोड गर्न भ्याए । तस्बिरचाहिँ उनले विभिन्न सामाजिक सन्जालबाट साभार गरेको उल्लेख गरेका छन् । उनले लेखेको स्टाटस र अपलोड गरिएका काउलीदेखि दुम्सीको सालिकको तस्बिरमा उनका सामाजिक सन्जालका साथीको ध्यानाकर्षण भयो । एकपछि अर्को गर्दै कमेन्ट बक्समा विभिन्न प्रतिक्रिया आए । उनका साथी जो जहाँ छन्, आफ्नो गाउँठाउँमा ठड्याइएका आलुदेखि हात्तीसम्मका तस्बिर कमेन्ट बक्समा अपलोड गरे । मोद ढकालले ‘जस्ट फर फन’ भनेर स्टाटसमा लेखे पनि उनको स्टाटस र अपलोड गरिएका तस्बिरले वास्तविकता झल्काएका छन् ।

केही दिनअघि अपलोड गरिएको स्टाटसमा अहिले पनि एकपछि अर्को गर्दै कमेन्ट आइरहेका छन् । केदार श्रेष्ठ कमेन्ट बक्समा लेख्छन्, ‘चौतारोचाहिँ सबैभन्दा सिर्जनशील लाग्यो । यसको छहारीमा बसेको चराको गीत सुन्दै तपाईं-हामी नि छहारीमा शीतल ताप्नुपर्छ । यो सबै दिमाग लगाउनेहरूलाई विशेष रथयात्रा गरेर सहर डुलाउनुपर्छ ।’ वास्तवमा केदारको यो स्टाटसले यथार्थलाई चित्रण गरेको छ । उनको स्टाटसबाट नेपाली मूर्तिकारहरू लसुन, दुम्सी, हात्तीदेखि चौतारासम्मको सालिक बनाउन सिपालु भएको प्रस्ट हुन्छ । रुखबिरुवा, चराचुरुंगी, जीवजन्तु हाम्रा पहिचान हुन् । वनजंगल मासिँदै गएका बेला ठाउँठाउँमा राखिएका यस्ता सिर्जनशील सालिक हेर्नुको मज्जा नै बेग्लै हुन्छ । विभिन्न ठाउँका यस्ता सालिकहरू देख्दा हेर्नेलाई पनि मज्जा हुने र रथमा राखेर डुलाउनु पर्नेसम्मको हौसलाले मात्रै पनि मूर्तिकारहरूलाई थप सिर्जनशील कलामा अभिप्रेरित गर्दछ ।

ढकालले अपलोड गरेको तस्बिरहरूमा भकुण्डो, दुम्सी, आलु, काउली, तोङ्वा, लसुन, हात्ती, एभोकाडो, दुरुस्तै लाग्ने लालीगुराँसको रुख, सिन्धुलीमाडीको जुनारलगायत छन् । ढकालको कमेन्ट बक्समा प्रिन्स रस्यामले करुवाको फोटो अपलोड गर्दै आयौ है भन्दै कमेन्ट गरेका छन् । ‘चान्स पाए त नेपाली हो नि’, अर्का एकजनाले थपिहाल्छन् ।

वास्तवमा एक पक्षबाट हेर्ने हो भने नेपाली मूर्तिकारको यो सिर्जनशीलताको जति तारिफ गरे पनि सकिँदैन । पछिल्लो समय नेपालमा मूर्तिकारहरू मौलिक संस्कृति तथा वातावरणका महत्त्वपूर्ण पक्षको जर्गेना गर्न लागेका छन् । केही वर्ष अघिसम्म मान्छेको मूर्ति मात्र बनाउँदै आएका उनीहरू सिर्जनशील किसिमले आलुदेखि हात्तीसम्मका मूर्तिहरू बनाउन थप हौसिएका छन् । सामाजिक सन्जालदेखि तीनै तहका सरकारसम्म उनीहरूको खोजी बढेको छ । यता फेरि जितेन्द्र खनाल फोटोसहितको स्टाटसमा थपिहाल्छन्, ‘हो नि कोही माइकलालले सक्छन् नेपालीलाई ।’ जितेन्द्रले गरेको कमेन्टको चर्चा गर्ने हो भने नेपालीले अवसर पाए विश्वमै उदाहरणीय काम गरेर देखाउन सक्छन् । नेपालीले दूरदर्शी नेतृत्व नपाएर पनि आफ्ना सिर्जनशील अवसरहरूलाई गुमाइरहेको छ ।

यस्ता सिर्जनशील कामहरूको एक पक्षले सकारात्मक रुपले प्रतिक्रिया दिए पनि अर्को पक्षले वातावरणमा नकारात्मक प्रभाव पर्न सक्ने र विकासको नाममा सस्तो लोकप्रियताको काम भन्दै स्थानीय तहमाथि प्रश्न उठाउने गरेको छ । एकातिरबाट हेर्दा मूर्तिकार स्वरोजगार हुने अवस्था बने पनि अर्कोतर्फ यस्ता संरचना निर्माणका कामहरू विकासको कामभित्र नपर्ने स्थानीय विकासविज्ञहरू बताउँछन् । वातावरणविद्हरूले पनि कंक्रिटका संरचना बनाउँदा वातावरणमा असर पर्ने बताउँछन् ।

सस्तो लोकप्रियताका लागि जनावर, फलफूल र रुखबिरुवाको मूर्ति बनाइएको हो भन्ने जिज्ञासामा भने प्रायः सबै नगरपालिकाका मेयर अस्वीकार गर्छन् । जनताको चाहना र आफ्नो ठाउँको पहिचानका लागि यस्ता नक्कली संरचनाहरू (मूर्ति) निर्माण गरिएको उनीहरूको दाबी छ ।

धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत गजुरीको पहिचान माछा भएकाले जनताको चाहनाअनुसारै माछाको मूर्ति बनाइएको दाबी गर्छन् । मेयर बस्नेत भन्छन्,‘मूर्ति बनाउने कामका साथै जनताको आयआर्जन बढाउन माछापालन व्यवसायलाई पनि प्रोत्साहन गरिएको छ ।’ गजुरी गाउँपालिकाको मलेखुमा सयौं सर्वसाधारण वर्षौंदेखि सडककिनार लगायत विभिन्न ठाउँमा माछा बेचेर जीविकोपार्जन गरिरहेकाले पहिचानका लागि माछाको मूर्ति बनाइएको उनी दाबी गर्छन् । यस्तै मलेखु प्रमुख पर्यटकीय केन्द्र भएकाले यसले अझ प्रचारमा सहयोग गर्ने मेयर बस्नेतको दाबी छ ।

शान्तिप्रिय वन्दना सामाजिक सन्जाल फेसबुकमा कमेन्ट गर्छिन्,‘यो पैसाले त टन्न बिरुवा लगाउनु नि ।’ वास्तवमा शान्तिप्रिय वन्दनाको भनाइ वातावरणीय दृष्टिकोणले एकदमै जायज छ । एउटा मूर्ति तथा सालिक बनाउन लाखौं खर्च हुने गर्छ । यदि कुनै खाली चौर वा प्रयोगविहीन जग्गा वा मूर्ति राखेकै ठाउँमा पनि राम्रो बिरुवा रोप्ने हो भने त्यसले हरियाली वातावरण बनाउँछ ।

यस्तै मिलन खड्काले ढकालको स्टाटस हेरेपछि ढकमक्क फूलेको लालीगुँरास रुखको फोटो अपलोड गर्छन् । कमेन्ट बक्समा लेख्छन्, ‘यो चैं छुटेछ है सर तेह्रथुम जाने बाटोमा ।’ वास्तवमा जुन चिज जुन ठाउँमा पाइन्छ, त्यही ठाउँको पहिचान झल्किने लालीगुराँसको रुखसहित फूलको मूर्ति राख्दा त्यसले उक्त ठाउँको पहिचान दिइरहेको छ । यस्तै गुराँसको राजधानी मानिने तेह्रथुममा पनि ठाउँठाउँमा लालीगुराँस रुखको कंक्रिट संरचना (मूर्ति) बनाउँदा त्यो ठाउँ घुम्न जाने वा ओहोरदोहोर गर्नेलाई फरक अनुभूति हुन्छ ।

पछिल्लो समय विभिन्न प्रदेश, गाउँपालिका र स्थानीय तह छिर्ने नाकामा लाखौं खर्च गरेर गेट बनाइएका हुन्छन् । गेट बनाउँदा खर्च हुने लाखौं रकम अन्य विकासका काममा खर्च गर्दा राम्रो हुने तर्क पनि धेरैले गर्ने गरेका छन् । यस्तै तर्क गर्नेमध्येमा बाबुराम एनपी पनि हुन् । उनी लेख्छन्, ‘हरेक गाउँमा कफी, गुँड,..को मूर्ति बनाउनुपर्छ बरु गेट बनाउने अभियानलाई थाती राखेर भए पनि !’

विभिन्न अवरोधले काम गर्न नसकिएको भन्दै केही जनप्रतिनिधि विकास निर्माणका काम गर्दा तर्किने गरेका उदाहरण प्रशस्तै छन् । जनप्रतिनिधिले विकासका काममा अवरोध गरिएको भन्ने गुनासोतर्फ केन्द्रित हुँदै रमा सुवेदी लेख्छिन्, ‘बाटोघाटो बनाउँ त विकासका काम गर्न मुअब्जालगायत अनेकथरिका विवाद हुन्छन् । चोक-चोकमा सालिक ठड्याउन विवाद नि भएन, बजेट पनि खर्च भएन भनेर पीर गर्नु परेन ।’

सर्वसाधारण तथा नागरिक समाजले मूर्ति बनाउनु सस्तो लोकप्रियताको काम भएको बताइरहँदा उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा भने फरक भनाइ राख्छन् । बेलका नगरपालिकाको मैनामैनीमा लाखौं रुपैयाँ खर्च गरेर ठूलो सुँगुरको मूर्ति निर्माण हुँदै छ । मेयर थापा सुँगुरको मूर्ति पर्यटक र आम्दानीलाई लक्षित गर्दै बनाइएको दाबी गर्छन् । उक्त मूर्ति निर्माण गर्नुको उद्देश्य धार्मिक महत्त्व बोकेको बराह क्षेत्र मन्दिरनजिकै हुनु र राई रातिको बसोबाससँग गाँसिएको उनको तर्क छ ।

बराह क्षेत्र मन्दिर छेउमा दूरबिन राखेर यसको अवलोकन गरेबापत शुल्क लिई नगरपालिकाको आम्दानी बढाउनर मूर्ति निर्माणको लक्ष्य भएको मेयर थापाको भनाइ छ । यस्तै सुँगुरको मूर्ति राखिएको ठाउँ संखुवासभाको किमाथांका जाने मुख्य बाटो पर्ने, चिसो र शान्त वातावरण, हिमालको अवलोकन गरिने स्थल, वर्षौंअघि किरात राजाले राज्य गरेको ठाउँ, मैनाराजा- मैनारानीलगायत पहिचान बोकेको ठाउँ भएको उनको दाबी छ ।

वास्तवमा देशका विभिन्न ठाउँका चोकचोकमा आजकल बग्रेल्ती सिमेन्ट, बालुवा र ढुंगाले बनेका जनावरदेखि सागसब्जीका कंक्रिट मूर्तिहरू ठड्याइएका छन् । काजी श्रेष्ठले पनि धादिङको गजुरी गाउँपालिका २, मलेखु चोकमा राखिएको माछाको मूर्तिको फोटो अपलोड गरेका छन् । यता मधुसूदन गुरागाईंले ‘फेरि यो पनि थपौं धुलिखेलमा बाघ’ भनेर बाघको फोटो अपलोड गर्दै आफ्नो भनाइ राखेका छन् । यस्तै ग्यानु घिमिरेले नागमाथि पखेटा फिँजाएको चिलको आकर्षक मूर्ति र पाँचथरको कुम्मायक गाउँपालिकामा भर्खरै बनाइएको हात्तीको मूर्ति अपलोड गरेका छन् । फेरि पत्रकार मोद ढकाल आफ्नो स्टाटसमा छुटेको एभोकाडो र रुद्राक्षको फोटो कमेन्ट बक्समा अपलोड गर्न पछि पदैनन् ।

जनवारदेखि फलफूल तथा तरकारीको सालिक बनाउने स्थानीय सरकारको कामप्रति मदन कुमारको फरक विचार छ । उनी भन्छन्, ‘नेपालमा अब केही समयपछि दुम्सी, सुँगुर, काउली आलु, लसुनजस्ता चिज पाइने छैन, मानिसले उत्पादन गर्न छाड्ने छन् भन्ने सन्देश दिँदै सालिक मात्रै देखाउने पूर्वतयारी होला ।’

