शुक्रबार, वैशाख १४, २०८१

विकासको वैकल्पिक मोडलको खोजी

लक्ष्मण पुरी २०७८ भदौ १७ गते ७:३८
लक्ष्मण पुरी

आज विकासको नयाँ मोडलको कुरा प्रवल रुपमा उठिरहेको छ । विश्वमा कर्पोरेट (पुँजीपतिहरुको) मोडल र कम्युनिस्ट समाजवाद अर्थात् साम्यवादी मोडल गरी दुईवटा मोडल प्रचलित छन् । दुवैले समाजवाद (चराचरबराबर) को वकालत गर्छन् । समाजवाद के-हो ? समाजवादको वास्तविक मोडल कस्तो हुन्छ ? यसमा विभिन्न तह र तप्काका जनसमुदायलाई राज्यले कसरी व्यवस्थापन गर्छ ? आर्थिक, राजनीतिक तथा सांस्कृतिक समानताका सिद्धान्त के हुन् र कसरी लागु गरिन्छ ?

विगतमा कम्युनिस्ट मुलुक रुस र चीन किन असफल हुन पुगे ? उक्त मोडेलमा सुरक्षा, स्वतन्त्रताजस्ता नैसर्गिक मानवीय हकलाई व्यवस्थित गर्ने विधि कस्तो हुन्छ ? यस्ता थुप्रै प्रश्नको वास्तविक समाधान नखोजी नारामा समाजवादलाई अघि सार्नु अबको पिँढीलाई धोका दिन खोज्नु हो, जुन असम्भव छ । किन भने नयाँ पिँढीले नयाँ ढंगले चेष्टा गर्नेछ । समयको यो मागलाई सबैले मनन् गर्नैपर्छ ।

मानव समाजको उत्पत्ति विकास र निरन्तरताको इतिहास, वर्तमान वास्तविकता र वैज्ञानिक तथ्यहरुका आधारमा हेर्दा विगतका विभिन्न कालखण्डमा यसले ईश्वर केन्द्रित, प्रकृति केन्द्रित, प्रविधि केन्द्रित, पर्यावरण केन्द्रित र मानव केन्द्रित गरी पाँचवटा दर्शन पार गर्दै आएको छ। यी सबै एकतर्फी थिए, पुँजी केन्द्रित, (पैसामुखी) । जबकि मानवजीवन एकातिर प्रकृति र पर्यावरणसँग अनि अर्कोतिर मानव स्वयंसँग जोडिएको छ । प्रकृति र मानवको सम्बन्ध नङ र मासुको सम्बन्ध जस्तै छ । यी दुवैको संरक्षण र हित नै मानव इतिहास जीवन्त हुनु हो । तसर्थ अबको दर्शन प्रकृति र मानव केन्द्रित हुनुपर्छ ।

आजको विश्व समाज व्यवस्था त्यो चाहे प्रजातान्त्रिक होस् वा समाजवादी दुवै विकास मोडलले प्रकृति पर्यावरणको अत्यधिक दोहन र मानवीय क्षमताको चर्को शोषण गरेका छन् । यसको परिणाम स्वरूप एकातिर जलवायु परिवर्तन, शुद्ध खाने पानीको संकट देखिएको छ भने अर्कोतिर आणविक युद्ध, हत्या, हिंसा, भ्रष्टाचार, बलात्कार, बेरोजगारी, आत्महत्या, डिप्रेसन, हाइपरटेन्सन आदिको समस्या देखापरेको छ ।

समग्रमा संसार नयाँ-नयाँ घातक रोगहरुदेखि अमानवीयकरणसम्म पुगेको छ । मानव समाजले पतनको बाटो अख्तियार गरिसकेको छ । यसका प्रत्यक्ष उदाहरण प्राकृतिक कोणबाट कोरोना र मानवीय कोणबाट अफगानिस्तानको घटनालाई लिन सकिन्छ। विश्वमै मानवीय क्षमताको चरम शोषण प्रकृति र पर्यावरणको अत्याधिक दोहन गर्दै आएको विशेष अधिकार प्राप्त अमेरिकालगायत महाशक्ति राष्ट्रहरुको प्रजातन्त्र र समाजवादको नाराभित्रको वास्तविकता छर्लंगिँदै गएको छ।

अबको विकासको मोडल प्रकृति र पर्यावरणको संरक्षण, आवश्यक उत्पादन, १:५ को आर्थिक समानता, जन केन्द्रित लोकतन्त्र र पारदर्शिताको सिद्धान्तमा आधारित हुनुपर्छ ।

समाज परिचालन, सञ्चालन र व्यवस्थापन गर्ने कुरामा अलिकति मात्र पनि राजनीतिक चिन्तन भएका खास गरी नवयुवकहरुको ध्यान यस्ता विषयमा जानुपर्छ । राजनेताहरुले अन्तरनिर्भर ग्लोबलाइजेसनको यो युगमा पार्टी तथा गुटगत स्वार्थ त्यागेर राष्ट्रिय चिन्तनभन्दा पनि माथि उठेर समस्त संसारभर प्रकृति र मानव केन्द्रित विकासको मोडलका सम्बन्धमा बहस चलाउँदै जाने आँट गरेसँगै आफूलाई विकसित र परिवर्तित गर्न सक्नुपर्छ ।

प्रतिक्रिया