आइतबार, जेठ ६, २०८१

‘धार्मिक आस्था बोकेको धारिलो घाँस कुश’

नेपालखोज २०७८ भदौ २२ गते ६:२८

काठमाडौं । हिन्दुधर्मालम्बीले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदै छ । भाद्र महिनाको अमावस्या बाबुको मुख हेर्ने पर्वका रूपमा चर्चित छ । हिन्दुहरूले पवित्र घाँसका रूपमा मान्ने कुशलाई विधिपूर्वक घरमा भित्र्याउने पर्व भएकाले पनि यो पर्वलाई कुशे औंसी पर्वको नामबाट समेत चिनिन्छ ।

‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीहरूले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने चलन छ । पिता गुमाएकाहरूले भने पवित्र स्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ । त्यसैले आजका दिन बिहानैदेखि गोकर्णेश्वर र बेत्रावतीलगायत पवित्र स्थलमा तर्पण, सिदा दान र श्राद्ध गर्नेको भिड हुन्छ । हरेक धर्ममा आ-आफ्नै चलन छ तर चलन जेसुकै भए पनि बुबाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ ।

वर्षभरिको देवकार्यका लागि आज कुश उखेलिन्छ
भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ । कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी) का दिन मनाइने पर्व हो । हिन्दुहरूले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घरघरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए । औंसीबाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ ।

बारीमा उम्रिएको एउटा ‘पवित्र झार’ जसलाई कुश भन्ने गरिन्छ, त्यो भाद्र महिनासम्म आइपुग्दा परिपक्व रूपमा विकास भइसकेको हुन्छ । त्यसैले यसलाई भाद्र महिनामै एक वर्षका लागि उखेल्ने गरिन्छ । भाद्र महिनालाई कल्याणको महिनाका रूप चिनिन्छ । यही पवित्र महिनाको अमावस्याको दिन विधिपूर्वक कुश उखेलेर घरमा भित्र्याउने पर्व भएकाले यस तिथिलाई कुशे औंशी मान्ने गरिएको प्रा.डा गौतमले बताए ।

कुशको महत्त्व
वैदिक सनातन हिन्दु संस्कारमा कुश एउटा अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पति हो । जसको वैज्ञानिक महत्त्व पनि प्रमाणित भइसकेको छ । वैज्ञानिक आधारमा भन्दा कुश एक किसिमको कुचालक घाँस हो, यसबाट विद्युत् प्रवाह हुँदैन । त्यसैले चन्द्र तथा सूर्य ग्रहणको समयमा खाना तथा पानीमा कुश मिसाउने गरिन्छ । ताकि ग्रहणको समयमा आएको हानिकारक किरण कुशमा ठोकिएर परावर्तन हुने गर्छ भन्ने वैज्ञानिक मान्यता छ ।

कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधि पनि बनाइन्छ । प्रा.डा गौतमका अनुसार कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, अथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । वैज्ञानिक रुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरू र अन्य सांस्कृतिक प्रयोगमा पिँढी, दरपिँढी हिन्दु धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरंग र विकिरणहरूलाई निस्तेज गर्ने विश्वास गरिन्छ ।

शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरू कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । त्यस्तै, ध्यान या पवित्र कर्म गर्दा कुशको चकटीमा बस्ने गरिन्छ । यसको अर्थ पनि कुचालक कुशको आसनमा बस्दा ध्यान र तपबाट पाएको ऊर्जा पृथ्वीमा गएर समाहित नहोस् भन्नकै लागि रहेको मान्यता छ । अमावस्याको दिन घर या मन्दिरको उत्तरपूर्वी भागमा गाईको घिउको बत्ती बाल्ने गरिन्छ । कपासको सट्टा रातो रङको धागो र केसर प्रयोग गर्नु राम्रो मानिन्छ । यसले लक्ष्मीलाई छिटै खुसी बनाउन सकिने मान्यता राखिन्छ ।

कुशको इतिहास
परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो । यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अब्बल मानिन्थ्यो । एउटा वैज्ञानिक प्रयोगका क्रममा एक मुठ्ठी कुशलाई विकिरणहरू माझमा राख्दा कुशले सम्पूर्ण विकिरणहरूलाई आफूबाट परिवर्तित गरेको पाइयो । यस प्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवनशैली प्रस्तुत गरेको छ ।

प्रतिक्रिया