शनिबार, जेठ ५, २०८१

महिला तथा अल्पसंख्यकमा तालिबानको प्रतिबन्ध किन ?

नेपालखोज २०७८ भदौ १६ गते १९:३२

काठमाडौं । अफगानिस्तानबाट अमेरिका फर्किएपछि धेरैको मनमा उठेको प्रश्न हो अब अफगानिस्तानमा के हुन्छ वा अफगानिस्तानका आगामी दिन कस्ता हुनेछन् ? अफगानिस्तान कसरी अघि बढ्नेछ ? अनि त्यहाँ सरिया कानुन लागु गरिनेछ वा महिला तथा अल्पसंख्यकहरुका विषयमा तालिवानको नीति कस्तो हुनेछ ?

महिलाहरुका विषयमा तालिबानले के भन्यो ?
तालिबान २० वर्षपश्चात सत्तामा आएपछि अब अफगानिस्तान सरिया कानुनअनुरुप चल्ने कुरा बताइएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद भन्छन्, ‘हामी अन्तर्राष्ट्रिय समुदायका साथ कुनै विवाद वा झगडा चाहँदैनौं । हामीलाई हाम्रो धार्मिक मान्यताअनुसार काम गर्ने पूरा अधिकार छ । संसारमा सबै देशको अलग-अलग दृष्टिकोण, नियम तथा कानुन छ । हामीलाई पनि आफ्ना मूल्य-मान्यताअनुसार, नियम-कानुन लागु गर्ने अधिकार छ ।’

मुजाहिदका अनुसार, ‘हामी सरिया व्यवस्थाअन्तर्गत महिलाहरुको हक तय गर्न प्रतिबद्ध छौं । हामि अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौं कि उनीहरुप्रति कुनै भेदभाव हुने छैन ।’

के हो सरिया कानुन ?
यो कुनै लिखित कानुन होइन । यो पैगम्बर-ए-इस्लामपछि इस्लामिक कानुनविद्‌हरुद्वारा परिभाषित कानुन हो । यही कारणले पनि इस्लाम धर्म मान्ने अलग-अलग सम्प्रदायमा अलग-अलग कानुन हुन्छ । त्यसका अतिरिक्त एउटै सम्प्रदायका इस्लामिक कानुनविद्‌हरुमा पनि विभिन्न किसिमका मतभेद पाइन्छ । इस्लामिक कानुनविद्‌हरुले सरिया कानुनअनुरुप इस्लाम धर्म मान्नेहरुलाई जीवन जिउने बाटो देखाउँछन् । इस्लाम मान्ने सबै मानिसबाट यसको पालन हुने आशा गरिन्छ ।

अफगानिस्तान इस्लामिक कानुनविद्‌हरुको चार ठूला स्कुलमध्ये एक इमाम अबु हनिफालाई मान्ने मुलुक हो । त्यसैले यिनीहरुलाई हनफी मुसलमान भनिन्छ । अफगानिस्तान संसारको त्यस्तो एक्लो देश हो जहाँ केवल इमाम अबु हनिफालाई अनुसरण गर्दै त्यसकै कानुन चल्छ । भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका सुन्नी मुसलमानहरुमध्ये ९५ देखि ९८ प्रतिशत मानिसले इमाम अबु हनिफालाई नै मान्छन् ।

अलग-अलग स्कुल अफ थट्स मान्ने हुँदा अलग-अलग देशको सरिया कानुन पनि अलग-अलग छ । केही मानिस के भन्छन् भने इस्लाममा पर्दा प्रथा छाडेर महिलाहरुलाई बाँकी सबै अधिकार दिइएको छ तर पितृसत्तात्मक व्याख्याले यसलाई ठीक उल्टो बनाएको छ ।

सरिया शब्दको अर्थ ?
सरिया शब्दको शाब्दिक अर्थ हो- पानीको एउटा स्पष्ट र व्यवस्थित बाटो । सरिया कानुनमा अपराधलाई दुई अलग क्याटोगरीमा विभक्त गरिएको छ- पहिलो हद र अर्को तन्जिर । हदअन्तर्गत गम्भीर अपराधहरु पर्छन् र यसमा दिइने सजाय पहिलेदेखि नै तय हुन्छ । तन्जिरअन्तर्गत पर्ने अपराधको सजाय र न्याय निर्णय गर्ने अधिकारिको स्वविवेकमा छाडिएको छ । सरिया कानुनमा चोरी हद श्रेणीको अपराध हो र यसको सजायमा चोरी गर्ने व्यक्तिको हातसम्म काटिन्छ ।

तालिबानको पुरानो शासनमा कस्तो थियो सरिया कानुन ?
२५ वर्षपहिले अर्थात १९९६ मा तालिबानले पहिलोपटक अफगानिस्तानमा कब्जा जमाएको थियो । त्यति बेला तालिबानले पूरै अफगानिस्तानमा इस्लामिक कानुन सरिया लागु गरेको थियो । यो कानुनअनुसार महिलाहरुलाई एक्लै घरबाट बाहिर निस्कन प्रतिबन्ध छ । उनीहरुलाई पश्चिमी शैलीका पहिरन लगाउने अनुमति पनि दिइँदैन ।

यसमा सजायका रुपमा ढुंगा हानेर मार्ने तथा सार्वजनिक रुपमा फाँसीमा झुन्ड्याउने प्रावधान छ । सरिया कानुनअनुसार यदि किशोरीको मासिक धर्म सुरु भइसकेको छ भने उनी कम उमेर नै भए पनि विवाहयोग्य मानिन्छिन् ।

तालिबानीहरुले पहिले लागु गरेको सरिया कानुनमा पुरुषले दाह्री राख्नु र महिलाहरुले पूरै शरीर ढाक्ने बुर्का लगाउनु अनिवार्य थियो । १० वर्षभन्दा माथिका केटीहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको थियो । सरिया कानुनअन्तर्गत महिलाहरुमाथि निकै कडा नियम लागु गरिएका थिए । यहाँसम्म कि महिलाहरुले घरबाहिरको काम वा जागिर गर्न पाउँदैनथे । त्यसका साथै महिलाहरु घरका कुनै पुरूष सदस्यका साथ मात्र घरबाहिर निस्कन सक्थे । यही कानुनअन्तर्गत टेलिभिजन, फिल्म तथा संगीतमा पनि प्रतिबन्ध लगाइएको थियो ।

अल्पसंख्यकहरुको स्वतन्त्रतामा बाधा
अफगानिस्तानमा तालिबानको पुरानो शासनमा अल्पसंख्यक समुदाय माथि पनि अनेकन बन्देज लागाइएका थिए । सरकार र सेनामा अल्पसंख्यक समुदायको कुनै प्रतिनिधित्व थिएन । त्यसका साथै उनीहरुलाई पहेंलो रङको पहिरन लगाउने तथा घरमा हरियो झन्डा गाड्ने उर्दी थियो । ताकि उनीहरु गैरमुसलमान हुन भन्ने कुरा देख्नेबित्तिकै पत्ता लागोस् ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया