शनिबार, जेठ ५, २०८१

‘गीतमा लगानी गर्दा कलाकारले रिक्स पनि लिनुपर्छ’

‘हाम्रो सेन्सर बोर्ड नभएकाले पनि मानिसलाई तँ यो गर्, त्यो नगर् भन्ने अवस्था छैन । आफैंले बुझ्नुपर्छ ।’

प्रनिशा अधिकारी २०७८ भदौ २४ गते १३:१८

काठमाडौं । सामान्यतः तीज गीत भन्नेबित्तिकै मौलिक गीत तथा महिलाले आफ्नो वेदना भन्ने बुझिन्छ । पछिल्लो केही वर्षयता भने तीज गीत व्यावसायिक हुँदा मौलितालाई भन्दा पनि कमाइ हुने माध्यम बनाउन थालिएको छ ।

राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी भने यस्तो गीत आउन कमी हुन थालेको बताउँछन् । विगतमा यस्ता गीत आएका हुन् यो वर्ष अलि कम भएको उनको भनाइ छ । ‘एक दुईवटा त्यस्ता गीत पनि आए जसलाई हामीले अनुरोध गरेका थियौं । प्रतिष्ठानले अनुरोध गर्ने हो टेर्नेले मान्नुहुन्छ नटेर्नेहरूले ल्याउँछन्,’ उनी भन्छन्, ‘तर, यो भन्दै गर्दा विगतका गीतभन्दा यो वर्ष अलि मौलिक भएर आए । विगतमा तीज गीतका नाममा रत्यौलीलाई बढी मान्यता दिइयो । यो वर्षचाहिँ जति आए चेलीकै वेदनाका गीत आए ।’

प्रतिष्ठानले केही प्रसारण हुनुपूर्व हेरेका तथा आएका गीतलाई परिमार्जन गरेको उनी बताउँछन् । उच्छृंखल गीतलाई प्रतिष्ठानले बजारमा आउन नदिने प्रयास गरेको उनको भनाइ छ ।

उनी अगाडि भन्छन्, ‘यो वर्ष पनि त्यस्ता गीत आए जसले हामीलाई तनाव पनि दियो ।’ तर, तीजका भन्दै अरू गीत पनि यही समयमा निकालिएकाले भड्किला गीतको संख्या धेरै भएको हो ।

व्यावसायिकताको प्रवेश हुँदा केही कमी–कमजोरी हुने प्रतिष्ठानका अध्यक्षको बुझाइ छ । पैसाका कुरा जुन ठाउँमा घुस्छ त्यहाँ विकृति बढ्ने उनी बताउँछन् । कहिलेकाहीँ सस्तो लोकप्रियताका लागि पनि मानिस झुम्मिएको उनको भनाइ छ ।

‘कलाकार भनेको आफैंमा एक नैतिकवान् व्यक्ति हो, ऊ आफैं समाजको आदर्श हो, उसैका सम्पूर्ण कार्य समाजले पचाएको हुन्छ, त्यसैले संस्कारी कलाकारले आफ्नो समाजमा बाझिनेखालको काम गर्दैन,’ उनी भन्छन्, ‘तर, जो नाम होस् नाम नभए बदनाम होस् तर गुमनाम नहोस् जसरी भए पनि मान्छेले मलाई चिनुन् बरु गाली नै खान पनि तयार छु भन्ने सोचाइकाले गर्दा त्यस्ता सिर्जना आएका छन् ।’

कोरोना कहरका कारण गीत कम आएर भड्किला गीत पनि कम देखिएका त होइन भन्ने प्रश्नमा प्रतिष्ठानका अध्यक्ष बीजी भन्छन्, ‘यो पनि हुन सक्छ । गीतै कम आएपछि उच्छृंखल कम भएको पनि हुन सक्छ । कोरोनाका कारणले लगानी गर्ने अवस्था पनि छैन । जस्तोपायो त्यस्तै ल्याउँदा लगानी नै पो नउठ्ने हो कि भनेर पनि मानिसमा चेतना भएको हुन सक्छ । गीतमा लगानी गर्दा कलाकारले रिक्स पनि लिनुपर्छ ।’

तर, धेरै कलाकारलाई प्रतिष्ठानले सचेत पनि गराएको छ । केही क्षणिक समयका लागि ल्याएका यस्ता गीत आफ्नै घर–परिवारसँग बसेर हेर्न नसकिने खालका नल्याउन प्रतिष्ठानले आग्रह गर्दै आइरहेको छ ।

‘भड्किला तीज गीतको संख्यामा कमी आएको हो ?’

