बिहीबार, चैत १५, २०८०

‘बीपीको विचारबाटै राष्ट्रियता र प्रजातन्त्रको संवर्द्धन हुन्छ’

ओम आचार्य २०७८ भदौ २९ गते १३:०६

बीपी कोइराला २०३३ सालमा एकाएक भारतको निर्वासित जीवन छोडेर ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ भन्द‌ै नेपाल प्रवेश गरे । उनको नेपाल प्रवेशलाई तत्कालीन व्यवस्था ले ‘चुनौती’ मान्यो र उनलाई रोक्न हरसम्भव प्रयास गर्‍यो । तर बीपीको दृढ निश्चय, उच्च मनोबल र राष्ट्रप्रेमका सामु उनलाई चुनौती मान्नेहरु निरिह भए । बीपीको त्यो राष्ट्रिय मेलमिलाप कुन पृष्ठभूमि र कुन परिवेशमा जन्मिएको थियो त्यो तत्कालीन शासकहरुले बुझ्न सकेनन् वा बुझ्न चाहेनन् । त्यसैको परिणति आजको वर्तमान अवस्था हो । यो अवस्थालाई आमन्त्रण गर्नेमा नेपाली कांग्रेसको नेतृत्व लिएर बसेकाहरु पनि त्यति नै जिम्मेवार छन् जति पूर्वका शासक ।

राष्ट्रिय एकता तथा मेलमिलाप बीपी नेपाल प्रवेश गर्दाको तत्कालीन समय र परिस्थितिमा जति औचित्यपूर्ण थियो । अहिले बीपीको त्यो दर्शन अझ सार्थक र औचित्यपूर्ण देखिँदै छ । २०३३ सालमा त्यो दर्शन त्यो नीति नबुझेका वा बुझ्न नचाहेका वा बुझेर पनि ग्रहण नगरेकाहरुले जुन दुर्घटना देखे अब त्यसो नगर्लान् । नेपाली कांग्रेसले पनि बीपीको नीति र दर्शनलाई कांग्रेसको पहिचान नबनाएकाले कांग्रेस आजको अवस्थामा पुगेको हो ।

नेपाली कांग्रेसले प्रत्येक पुस १६ गते मेलमिलाप दिवस मनाउँछ । जहाँ बीपीको तस्बिरमा माल्यार्पण गरिन्छ तर त्यो मञ्चमा बीपीको मेलमिलापको नीतिको व्याख्या भने हुँदैन, त्यो दर्शनको चर्चा हुँदैन । अहिले युवापुस्ता नेपाली कांग्रेसको नेतृत्व लिन खोज्दै छ तर यो पुस्ताले बीपीको विचार र दर्शन कति बुझेको छ वा कति अरुलाई बुझाउन सक्छ ?

अहिले गाउँ-गाउँमा, जन-जनमा, कार्यकर्ताहरुमा बीपीको विचार पुर्‍याउनुपर्ने आवश्यकता अझ टड्कारो भएर गएको छ । आज नेपालमा मार्क्स, लेनिन, स्टालिन, माओ आदिको विचार सबैतिर सम्प्रेषित छ । यही विचारले नेपाल पोषित हुन खोजिरहेको छ यही विचारको साहित्य र राजनीतिले ठाउँ लिन खोजिरहेको छ । यो एउटा दुर्भाग्य पनि हो किनभने संसारबाट उखेलिएको, फ्यालिएको अनि असफल भएको विचारलाई हामी बोकेर हिँडिरहेका छौं । हाम्रो पुस्ताले बोकेर हिँडिरहेको छ तर हामी उनीहरुलाई त्यो गलत बाटो हो भनेर सम्झाउन- बुझाउन असफल छौं ।

नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरुले बीपीको विचार बोकेको भए, मनन् गरेको भए, धारण गरेको भए कुनै पनि नेताले कहीँ पनि शिर निहुराउनु पर्दैनथ्यो, कहीँ पनि झुक्नु पर्दैनथ्यो । र कहीँ पनि चरित्रमा दाग लाग्दैनथ्यो । ऊ निर्भय हुन्थ्यो । ऊ विचारबाट यति सम्पन्न हुन्थ्यो । यति बौद्धिक हुन्थ्यो कि कहीँ पनि बौद्धिक दरिद्रता, विचारको दरिद्रता प्रकट गर्नु पर्दैनथ्यो ।

नेपाली कांग्रेसले आफ्ना महामानव, नेता, जननायक बीपीलाई चिनाउन सकेन । जनस्तरसम्म पुर्‍याउन सकेन । बीपीबाट लेखिएको थुप्रै साहित्य, बीपीबारे लेखिएका कृति, आत्मावृतान्त, जेल जर्नल, मेलमिलाप सम्बन्धी पुस्तक, उनको विचार-दर्शन जन-जनमा, घर-घरमा पुर्‍याउने काम कहिल्यै गरेन । नेपाली कांग्रेसले ठूलो परिमाणमा ती पुस्तकहरु प्रकाशन गरेर प्रत्येक घरमा पुर्‍याउन पर्छ, नेपालका प्रत्येक धुरीमा बीपीको विचार-दर्शन पुर्‍याउनु जरुरी भइसकेको छ ।

विश्वमा धर्म, विचार र दर्शन कसरी अघि बढिरहेको छ ? कसरी साम्राज्य विस्तार भइरहेको छ ? त्यसको प्रमुख आधार विचार-दर्शन नै हो । तिब्बतमा अहिले जुन धर्मको चर्चा गरिन्छ त्यो सबैभन्दा पछि आएको हो त्यो पनि दाइजोमा । बुद्धको दर्शन उत्तर कोरिया, जापान, चीन, कम्बोडिया सबै ठाउँमा पुगेपछि अन्त्यमा तिब्बत पुगेको हो । नेपालका (एकीकरणपूर्वका) राजा अंशुबर्माले आफ्नी छोरी भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पोसँग गराउँदा बुद्धको मूर्ति र बौद्ध साहित्य दाइजोमा दिएका थिए । जब तिब्बतका राजाले बौद्ध साहित्य अध्ययन गरे तब सदाका लागि बुद्धको भए अर्थात बुद्धिष्ट भए । जब राजाले नै बौद्ध धर्म स्वीकार गरे त्यसपछि हेर्दा-हेर्दै सम्पूर्ण तिब्बत ‘बुद्ध शरणं गच्छामी, धम्मं शरणं गच्छामी’ भयो ।

कोरियाका राजा जापानसँग खुब डराउँथे । अत: उनले सन्धि प्रस्तावका रुपमा एक-दूतलाई भगवान् बुद्धको विग्रह, पूजा पद्धति र उनका कथाहरु जापानको राजालाई पठाए र केही दिनभित्रै बुद्ध धर्म कोरियाबाट जापान पुग्यो । मार्क्स, लेनिन, माओ पनि त्यसरी नै प्रचारित भएका हुन् । त्यसरी नै यिनीहरुका अनुनायी बढेका हुन् ।

नेपाली कांग्रेसको नेतृत्व लिएर बसेकाहरुले, केन्द्रीय समितिका पदाधिकारीहरुले यी कुरा र उदाहरणलाई गम्भीरतापूर्वक लिनुपर्छ । बीपीको विचार-दर्शन त्यसै पनि जीवन्त छ । प्राण प्रतिष्ठित छ यसमा कुनै शंका छैन कुनै संशय छैन । बीपीलाई अर्थात् बीपीको विचारलाई घर-घरमा पुर्‍याउनुस् नेपाल त्यसै उदार, प्रजातान्त्रिक र समाजवादी हुनेछ, बीपीमय हुनेछ ।

प्रतिक्रिया