ओलीले भने- नेपाल नेतृत्वको समाजवादी पार्टी प्युसो

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो नभएको बताएका छन् ।
यस्तै ओलीले माधव नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीलाई प्युसोको संज्ञा दिएका छन् ।
मंगलबार (आज)नेकपा एमाले कास्कीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, “ एउटा अत्यन्तै बेसरम व्यक्तिको नेतृत्वमा अहिले अभियान चलिरहेको छ, नेकपा एमालेलाई समाप्त पार्ने । यतातिर मन्त्रीको पद बेच्न आइरहेको तपाइहरुले पनि सुन्नुभयो होला । एक दुईवटा पार्टीका बिग्रिएका र माधव नेपालको पछि लागेका व्यक्तिहरु यहाँ पनि मन्त्री पद बेच्न आएका थिए । मन्त्री खाइदेउ न, प्रदेशको मन्त्री खाइदेउन भन्दै । खान जन्मिएकाहरु हौ, खाउ ।”
यस्तै उनले भने “माधव नेपाल पार्टीमा अड्नै नसक्ने, बस्नै नसक्ने । यो पार्टी नफुटी नसक्ने । जिल्ला, पालिकामा गएर हाम्रो जनप्रतिनिधी छ कि, कार्यकर्ता छ कि कसरी बिग्रान सकिन्छ भनेर लोप्पा दिने । लोप्पाबाहेक उनीहरुसँग राजनीति छैन । मेयरको उम्मेदवार दिएर के गर्ने, जित्ने त एमालेले नै हो,” उनले भने, “कांग्रेस त हामीसँग लड्न आँट गरेको छैन, अब माधव नेपालको प्युसो । उम्रिन पाएको छैन, एमालेसँग मुकाबला गर्ने सपना देख्छ ।”
उनले भने, “आज देश जागेको छ । देश एउटा शान्तिपूर्ण आन्दोलनमा छ, संघर्षमा छ । एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्वहरु पनि सक्रिय भएर लागेका छन । उनीहरुलाई आपत के छ भने, कुनैपनि शक्तिले एक्लै एमालेतिर हेर्न पनि सक्दैन, लड्ने कुरा छाड्दिउँ । त्यसकारण उनीहरुले, देउसी खेल्दा भन्छन नि, चारैदिशा, चारभाई जम्मा भनेजस्तो, कोही पूर्वतिर, कोही पश्चिमतिर, कोही तराइ, कोही कतातिर गरेर पाँचभाई जम्मा, पाँचभाई जम्मा भन्दैथिए । अहिले पाँचभाई नि पुगे क्यार ” ।
नेकपा एमालेका कार्यकर्ता देश बनाउन जन्मिएको र देश बनाउने अभिभारा एमालेको रहेको उनको भनाई छ । कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफ्नो पालामा विश्वले देख्नेगरि विकास भएको र त्यो विकास देख्न नसकेर नै सरकार ढालिएको बताए ।

प्रतिक्रिया