दुर्गमका बालबालिकालाई छात्रवृत्ति !

काठमाडौं । केही दिनअघि खबरहरुमा बैतडीका तीन नाबालक बालिकाबारे खबर आयो । भोक लाग्दा माटो खान्छन् यी टुहुरा बालिकाहरु भन्ने । १०, ९ र ५ वर्षका रोगी र विपन्न आमाका ती बालिकाहरुलाई बेल्जियमस्थित ‘हाम्रो सेवा समूह’ बाट हरिकृष्ण लभलीले हाललाई एक वर्षका लागि खाद्यान्न र अन्य सहयोग जुटाए ।
यो खबर नाइजेरियाबाट हिक्मत थापाले आफ्नो फेसबुकमा पोस्ट गरे र अफ्रिकाको बोत्स्वानाबाट पदम भण्डारीले उनीहरुको स्कुल शुल्क, स्टेसनरी र पोसाकको खर्च जुटाइदिने इच्छा राखे । स्कुलै नदेखेका ती नानीहरु अब स्कुल भर्ना हुने खबर प्राप्त भएको छ ।
त्यसो त काठमाडौं ल्याएर उनीहरुलाई पठनपाठन गराउने प्रस्ताव पतञ्जली योग केन्द्रमार्फत अशोक आलेले पनि थापाको उक्त पोस्ट्मा राखेका थिए । तर बैतडीमा सहयोगको समन्वय गरिरहेका पत्रकार वीर गदालका अनुसार आमाले नानीहरूलाई आफैंसँग राखेर गाउँकै स्कुलमा पढाउने मनसाय राखिन् ।
त्यसैगरी कर्णाली प्रदेशअन्तर्गत पश्चिम रुकुम, मुसीकोटका विपन्न र टुहुरा तर मेधावी एक छात्राले स्कुल शुल्कको अभावमा उच्च शिक्षा पढ्नबाट वञ्चित भएको खबरसहित अफ्रिकाको सेसेल्स एनआरएनका तर्फबाट रामप्रसाद पन्तले उनको पढाइ खर्च जुटाउन प्रस्ताव गरे । हिक्मत थापाले मेधावी छात्रा लाली विकलाई सहयोग जुटाउन अफ्रिकाका एनआरएनहरुको समूहमा प्रस्ताव राखे । त्यसमा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले थप प्रस्ताव गरे छात्रवृत्ति कोष नै बनाउँ भनेर । जसले दूरदराज नेपालका केही भए पनि विपन्न र मेधावी बालबालिकाको शैक्षिक यात्रामा सहयोग गर्न सकियोस् र एनआरएन अफ्रिका छात्रवृत्ति कोषको जन्म भयो ।
सहयोगको सुरुवात भयो । रोशन थापाबाट सुरु भएको सहयोगमा पदम भण्डारी (निवर्तमान अध्यक्ष, बोत्स्वाना) कृष्ण डुम्रे (आइभोरी कोस्ट), वीरेन्द्र गुप्ता (अध्यक्ष, नाइजेरिया), पुष्पराज भट्टराई (अध्यक्ष, तान्जानिया) र हिक्मत थापाले सहयोग थपे सुरुमै ।
पहिलो छलफलमै चार लाख जुटेको यो कोषलाई २० लाख पुर्याउने लक्ष्य राखियो । जसमा अफ्रिकाका नेपालीहरु, अफ्रिकी शुभचिन्तक र अन्य देशका एनआरएन र अफ्रिकाका सबै एनआरएनए एनसीसीमार्फत सहयोग जम्मा गर्दै कोषलाई अघि बढाउने सल्लाह भयो । अब कोषले माथिका दुई छात्रवृत्ति पनि यसै कोषमार्फत पठाउने र थप छात्रवृत्ति दिँदै जानेछ ।
यसअघि अफ्रिकाका एनआरएनहरुको आफ्नै पहल र सहायतामा सञ्चालनमा रहेको एनआरएन अफ्रिका राहत कोषले अफ्रिकामा दुःखमा परेका नेपालीलाई उल्लेख्य सहयोग गरिरहेको छ । अलपत्र परेका नेपालीलाई बस्न, खान र घरफिर्तीको व्यवस्था यसले गरिरहेको छ ।
कोरोनाकालमा गत वर्ष कोराना संक्रमितलाई स्वास्थ सेवा, खाद्यान्न सहयोग, काम छुटेकालाई घर फिर्तीको व्यवस्था पनि यसले गरेको छ । साथै कोरोनाबाट अफ्रिकामा मृत्यु भएका नेपालीको नेपालस्थित परिवारलाई कम्तिमा अफ्रिकाका नेपालीको माया र राहत स्वरुप एक लाख रुपैयाँ सहयोग दिँदै आएको छ । गत महिना मात्र युगान्डामा मृत्यु भएका तनहुँका हीराबहादुर खड्कीको परिवारलाई तीन लाख दश हजार रुपैयाँ सहयोग गरेको थियो । यो मृतकका परिवारलाई दिइएको कोषको चौथो सहयोग हो ।
अफ्रिकाका एनएनआरएन शाखाहरुले कोरोनाको दोस्रो चपेटामा नेपाल परिरहँदा इलामदेखि मुगुसम्मका १३ जिल्लाका ३५ स्वास्थ्य संस्थाहरुमा १३०० अक्सिजन सिलिन्डर तत्काल ठाउँमै पुर्याएर गरेको सहयोग झनै उल्लेख्य थियो । एनआरएनए केन्द्रले खासै यो सहयोगलाई महत्त्व नदिए पनि एनआरएनएको नाममा अहिलेसम्म ठाउँमै र समयमै पुगेको अत्यावश्यक यो पहिलो सहयोग हो ।
झन् दुर्गम जुम्ला र मुगुमा पुगेको पनि जसमा थोरै नेपाली भएका र सीमान्तकृत अफ्रिकाका नेपालीहरुले एनआरएनए अफ्रिकाको नाममा ६० लाख रुपैयाँबराबरको सहयोग जुटाएर दुर्गमका स्वास्थ्यचौकीमा अक्सिजन सिलिन्डर पुर्याएका थिए । यो अफ्रिकाका एनआरएनहरुको दोस्रो कोषबाट पनि थोरै भए पनि दुर्गमका विपन्न विद्यार्थीहरुको पढ्ने चाहनालाई मूर्त रुप दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया