शुक्रबार, वैशाख १४, २०८१

कोभिड-१९ को दीर्घकालीन असर, बढी जोखिम कसलाई ?

डा. हेमराज कोइराला २०७८ भदौ २२ गते ७:५९

कोरोना भाइरसले हुने रोग कोभिड-१९ का कारण समस्त विश्व आक्रान्त छ । विश्वका सबै देशमा फैलिएको यो वैश्विक व्याधिबाट लाखौंले ज्यान गुमाइसकेका छन् भने करोडौंले यो रोगलाई जितेर घर फर्किसकेका छन् । तर कोरोना जित्ने १० देखि १५ प्रतिशत मान्छेमा यो रोगले निम्त्याएको गम्भीर स्वास्थ्य समस्या देखापरिरहेका छन् । विशेषगरी कोभिड-१९ का कारणले ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम’ भएकाहरूमा यो रोगको कारणले दीर्घकालीन असरहरू देखा पर्न थालेका छन् ।

कोभिडको संक्रमणपछि देखापर्ने विभिन्न समस्यामध्ये फोक्सोको कार्यक्षमता कम हुने, दम बढ्ने, खोकी गढ्ने र अन्य धेरै दीर्घकालीन असरलाई मान्न सकिन्छ । कोभिड भएरपछि फोक्सोको कार्यक्षमता कम भएकाहरूलाई मुटु, मष्तिस्क, मिर्गौला र कलेजोमा पनि समस्या देखापर्छ । यसैगरी यो रोगका कारणले आईसीयू बसेर घर फर्किएकाहरूमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर, चिन्ता र उदासीनताजस्ता समस्या पनि उत्तिकै देखापरिरहेका छन् । यसर्थ कोभिड-१९ जितेर घर फर्किएकाहरूलाई समेत यो रोगले दीर्घकालीन रूपमा असर गर्ने पो हो कि भनेर अशान्त बनाइरहेको छ ।

कोभिड-१९ का दीर्घकालीन स्वास्थ्य समस्या :
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणपछि केही व्याक्तिमा कोभिडकै कारणले एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम देखा पर्न सक्छ। यसरी एआरडीएस भएकाहरूलाई सघन उपचार कक्षमा हालेर उपचार गर्नुपर्ने हुन्छ । जसका कारण स्वास्थ्यमा धेरै दीर्घकालीन समस्याहरू देखा पर्न सक्छन् ।

बढी जोखिम कसलाई ?
कोभिड संक्रमित भएकाहरू सबैलाई कोभिड-१९ पश्चात् देखापर्ने दीर्घकालीन समस्याहरू देखा पर्दैन । तर चर्को रूपमा कोभिडले गालेकाहरू, कोभिडका कारणले इमर्जेन्सी, आईसीयू र भेन्टिलेटरमा बसेकाहरू, ६५ वर्षभन्दा धेरै उमेर भएका, दीर्घरोगका कारणले थला परेका, मुटु, मिर्गौला, कलेजो, फोक्सोको दीर्घकालीन रोगले ग्रसित भएकाहरू, कमजोर प्रतिरक्षा प्रणाली भएकाहरू, तौल ज्यादा भएकाहरू, आत्मघाती प्रतिरक्षा प्रणालीका रोगीहरू र मधुमेहका रोगीहरूका लागि कोभिडपछि देखापर्ने सिन्ड्रोम (लक्षण) देखिन सक्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया