सोमबार, वैशाख १५, २०८२

कोरोनाविरुद्धको खोप गर्भवती र सुत्केरीलाई कति सुरक्षित ?

नेपालखोज २०७८ भदौ २१ गते ८:०३

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले बताएका छन् । त्यसअघि गर्भवती र सुत्केरीलाई कोरोनाविरुद्धको खोप असुरक्षित रहेको भन्दै नलगाउन भनिएको थियो ।

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गर्भवती र सुत्केरीलाई कोरोनाविरुद्धको खोप सुरक्षित नरहेको कुरा कहिल्यै जिकिर नगरेको जनस्वास्थ्यविद् डा. दीक्षितले बताए । नेपालमा खोपको विषयलाई लिएर अझै पनि नागरिकमा अन्योलता देखिन्छ । खोप लगाएका केहीमा त्यसको सामान्य समास्या देखिँदा त्यसैलाई लिएर जनतामा विभिन्न खालका भ्रम हुने गरेको छ । खोप लगाएका एकाध केसहरूमा त्यस्तो समस्या भए पनि खोप सुरक्षित रहेको र ढुक्क भएर खोप लगाउन विज्ञहरूले बारम्बार बताउँदै आएका छन् ।

खोपको प्रभावकारितालाई लिएर भएका अन्य भ्रम जस्तै कोरोनाको खोप गर्भवती र सुत्केरी महिलालाई सुरक्षित छैन भन्ने कुरा खाली अफवाह मात्रै भएको उनले बताए । ‘कोरोनाको खोप अन्य मानिस जस्तै गर्भवती र सुत्केरीलाई पनि सुरक्षित छ । मैले बुझ्न नसकेको कुरा सरकारले नागरिकमा थप विश्वास जगाउन नसकेको हो कि ? के भएको हो ?’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनलगायतले कहिले पनि गर्भवती र सुत्केरीलाई खोप लगाउनु हुँदैन भनेर भनेकै छैन ।’

जनस्वास्थ्यविद् डा. दीक्षितका अनुसार विश्व स्वास्थ्य संगठनले गर्भवती र सुत्केरीलाई खोप नलगाउनुभन्दा लगाउनुमा उल्लेखनीय फाइदा रहेको जनाएको छ । उनले भने, ‘खोप लगाउँदा अपवादका रूपमा जे पनि हुन सक्छ तर खोप नलगाउनुभन्दा लगाउँदा फाइदा हुन्छ । गर्भवतीले त झन् खोप छुटाउनै हुँदैन ।’

खोप उत्पादन भएको सुरुवाती चरणमा अमेरिकालगायत मुलुकमा खोप लगाएका केहीमा समास्या देखिएको थियो । त्यसैलाई लिएर मानिसमा गर्भवती र सुत्केरीलाई खोप लगाउनु हुँदैन भन्ने अफवाह फैलाएको देखिन्छ । ‘नेपाल सरकारले कहिल्यै पनि गर्भवती र सुत्केरीले खोप लगाउन हुँदैन भनेर कहिल्यै भनेको छैन,’ उनले भने, ‘नागरिकले आफैंले आफैंलाई नियम बनाएका मात्रै हुन् । खोप लगाउँदा केही फरक पर्दैन ।’

डा. दीक्षितका अनुसार गर्भवती र सुत्केरीले उपलब्ध जुनसुकै कम्पनीको खोप लगाउन सक्छन् । स्वास्थ्यमा कुनै समस्या नभएका र १८ वर्ष उमेरभन्दा माथिका सबै गर्भवती र सुत्केरीले कोरोनाविरुद्धको जुनसुकै कम्पनीको खोप लगाउन सक्छन् । सरकारले पनि गर्भवती र सुत्केरी महिलाहरूलाई खोप सुरक्षित रहेको भन्दै उनीहरूलाई खोप दिने तयारी थालेको छ ।

जोखिमका आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि, सरकारले तयारी थालेको भनिए पनि खोप कहिले दिने भन्नेबारे निर्णय भइसकेको छैन । तर, खोप लगाउने मिति तोकिएपछि बिनाकुनै संकोच खोप लगाउन सरकारले आग्रह गरिसकेको छ ।

प्रतिक्रिया