यता नवीन दाहालले नेपालमा लोपोन्मुख प्राणी संखुवासभाको पाँचखपन २ मा निर्माण गरिएको जोडी बाघको मूर्ति कमेन्ट बक्समा अपलोड गरेका छन् । मधुसूदन चापागाईंले धुलिखेल चोकमा सजाइएको बाघको तस्बिर अपलोड गरेका छन् । यस्तै अविछिन्न कसिल्याले दैलेख-सुर्खेत सीमा क्षेत्रमा निर्माण गरिएको गुराँस पार्क अपलोड गरेका छन् । अमित गौतमले मेरो गाउँको भन्दै ठूलो लाटोकोसेरोको मूर्ति राखेका छन् भने बलराम दाहालले धनकुटाको हात्तीखर्कको हात्तीको प्रतिमा अपलोड गर्न भ्याएका छन् ।

फेसबुकमा अपलोड गरिएका तस्बिरजस्तै कंक्रिट नमुनाहरू देशका धेरै ठाउँहरूमा निर्माण गरिएका छन् । तर अधिकांश भने नेपाली जनता गरिबी, भोकमरी र अशिक्षाको चपेटामा रहेका बेला यस्तो नमुनायुक्त नक्कली कंक्रिट संरचना निर्माणले कुनै महत्त्व नराख्ने बताउँछन् । फेसबुकमा अपलोड गरिएका विभिन्न चिजको नक्कली मूर्ति त केही उदाहरण मात्र हुन् ।

आर्थिक पत्रकार मोद ढकाल भने यस्ता संरचनालाई दुई पक्षबाट हेर्नुपर्ने बताउँछन् । ‘नकारात्मक रुपमा हेर्दा यस्ता संरचना बनाउँदा अनावश्यक खर्च हुन्छ,’ नेपालखोजसँग कुरा गर्दै उनले भने, ‘तर सकारात्मक रुपबाट हेर्दा भने पर्यटक आकर्षण गरी ठाउँको पहिचानमा मद्दत पुग्ने देखिन्छ ।’ स्थानीय तहले (राज्यले) यस्ता संरचना निर्माण गर्नुभन्दा पहिले जनताको आय-आर्जनमा प्रभाव पर्छ कि पर्दैन भन्ने विषयचाहिँ महत्त्वपूर्ण पक्ष भएको उनी बताउँछन् ।

यसबाहेक संखुवासभाको मुडे बजारमा नक्कली चाँपको रुख बनाइएको छ । सुनसरीको इनरुवास्थित सखुवागाछीमा सिमेन्ट, ढुंगा र बालुवाले बनेको ठूलो सखुवाको रुखवाट उक्त ठाउँको पहिचान दिन खोजिएको छ । यस्तै दैलेखको गुराँस गाउँपालिकामा पनि नक्कली गुराँस बनाइएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले पनि नक्कली गुराँस फूलाएको छ भने लसुने बजारमा नक्कली लसुन बनाइएको छ ।

उदयपुरको एक गाउँमा नक्कली बेलको फल बनाएर चोकमा सजाइएको छ । यता धनकुटाको जितपुर बजारमा रुद्राक्ष, धनकुटा बजारमा एभाकाडो, कागतेमा कागती, सिंधुवामा काउली, छिन्ताङमा सुन्तला, हिलेबजारमा तोङ्वा, सिन्धुली माडीमा जुनारको नक्कली बोट बनाएर चोक सजाइएको छ । यस्तै उदयपुरको मैनामैनीमा सुँगुरको बडेमानको मूर्ति बनाइएको छ । ‘यहाँ यसैलाई विकास भनिन्छ । केही व्यक्तिले सीमित स्वार्थले बनाइएका यस्ता संरचना अहिलेको सामाजिक सन्जालका प्रयोगकर्ताको लागि फोटो र भिडियो खिच्ने स्थल त बन्नेछ । तर केही वर्षपछि मर्मत सम्भार नहुँदा कुरुप बन्नेछ,’ संरक्षणविद् सुनील उलक भन्छन् ।

आजभोलि देशका विभिन्न स्थानीय तहले आफ्नो ठाउँको पहिचानको नाममा लाखौं रुपैयाँ कंक्रिटबाट बनाइएका नक्कली संरचना निर्माण गर्न खर्च गरिरहेका छन् । उनीहरू यस्तै संरचना निर्माणलाई विकासको काम भनिरहेका छन् । केही व्यक्तिले सीमित स्वार्थका कारण बनाएका यस्ता संरचना अहिलेको सामाजिक सन्जाल प्रयोगकर्ताको लागि फोटो र भिडियो खिच्ने स्थल मात्रै बनेका छन् ।

यस्तै वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पनि फेसबुकमा सिमेन्ट र बालुवाबाट बनाइएका आधा दर्जन मूर्तिका तस्बिर अपलोड गरेका छन् । स्टाटसमा उनले तस्बिरहरू सामाजिक सन्जालमा भेटेको जनाएका छन् । ओजनपूर्ण शब्दमा कोइराला स्टाटस लेख्छन्, ‘विभिन्न स्थानीय सरकारले पहिचानका नाममा गरेका सिमेन्ट विकासका तस्बिरहरू । बजेटको सदुपयोग उपयोग वा दुरुपयोग !!’

कोइरालाको यो स्टाटस फोटोसहित अपलोड भएसँगै कमेन्टको वर्षा नै हुन्छ । कृष्ण पौडेलको सामाजिक सन्जालमा तर्क छ, परिश्रम गरेर उत्पादन गर्ने न कोही छ, न त सरकारी नीति नै । फलफूल, तरकारी सबै भारतबाट । नेपालमा सिमेन्टको नबनाएर के गर्नु र ? यौटा ५० लाखको सुँगुरको सालिकको साटो पाँच सयवटा सुँगुरको पाठा बाँडेको भए प्रभावकारी हुने थियो । कसलाई के भन्नू र खै ??

वास्तवमा सिमेन्टका मूर्ति बनाउने सम्बन्धमा पक्ष र विपक्षमा विभिन्न तर्कहरू उब्जिने गर्छन् । प्रेम जीवनलाई एक किसिमले यस्ता संरचना बनाउनु ठीकै लागेको छ । उनी कमेन्ट गर्छन, ‘मलाई राम्रै लाग्यो यो, ठाउँको चिनारी र उत्पादनको प्रचार । तर डर भनेको कतै त्यही स्तम्भमा मात्रै सीमित हुने हो कि भन्ने हो ।’

वरिष्ठ पत्रकार कोइराला यसलाई विकासका नाममा अनावश्यक तामझाम भएको बताउँछन् । ‘ठाउँको पहिचानसहितका यस्ता संरचना सडक-चोकमा राख्नुभन्दा निश्चित पार्क वा क्षेत्रमा राख्दा यसको महत्त्व धेरै हुने र पर्यटकको आकर्षणको केन्द्र बन्ने थियो,’ नेपालखोजलाई प्रतिक्रिया दिँदै उनले भने, ‘यस्ता संरचना बनाएर लाखौं खर्च गर्नुको साटो प्राकृतिक कुराको प्रवर्द्धन गरेको भए झन् उत्तम हुन्थ्यो ।’ उनले जुनार खेती हुने ठाउँमा मूर्ति नबनाइ बरु आय-आर्जन हुने गरी जुनारकै खेतीको प्रवर्द्धन गर्नुपर्ने धारणा राखे । ‘गुराँसको रुख काटेर त्यहाँ नक्कली संरचना ठड्याउनुको कुनै तुक छैन,’ वरिष्ठ पत्रकार कोइरालाले भने ।

यता नरेश रन्जित किसानको भावना बुझ्न नसक्ने नेतालाई कंक्रिटबाटै बनेको आलुको माला लगाएर सम्मान गर्नुपर्ने तर्क गर्छन् । मिहिनेतको कदर नगर्ने, दाल, चामल फलफूल, तरकारीलगायत सबै विदेशबाट आयात गर्ने, कृषिप्रधान मुलुकका किसानलाई कृषिमा उत्साही नबनाउने र खेतबारी सबै बाँझो राख्न लगाएर चोक चोकमा अनावश्यक खर्च गर्दै डमी बनाएर कृषि प्रधान देशको झल्को दिन खोज्ने भन्दै रन्जितले जनप्रतिनिधिप्रति कडा आक्रोश पोखेका छन् ।

स्थानीय शासन विज्ञ श्याम ढकाल स्थानीय तहको पहिचान झल्काउन मुर्ति बनाउन नपर्ने जिकिर गर्दै जुन ठाउँमा जे चिज छ त्यसैको उत्पादन बढाउनु पर्नेमा जोड दिन्छन् । तरकारी, फलफूलदेखि जनावर लगायतका मुर्ति निर्माणको काम सस्तो लोकप्रियताका लागि देखाउने मात्रै भएको उनको दाबी छ । पहिचान झल्काउन मुर्ति नैं बनाउनु नपर्ने बताउँदै उनले बजेटलाई उत्पादनमुखी काममा लगाउनुपर्नेमा जोड दिएका छन् ।

स्थानीय विकासविज्ञ ढकाल भन्छन्, ‘धनकुटाको लसुने भन्ने ठाउँमा लसुनको मूर्ति बनाएर होइन, धेरै लसुन उत्पादन गरेरचाहिँ उक्त ठाउँलाई चिनाउनुपर्छ । स्थानीय सरकारले पूरै गाउँमा लसुन रोप्न ऋण तथा तालिम दिँदै किसानलाई उक्साउनुपर्छ, सब स्वरोजगार हुन्छन्, लसुने गाउँ भनेर देशैभर चिनिन्छ ।’ यस्तै उदयपुरको मैनामनीमा सुँगुरको ठूलो मूर्ति बनाउने ठाउँमा त्यो रकमले सुगुँर पाल्न किसानलाई उत्साहित गर्नुपर्ने उनको जोड छ । ढकाल नमुना रुपले देशमै चिनाउने गरी सुँगुर पाले गरिबी घट्ने र ठाउँको पहिचान पनि हुनेमा जोड दिन्छन् ।

उता संखुवासभाको पाँचपखन नगरपालिकाका मेयर विपिन राई भने यस्ता मूर्तिहरू सस्तो लोकप्रियताका लागि नभई जनताको चाहनाअनुसार निर्माण गरिएको दाबी गर्छन् । भर्खरै नगरपालिकाको मुख्य चोकमा जोडी बाघको मूर्ति निर्माण भएको बताउँदै मेयर राईले उक्त काम आफ्नो चाहनाअनुसार नभई नगरवासीको इतिहाससँग जोडिएको प्रस्ट्याएका छन् ।

‘विकासका अत्यावश्यक कामलाई थाती राखेर बनाइएका नमुना कंक्रिटका सालिक केही वर्षसम्म हेर्न लायक होलान् । तर केही वर्षपछि मर्मत-सम्भार नहुँदा कुरुप हुनेछन् । अहिलेसम्मको विकासका विभिन्न संरचनाको अवस्था हेर्दा पनि हालत यही नै छ । अर्कातिर प्राकृतिक रुख-बिरुवा जुन किसिमले मानव जीवनका लागि उपयोगी हुन्छन्, कृत्रिम रुख तथा अन्य संरचना वातावरणीय दृष्टिकोणले पनि उपयुक्त छैनन्,’ संरक्षणविद् सुनील उलकको भनाइ छ ।

सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्ने सरकारको योजना छ । कंक्रिटका मूर्ति संरचना निर्माणले यो लक्ष्य हासिल हुन सक्दैन । आगामी ८ वर्षभित्र दिगो विकासको लक्ष्य पूरा गर्ने हो भने सस्तो लोकप्रियताको काम नगरौं । आन्तरिक पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माण, स्वरोजगार बनाउने तथा आयआर्जनका कामलाई प्राथमिकता दिऔं ।

आजभोलि नागरिकले हातमुख जोर्नेदेखि विभिन्न अभावहरूको सामना गरिरहनुपरेको छ । लाखौं रुपैयाँ यस्ता संरचना निर्माणमा खर्च गर्नुभन्दा गरिबी र विभिन्न समस्याले छट्पटाएका दीनदुखीको सेवामा खर्च गरे, तीनै तहका सरकारको नेतृत्वमा रहेकाहरूलाई उनीहरूको खुसीको आँसुले आर्शीवाद दिन्थ्यो कि !

प्रतिक्रिया