राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म

नेपालखोज २०७८ भदौ २३ गते १८:१३

काठमाडौं । राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । बुधवार काठमाडौंमा केन्द्रीय तथ्यांक विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगन गरिएको राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको बताएको हो ।

अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रुपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना पुनः सञ्चालन गर्ने निर्णय गरेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

महानिर्देशक श्रेष्ठका अनुसार आगामी जनगणना १२औं शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, ८ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् । जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेर सम्पूर्ण घर, सम्पूर्ण परिवार र सम्पूर्ण व्यक्तिको गणना गरिने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जतिसक्दो छिटो गणकको छनोट गर्नुपर्ने बताए । गणकको छनोट गरे उनीहरुलाई दुई डोज नै कोरोनाविरुद्धकबो भ्याक्सिनलगाउन सकिने भन्दै उनले गणकले गणना गर्न जाँदा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने पनि बताए । सचिव भण्डारीले पूर्व निर्धारित समयमा जनगणना हुन नसक्दा खर्च पनि बढीरहेको बताए ।

केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भाद्र २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । पूर्व निर्धारित कार्यक्रमानुसार जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सम्पन्न गर्ने सरकारको योजना थियो । वि.सं १९६८ मा श्री ३ चन्द्र समशेर जबराको पालोबाट शुरु गरिएको राष्ट्रिय प्रत्येक १०/१० वर्षमा गरिन्छ । यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना समेत हो ।

प्रतिक्रिया