शनिबार, वैशाख १३, २०८२

चाडपर्वमा सवारीसाधनको बजार सुध्रिने आशा

नेपालखोज २०७८ भदौ २८ गते १३:०२

कोरोनाका कारण निजी सवारी चढ्न चाहनेहरु ह्‌वात्तै बढेको कतिपयको दाबी छ । यसपटक थुप्रै नयाँ मोडलका सवारी पनि लन्च भएका छन् ।

काठमाडौं । नेपाल आयात हुने प्रमुख वाहन कम्पनीका एजेन्टहरु यसपटकको दसैँ-तिहारमा सवारीसाधनको बजार राम्रो रहने कुरामा आशावादी छन् । लकडाउन हटेर बजारको स्थितिमा केही सुधार आएको समयमा फेस्टिभ सिजन सुरु भएकाले पनि निजी कार तथा मोटरबाइकहरुको माग राम्रो रहने उनीहरुको अपेक्षा छ । लामो समयदेखि अवरुद्ध बजारमा सवारीसाधनका खरिदार बढी नै हुने अनुमान सम्बद्ध व्यवसायीहरुको अनुमान छ ।

अहिले कोरोना महामारीका कारण बढी भन्दा बढी मानिस घरमा कुनै न कुनै निजी सवारीसाधन होस् भन्ने चाहन्छन् ताकि भिडबाट जोगिन सकियोस् । यस्तो स्थितिमा सवारीसाधनको बिक्री बढ्नु स्वभाविक पनि हो ।

भनिन्छ यसपटक मागको तुलनामा आपूर्तिको स्थिति कमजोर रहन सक्छ । नेपालमा अधिकांश गाडी भारतबाट आपूर्ति हुन्छ र बिक्रीमा पनि भारतीय सवारीसाधनकै वर्चस्व छ । अहिले भारतमै पनि फेस्टिभ सिजन सुरु भएकाले त्यहाँ पनि सवारीसाधनको माग बढेको छ । अर्कातिर कोरोना महामारीका कारण उत्पादन भने अपेक्षाअनुरुप हुन नसकेको बताइन्छ । त्यसमाथि वाहन नेपालसम्म ल्याइपुर्‍याउन पनि विभिन्न अवरोधको सामना गर्नुपर्ने अवस्था छ । यसबीच कोरोना महामारीको तेस्रो लहरको हल्लाले पनि यो व्यापारलाई हल्लाउन सक्छ ।

नेपालमा यसपटकको अनुमानमा गाडीमा एसयूभी र बाइकमा पावरफुल बाइकको माग बढी हुन सक्छ । यही क्रममा यसपटक बजारमा विभिन्न कम्पनीका नयाँ-नयाँ मोडलसमेत देखिने अपेक्षा छ जसको सुरुवात पनि भइसकेको छ ।
-तस्बिर : चाइना डेली

प्रतिक्रिया