‘अब विस्तारै तीज गीतमा रहेको विकृति हट्दै जान्छ । हामी जसरी जहाँ पुगे पनि आखिरमा फर्किने आफ्नै संस्कार–संस्कृतिमा हो । यसलाई हामीले सकारात्मक तरिकाले हेर्न जरुरी पनि छ,’ उनी भन्छन्, ‘अब विस्तारै राम्राले मात्र स्थान पाउँछ । राज्यले पनि हाम्रो अनुरोधलाई बुझ्ला । संस्कृति जोगाउन पहल गर्ला भन्ने सकारात्मक सोच राखौं ।’

गायिका राधिका हमाल भने कुनै सरकारी निकाय नभएकाले यस्तो देखिएको बताउँछिन् । लोकदोहोरी प्रतिष्ठानले सक्नेसम्म गरेको छ । कति गीत परिमार्जन भएका पनि छन् । उनी अब सबैले भड्किला गीत आए भन्ने होइन कतिवटा मौलिकताका गीत आए त्यसलाई मात्र प्राथमिकता दिनुपर्छ ।’

भड्किला गीतलाई खोजी–खोजी ठाउँ दिनुपर्ने जरुरी नभएको उनको भनाइ छ । ‘यस्ता भड्किला गीत–संगीतलाई दर्शक–स्रोता आफैंले साइड लगाउन थाल्नुभएको छ । कमेन्ट तथा बहिष्कारले नै यस्ता सिर्जना मौलाउन छाड्छन् । यही नै सजाय पनि हो,’ उनी भन्छिन्, ‘ठूलो सजाय दिने, बहिष्कार गर्ने सरकारी निकाय हामीसँग छैन । नितान्त व्यक्तिगत गीत आउँदा सेन्सर बोर्ड नहुँदा यस्ता गीत–संगीत फस्टाएका हुन् ।’

सेन्सर बोर्डभन्दा पहिला आफैंमा सचेत हुन जरुरी रहेको उनी बताउँछिन् । राम्रो गीत गाउने कलाकार पनि भएको भन्दै उनी एक–दुई जनाले नराम्रो गरेको मात्र औंल्याउन नहुनेमा उनको जोड छ । राम्रालाई नखोज्ने तर नराम्राचाहिँ खोजी–खोजी हेर्ने भएकाले पनि यस्तो भएको उनको भनाइ छ । यसले गर्दा यस्ता नराम्रा गीत–संगीतले झन् स्थान पाएको उनको बुझाइ छ ।

नराम्रा गीत–संगीतलाई हामीले कुनै ठाउँ नदिने हो भने आफैं हराएर जाने उनको भनाइ छ । ‘यस्ता गीत त धेरै आउँथे यो आएका त केही पनि होइन तर हामीले यसलाई रोकेका छौं । प्रतिष्ठाले यो काम एकदम राम्रो गरेको छ । के प्रतिष्ठानलाई नमान्नेले मात्र हो त यस्ता गीत बजारमा आएका भन्ने प्रश्नमा उनी भन्छिन्, ‘प्रतिष्ठानलाई सबैले मान्छन्, यो भनेको कलाकारहरूकै लागि हो, तर सरकारको काम प्रतिष्ठानले गरिदिएको छ । अब कलाकारसँगै दर्शक–स्रोता पनि सचेत भएकाले भड्किला गीत पनि कम आउन थालेको छ ।’ दर्शक–स्रोताले सही–गलत आफैं छुट्याए गीत–संगीत शुद्धीकरण भएर जाने उनको भनाइ छ ।

केही वर्षदेखि भड्किला बनेका तीजका गीत यो वर्ष कम बनेको गायिका शान्तिश्री परियार बताउँछिन् । ‘पछिल्ला वर्षभन्दा पनि केही वर्षदेखि नै भड्किला भएका छन् । मलाई त बरु अहिलेचाहिँ केही कन्ट्रोल (सुधार) भएको जस्तो लाग्छ । पोहोर–परारभन्दा केही कमी भएको हो कि जस्तो लाग्छ ।’ ‘मनिसले जुन भड्किलो कुरालाई लिएर क्षणिक रूपमा रमाउन खोज्यो त्यसको चाहिँ एकदमै छोटो आयु हुँदो रहेछ भन्ने बुझें । त्यस्तो थोरै समय रहनुभन्दा बरु थोरै गाएरै पनि लामो समयसम्म रहने गाउँ भन्ने बुझ्नुभएको हो जस्तो लाग्छ ।’

उनी भन्छिन्, ‘यसमा अरूले गरेन भन्नुभन्दा पनि आफूले आफैंलाई मूल्यांकन गर्न जरुरी छ । मैले कस्तो काम गर्दा राम्रो हुन्छ स्वयंले मूल्यांकन गर्नुपर्छ । हाम्रो सेन्सर बोर्ड नभएकाले पनि मानिसलाई तँ यो गर्, त्यो नगर् भन्ने अवस्था छैन । आफैंले बुझ्नुपर्छ ।’

प्रनिशा अधिकारी

अधिकारी नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया