शुक्रबार, वैशाख १४, २०८१

‘नेपालमा तत्काल ठूलो वेभ आउने सम्भावना छैन’

डा. समीरमणि दीक्षित २०७८ भदौ २६ गते ११:०४

नेपालमा अब पोहोरको जस्तो अवस्था दोहोरिँदैन । पोहोर साल खासगरी दसैँ-तिहारमा कोरोनाको संक्रमण घट्ने क्रममा लागिसकेको थियो । सरकारले जतिसुकै भने पनि त्यत्रो जात्राहरू भए । निषेधाज्ञा खुकुलो भइसकेको थियो । मान्छेहरूले ओहोरदोहोर गरी नै राखेका थिए । बाहिर जानेहरू गई नै रहेका थिए । काठमाडौंबाट गाउँ जाने र गाउँबाट काठमाडौं आउने मान्छेहरू पनि प्रशस्तै थिए । त्यसले कोरोनालाई केही पनि फरक पारेन । उल्टो संक्रमणदर ओरालो लागेको थियो होइन र ? यो उग्ररुपमा पुगिसके पछि ओरालो लाग्छ लाग्छ । अहिले पनि निषेधाज्ञा खोकुलो भएको झन्डै-झन्डै दुई महिना भइसक्यो । यो अवधिमा मानिसहरू धेरै ओहोरदोहोर गर्न थालिसके ।

सुरुको दुई साताजति अलिकति संक्रमणदर उकालो लागेजस्तो देखिएको थियो । त्यसपछि फेरि ओरालो लागिसकेको छ । त्यसकारण अझै दसैँ-तिहारमा बढी भिड भएर सामान्य उकालो लाग्न सक्छ । तर जुन लेबलमा माथि पुगेर हामी तल झरेका थियौं मेरो विचारमा अब त्यो लेबलमा संक्रमण बढ्ने क्रम हुँदैन । नेपालमा जोखिम केही भए पनि धेरै कम भएको छ । तर, अझै सम्पूर्ण मापदण्डहरूको भने पालना गर्नुपर्छ ।

बढी भिड गर्नु भएन, मास्क लगाउन, दूरी कायम गर्न बिर्सिनु हुँदैन । यो गर्न छाड्यो भने फेरि जोखिम बढ्न सक्छ । त्यस्तै आफूलाई संक्रमण भएको हुन सक्ने शंका लाग्नासाथ परीक्षण गर्नुपर्‍यो । यदि संक्रमण देखियो भने आफूलाई आइसोलेट अनिवार्य गर्नुपर्‍यो । यी कुराहरूमा त सबै नागरिक जिम्मेवार हुनैपर्छ । अर्को कुरा यतिबेला मौसमी रुघाखोकीको सिजन सुरु भएको छ । त्यसले एकदमै दुः ख दिने काम गर्छ । यसको सिजन यही हो । यसका लक्षणहरू पनि कोरोनासँग मिल्दा-जुल्दा हुन्छन् । त्यसैले यसले त झन् शंका लागे परीक्षण गर्न एकदमै जरुरी छ । मलाई रुघाखोकी मात्रै लागेको हो नि भनेर बस्न पनि भएन । तर, मुख्य कुरा अब कोरोनाको एकदमै ठूलो लहर आउने जोखिम तत्कालै म देख्दिनँ ।

नेपालमा अझै जोखिमचाहिँ त छ तर कम छ । जोखिम त जहिले पनि हुन्छ । यतिबेला हामीले भ्याक्सिन लगाउने कामलाई पनि तीव्र रुपमा अगाडि बढाएको र धेरै नागरिकमा एन्टिबडी विकसित भइसकेकोलगायत कुराहरूले नागरिकमा केही हिसाबले सुरक्षा प्राप्त भएको छ, प्रतिरक्षा प्रणालीको । तर पनि सबैले अझै खोप लगाइ सक्नुभएको छैन । सबै संक्रमणबाट पार हुनुभएको छैन । उहाँहरूले अहिले पनि विशेष ध्यान दिनुपर्छ कि मैले खोप पनि लगाएको छैन । मलाई पहिला संक्रमण पनि भएको छैन भने मैले विशेष ध्यान दिएर वा मास्क लगाएर मात्रै हिँड्डुल गर्नुपर्छ ।

नेपालका धेरै मानिस संक्रमित भएर निको भइसकेका छन् । सरकारका अनुसार २५ जना संक्रमितमध्ये एकजनाले मात्रै आफूलाई संक्रमण भएको थाहा पाएका थिए । किनकि तीमध्ये एकजनाले मात्रै परीक्षण गराएका थिए । बाँकी २४ जनाले परीक्षण नै गराएनन् । गाउँघरमा त अझै धेरै नागरिकहरूले परीक्षण नै गराएका छैनन् । काठमाडौंमा पनि युवा पुस्ताले कमै मात्रामा परीक्षण गराएका छन् । भनेपछि धेरै जनसंख्यामा कुनै न कुनै तरिकाबाट पहिला एक पटक संक्रमण भइसकेको छ । उहाँहरूमा दोस्रोपटक संक्रमण कडा हुने सम्भावना कम हुन्छ । र, खोपले गर्दा पनि नेपालमा कोरोना संक्रमणको जोखिम धेरै हदसम्म कम भएको छ ।
नेपालखोजका लागि मीना साउँदले जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितसँग गरेको कुराकानीमा आधारित ।

प्रतिक्रिया