संविधान दिवस घरघरमा दीपावली गरी मनाइने

काठमाडाैं । राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ ।
सातौं संविधान दिवस २०७८ आगामी असोज २–४ गते राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको आजको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा. बैकुण्ठ अर्यालकाे अध्यक्षतामा मन्त्रालयमा आज (बुधबार) बिहान बसेको बैठकले विभिन्न सञ्चारमाध्यमले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झन्डा आ -आफ्ना घरघरमा सम्मानका साथ राख्न प्रचारप्रसारका लागि अनुरोध गर्ने भनी निर्णय पनि गरेको छ ।
काठमाडौँ उपत्यका र बाहिरका डिस्प्ले बोर्डमा शुभकामना सन्देश राख्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले समन्वय गर्ने अनुरोध पनि गरिने छ । नेपाली सैनिक मञ्च, टुँडिखेलमा हुने औपचारिक समारोहको प्रत्यक्ष प्रसारण भने नेपाल टेलिभिजन र रेडियो नेपालले गर्नेछन् । रासस

प्रतिक्रिया