‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन पाइँदैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको हो कि भनेर नागरिकस्तरमा आलोचना सुरु भएको बताएका छन् ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा आज गरेको अन्तर्क्रियामा उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन नमिल्ने बताए । उनले स्वतन्त्रताको वकालत गर्ने पार्टी कांग्रेस भएकाले यस्ता विषयमा सरकारले सोचेर मात्रै कदम चाल्नुपर्ने सुझाए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनको विषयमा गृह मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिनुपर्ने बताए । गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपतिजनक भएको उनको भनाइ छ ।
‘सरकारले जनताको दु:खमा साथ दिनुपर्छ । सधै जनाताको पक्षमा हुनुपर्दछ,’ उनले भने, ‘गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ । यसमा सरकार सच्चिनुपर्छ ।’
साथै नेता सिंहले अत्यन्तै प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलिन नहुने पार्टी नेपाली कांग्रेस भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि महाधिवेशन निष्पक्ष, धाँधलीरहित र स्वच्छ रुपले हुनुपर्ने धारण राखे ।
राष्ट्र संकटमा पर्दा जहिले पनि कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले देश र लोकतन्त्रका लागि कांग्रेस मजबुत हुनुपर्ने धारण राखे ।
नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरे पनि नतिजा राम्रो लिन नसक्ने उनको भनाइ छ । साथै उनले समयअनुसार पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताए । १३औं महाधिवेशनपछि कांग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक पद्धति पनि कमजोर भएको कम्युनिस्टहरुले संविधान र व्यवस्थामाथि नै प्रहार गर्ने खोजेको उनको भनाइ छ ।
‘लोकतान्त्रिक मूल्य-मान्यता जोगाउन कांग्रेस मजबुत हुनुपर्छ । त्यसका लागि सक्षम नेतृत्व आवश्यक छ,’ उनले थपे, ‘विधि पद्धतिका लागि सधैं आवाज उठाउने सक्षम नेतृत्व कांग्रेसमा आवश्यक छ ।’

प्रतिक्रिया