शुक्रबार, वैशाख १४, २०८१

पंकज त्रिपाठीको उत्कृष्ट अभिनय, जसलाई बिर्सन मुस्किल !

नेपालखोज २०७८ भदौ २१ गते १४:४२

मुम्बई । पंकज त्रिपाठीको जन्मदिन हिजो (सेप्टेम्बर ५) हो । पंकज बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन जसको अभिनयले करोडौं मानिसलाई कायल बनाएको छ ।

अभिनेता पंकज त्रिपाठीले आफ्नो ४५औं जन्मदिन सेप्टेम्बर ५ मा मनाए । आफ्नो दमदार अभिनयका कारण आज पंकज करोडौं मानिसको मनमा बस्न सफल छन् । ‘मिर्जापुर’ देखि ‘स्त्री’ सम्म उनले हरेक चरित्रमा प्राण भरेका छन् । पंकज दिल्लीस्थित नाटय् महाविद्यालयका विद्यार्थी हुन् । जहाँ अनुपम खेर, ओम पुरी, नसिरुद्दिन साह, मनोज बाजपेयीदेखि लिएर नेपालका सुनील पोखरेल, अनुप बरालसम्मले अध्ययन गरेका थिए । पंकजको जन्मदिनका अवसरमा उनको उम्दा अभिनय हेर्न पाइने केही चलचित्रको कुरा गरौं :

गुडगाउँ : निर्देशक शंकर रमनको फिल्म ‘गुडगाउँ’ मा पंकज त्रिपाठीले सानदार काम गरेका छन् । यो चलचित्रमा उनले एउटा बिजनेस टाइकुनको भूमिका निर्वाह गरेका छन् । यो चलचित्र सन् २०१७ मा प्रदर्शनमा आएको थियो ।

कागज : यो फिल्म ‘कागज’ पंकज त्रिपाठीकै फिल्म हो । ‘कागज’ उत्तर प्रदेशको एक व्यक्तिको विचित्रको मार्मिक कथामा आधारित छ । जसले आफ्नो जीवनको १८ वर्ष नै साबित गर्न लगायो भने ऊ सरकारी कागजमा मरे पनि वास्तविकतामा जिउँदै छ ।

गुन्जन सक्सेना : यो चलचित्र पंकज त्रिपाठीले जाह्नवी कपुरको बुबाको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनी आफ्नी छोरीलाई आत्मनिर्भर बनाउन तयार गर्छन् । यो फिल्ममा उनको कामले धेरैको मन जितेको छ ।

मिमी : कृति सेननको चलचित्र ‘मिमी’ पंकज त्रिपाठीको दमदार अभिनयबिना अधुरो छ । कृतिका साथ पंकजको यो दोस्रो चलचित्र हो । उनीहरुले ‘बरेली की बर्फी’ मा पनि सँगै काम गरेका थिए ।

न्युटन : यो चलचित्रमा पंकजले दर्शकलाई खुब मनोरञ्जन गराएका छन् । यो फिल्मको मुख्य भूमिकामा राजकुमार रावले काम गरेका थिए ।

प्रतिक्रिया