शनिबार, वैशाख १५, २०८१

के रातो कमिलाको चटनी कोभिडको उपचारमा प्रयोग गर्न सकिन्छ ?

नेपालखोज २०७८ भदौ २५ गते २०:३३

काठमाडौं । भारतको सुप्रिम कोर्टले रातो कमिला र हरियो खुर्सानी पिसेर तयार गरिएको अचार (चटनी) लाई कोरोनाको उपचारका रुपमा प्रयोग गर्न अनुमति माग्ने उडिसा भारतको एक आदिवासी समुदायका सदस्य नयधर पाधियालको याचिका खारेज गरिदिएको छ ।

सुप्रिम कोर्टले हिजो (बिहीबार) गरेको एक फैसलामा भनेको छ- अदालतले देशमा कोभिड-१९ को उपचारका लागि कुनै परम्परागत चिकित्सा वा घरेलु उपचारलाई प्रयोगमा ल्याउने आदेश दिन सक्दैन । सुप्रिम कोर्टको फैसलासँगै घातक कोरोना भाइरसको संक्रमणको उपचारमा रातो कमिलाको चटनी (अचार) प्रयोग गर्ने निर्देशन दिन आग्रह गरिएको याचिका खारिज गरिएको छ ।

तीनजना न्यायाधीशको इजलासले आफ्नो फैसलामा भनेको छ, ‘हामीकहाँ अनेकौं परम्परागत चिकित्सा प्रचलित छन् । यहाँसम्म कि हाम्रै घरमा पनि परम्परागत चिकित्सा हुन्छ । यस्तो उपचारको परिणाम हामी स्वयंले भोग्नुपर्ने हुन्छ । हामी पूरा देशमा यस्तो परम्परागत चिकित्सा लागु गर्न भन्न सक्दैनौं ।’

उडिसाको आदिवासी समुदायका सदस्य नयधर पाधियालले उडिसा हाई कोर्टमा दिएको याचिका खारेज भएपछि उनले सुप्रिम कोर्टमा उक्त फैसलाविरुद्ध चुनौती दिएका थिए । तर सुप्रिम कोर्टले उनको कोभिडको उपचारमा रातो कमिलाको चटनीको फर्मुला अस्वीकार मात्र गरेन उनलाई कोरोनाको खोप लगाउनसमेत भन्यो ।

यो समस्या तब सुरु भएको थियो जब उडिसा हाई कोर्टले आयुष मन्त्रालयका महानिर्देशकका साथै वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआईआर) लाई तीन महिनाभित्र रातो कमिलाको अचार कोभिड-१९ को उपचारका रुपमा प्रयोग गर्ने विषयमा निर्णय लिन भन्यो ।

आदिवासी नयधरको याचिकामा रातो कमिला र हरियो खुर्सानी मिसाएर बनाइएको चटनी उडिसा र छत्तीसगढसहित भारतका आदिवासी क्षेत्रमा ज्वरो, खोकी, चिसो लाग्दा, थकान, श्वासको समस्याका साथै अन्य बिरामीहरुमा औषधिका रुपमा प्रयोग हुने कुरा उल्लेख गरिएको छ ।

रिटमा दाबी गरिएअनुसार ‘रातो कमिलाको चटनी’ औषधीय गुणले भरिपूर्ण हुन्छ, यसमा पर्याप्त मात्रामा फर्मिक एसिड, प्रोटिन, क्याल्सियम, भिटामिन बी १२ तथा जिंक हुन्छ । यही तर्कका आधारमा उजुरीकर्ताले कोभिडको उपचारमा यसको प्रभाव जाँच गर्न अदालतबाट आदेश जारी हुनुपर्ने माग गरेका थिए ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया