शनिबार, जेठ ५, २०८१

भारतमा डिजिटल करेन्सी !

नेपालखोज २०७८ भदौ १४ गते १८:१०

नयाँदिल्ली । भारतीय रिजर्भ बैंक (आरबीआई) ले यही डिसेम्बरसम्म आफ्नो पहिलो डिजिटल करेन्सी लन्च गर्ने तयारी थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रिजर्भ बैंक (आरबीआई) ले यसको तयारी पनि सुरु गरिसकेको छ ।

केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले मिडियालाई बताएअनुसार आरबीआईले आउँदो डिसेम्बरसम्ममा आफ्नो पहिलो डिजिटल मुद्रा परीक्षण कार्यक्रम सुरु गर्नसक्छ । दास भन्छन्- ‘भारतको केन्द्रीय बैंक आफ्नो सेन्ट्रल बैंक डिजिटल करेन्सीलाई चरणबद्ध ढंगले अघि बढाउने काममा लागि परेको छ ।’

सीएनबीसीलाई दिएको अन्तर्वार्तामा गभर्नर शक्तिकान्त दासले भनेका छन्, ‘भारतीय रिजर्भ बैंक डिजिटल करेन्सीलाई लिएर सावधानीपूर्वक काम गरिरहेको छ, किनभने यो आरबीआईका लागि मात्र होइन संसारकै लागि नयाँ प्रोडक्ट हो ।

नगदको उपयोगमा कमी र क्रिप्टोकरेन्सीप्रति मानिसको बढ्दो चासोपछि आरबीआईले यसमा प्रयोग गर्ने निर्णय लिएको हो ।

गभर्नर दासका अनुसार, आरबीआईले डिजिटल मुद्राको विभिन्न पक्षमा अध्ययन गरिरहेको छ । जसमा यसको सुरक्षा, भारतको वित्तीय क्षेत्रमा पर्ने प्रभाव आदि छन् । यो नयाँ मौद्रिक नीति र प्रचलनले भारतमा मुद्रा कारोबारलाई कसरी प्रभावित गर्छ त्यसको पनि आकलन गर्नुपर्नेछ ।

उता भारतको केन्द्रीय बैंकका डेपुटी गभर्नर टी रवि शंकरले पनि डिजिटल करेन्सी लन्च गर्ने संकेत दिएका छन् । शंकरले डिजिटल करेन्सीको मोडलमा काम भइरहेको पनि बताएका छन् । चीन, जापान, स्विडेन आदि देशले पनि डिजिटल करेन्सीको ट्रायल सुरु गरिसकेका छन् । बेलायत र अमेरिका पनि डिजिटल करेन्सी जारी गर्ने कुरामा विचार गरिरहेका छन् । हालको तयारी सफलतासाथ अघि बढ्ने हो भने भविष्यको संसारमा डिजिटल करेन्सीको बोलबाला रहने पक्का छ ।

के-हो डिजिटल करेन्सी ?
भारतको सेन्ट्रल बैंक डिजिटल करेन्सी अर्थात् सीबीडीसी नगद (क्यास) को इलेक्ट्रोनिक रूप हो । हामी जसरी नगद लेनदेन गर्छौं, त्यसरी नै डिजिटल करेन्सी पनि लेनदेन गर्न सकिन्छ । यस्तो ट्रान्जिक्सनबिना मध्यस्थ वा बिनाबैंक नै हुनेछ । सीबीडीसीले धेरै हदसम्म क्रिप्टोकरेन्सीकै जस्तो काम गर्नेछ । यद्यपि, भारतको सीबीडीसीमा क्रिप्टोकरेन्सीको जस्तो करेन्सीको भ्याल्युमा उतारचढाव आउने छैन । यसलाई देशको केन्द्रीय बैंकले जारी गर्नेछ ।

प्रतिक्रिया