बुधबार, वैशाख १२, २०८१

उत्तर प्रदेशमा देखियो स्क्रब टाइफस

स्क्रब टाइफस ओरिएन्टिया सुटसुगमुसी नामक जीवाणुका कारण हुन्छ । यो जीवाणुजनित संक्रमण हो जुन मानवमृत्युको कारण बन्छ ।

नेपालखोज २०७८ भदौ १५ गते १२:५७

नयाँदिल्ली । भारतको उत्तर प्रदेश राज्यको मथुरा जिल्लामा देखिएको रहस्यमय बिरामीको पहिचान स्क्रब टाइफसका रूपमा गरिएको छ ।

राज्यको स्वास्थ्य विभागको टिमले यो रहस्यमय रोगबारे जानकारी पाएपछि कोह नामको गाउँबाट नमुना संकलन गरेको थियो । अहिले त्यही नमुनाहरुको जाँचपछि यो रोग स्क्रब टाइफस भएको पुष्टि गरिएको हो । यो रोगबाट मथुरा जिल्लामा अहिलेसम्म एक दर्जनभन्दा बढी मानिस संक्रमित भइसकेको बताइएको छ । मथुरा नेपालको सीमाबाट नजिकको भारतीय सहर पनि हो । जहाँ धेरै नेपाली धार्मिक यात्राका लागि पुग्ने गरेका छन् ।

दुई दिनपहिले भारतकै अर्को राज्य असमबाट राजधानी गुवाहटीस्थिति कोभिड अस्पताल १५ दिनका लागि बन्द गरिएको समाचार आएको थियो । त्यसको कारण थियो- स्क्रब टाइफसका बिरामी फेला पर्नु । स्थानीय मिडियाहरुका अनुसार उक्त अस्पतालमा स्क्रब टाइफसका २९ बिरामी फेला परेका थिए । त्यहाँ यो ब्याक्ट्रेरियल रोगको सिकार अस्पतालका सुपरिटेन्डेन्टसहित केही नर्स र अन्य हेल्थ स्टाफसमेत भएको बताइएको छ । गुवाहटी तथा असम नेपालीहरुको बाक्लो उपस्थिति भएका क्षेत्र हुन् जहाँबाट नेपाल आवतजावत गर्नेहरु प्रशस्तै हुन्छन् ।

के हो स्क्रब टाइफस
स्क्रब टाइफस रोग ओरिएन्टिया सुटसुगमुसी नामक जीवाणुका कारण हुन्छ । स्क्रब टाइफस एउटा जीवाणुजनित संक्रमण हो जुन मानिसको मृत्युको कारण बन्छ । यसको लक्षण निकै हदसम्म बिफरसँग मिल्छ । यो रोग प्राणघातक भएकाले निकै खतरनाक मानिएको छ । यसबाट जोगिन ओछ्यान तथा कपडाहरुमा प्यारामाइथिन तथा बेन्जिल बेन्जोलेट नामक विषादी छर्कनुपर्छ । मानिसमा यो रोगको लक्षण देखिनेबित्तिकै चिकित्सकसँग परामर्श गर्ने सल्लाह पनि दिइएको छ ।

स्क्रब टाइफसको लक्षण
यसको प्रमुख लक्षण ज्वरो आउनु, टाउको दुख्नु, शरीर दुख्नु तथा छालामा खराबी (कालो धब्बा) देखिनु आदि हो भने कतिपयमा मांशपेशी सुन्निएको घटना पनि सार्वजनिक भएको छ ।

छैन कुनै भ्याक्सिन
अहिलेसम्म संसारमा यो रोगविरुद्ध कुनै पनि भ्याक्सिन उपलब्ध छैन । यसबाट जोगिने एकमात्र उपाय पनि संक्रमित व्यक्तिको सम्पर्कमा नआउनु नै हो । कोरोनाकै जस्तो सोसल डिस्टेन्सिङको नियम यो रोगका संक्रमितमा पनि लागु हुन्छ ।
-भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया