शुक्रबार, वैशाख ७, २०८१

‘२० दिन विद्यालय खोलेर शुल्क उठाउने बहाना !’

मीना साउँद २०७८ भदौ २९ गते १७:२२

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलिएसँगै बन्द भएका विद्यालय पछिल्लो समयमा भने खुल्न थालेका छन् । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराइ अध्यापन गराए कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै करिब २ वर्षदेखि विद्यालयहरू बन्द छन् । यद्यपि, कोरोना संक्रमणको पहिलो लहर कम भएपछि संक्रमणको अवस्था हेरेर केही विद्यालय सञ्चालन गरिएका थिए । तर, फेरि कोरोनाको दोस्रो लहर फैलिएपछि विद्यालयहरू ठप्प छन् ।

कोरोना संक्रमण फैलिएपछि वैकल्पिक शिक्षण पद्धति अनलाइन माध्यमलाई प्राथमिकता दिइएको छ । सहर–बजार तथा इन्टरनेटको सुविधा भएका स्थानका बालबालिकालाई अनलाइनको माध्यमबाट अध्यापन गराइँदै आएको छ । तर इन्टरनेटको सुविधा नभएका विकट क्षेत्रका बालबालिकाका लागि अनलाइन शिक्षण पद्धति प्रभावकारी भने बन्न सकेको छैन ।

इन्टरनेटको माध्यमबाट पढिरहेका बालबालिकालाई पनि अनलाइन कक्षाबाट शिक्षकले पढाएको नबुझ्ने समस्या बढी छ । अर्कोतर्फ अनलाइनबाट पढिरहेका धेरै बालबालिका कक्षा लिनै मन नपराउने, कक्षामा बस्न दिक्क मान्नेलगायत समस्या देखिएका छन् । नियमित विद्यालयमा पठनपाठन गरिरहेका बालबालिकामा लामो समयसम्म विद्यालय जान नपाउँदा मानसिक समस्याका साथै कुलतमा लाग्ने, सामाजिक सन्जालको लत लाग्नेजस्ता समस्या देखापरेका छन् ।

यता अविभावकहरू पनि विगत २ वर्षदेखि आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाउन नपाएर उनीहरूको आगामी भविष्यका लागि चिन्तित छन् । विद्यालय सञ्चालन भए बालबालिकामा संक्रमणको जोेखिम हुन सक्ने भन्दै विद्यालय पठाउने वा नपठाउने भन्ने कुराको दुविधामा छन् । गत वर्ष पहिलो लहरको संक्रमणको जोखिम केही कम भएपछि जोखिमको अवस्था हेरेर धेरै ठाउँका विद्यालय सञ्चालनमा आएका थिए । तर, विद्यालयहरूमा विद्यार्थीको भौतिक उपस्थिति निकै न्यून थियो । धेरै अविभावकले संक्रमणको डरका कारण आफ्ना बालबालिका विद्यालय पठाएका थिएनन् ।

अहिले फेरि दोस्रो चरणको कोरोना लहरपछि संक्रमणको जोखिम कम हुँदै गएको भन्दै अवस्था हेरेर विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएसँगै विद्यालयहरू धमाधम खुल्न थालेका छन् । काठमाडौं उपत्यकाका विद्यालयहरू पनि आगामी असोज १ देखि संक्रमणको अवस्था हेरेर खोल्न सक्ने बताइएको छ । तर, कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको र नेपालीहरूका ठूला चाड पनि आउँदै गरेका कारण चाडपर्वमा बढी भिड हुन गई संक्रमण फेरि बढ्न सक्ने जनस्वास्थ्यविदहरूले बताइरहेका छन् ।

अर्कोतर्फ विद्यालयहरू सञ्चालनमा आए साना बालबालिकाहरूले जनस्वास्थ्यका मापदण्डको पालना गर्न नसक्ने भन्दै ठूलाभन्दा साना बालबालिकालाई संक्रमणको बढी जोखिम छ । यस कारण पनि अविभावकहरू आफ्ना बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने कुरामा प्रस्ट हुन सकेका छैनन् ।

शुल्क उठाउने बहाना !
‘विद्यालयहरूले खाली २० दिन बालबालिकालाई पढाए जस्तो गरेर शुल्क उठाउने बहाना मात्रै गरेको हो । स्कुलहरूले स्वास्थ्य प्रोटोकलहरूलाई पालना गराउन सक्लान् भन्ने कुरा मान्न गाह्रो छ । केटाकेटी यताउता चलिरहन्छन् । केटाकेटी डराएका पनि छन् । डराएका केटाकेटीलाई जबरजस्ती विद्यालय ल्याउ भन्न पाइन्छ ? शिक्षक पनि डराएका छन्,’ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला भन्छन्, ‘डराएका शिक्षकलाई जबरजस्ती लिएर उनीहरूले राम्रोसँग पढाउँछन् ? अविभावक डराएका छन् । आफ्ना छोरीछोरीलाई विद्यालय पठाउने वा नपठाउने भन्ने कुरामा । पहिलाका जस्ता ग्यालग्याल्ती बच्चा त होइनन् अहिलेका अविभावकका एक÷दुईवटा मात्रै छन् । बहुमूल्य बच्चा । ती बच्चालाई बाउआमाले पठाउँछन् ?’ सबै कुरालाई हेर्ने हो भने विद्यालय खोल्ने वा नखोल्ने विषयको कुरोकानीभन्दा विद्यालय खोल्ने भए स्वास्थ्य प्रोटोकलको ग्यारेन्टी गर्नुपर्ने त्यो गर्न नसक्ने भए विद्यालय खोल्नुको कुनै औचित्य नरहेको उनले बताए ।

लामो समयसम्म विद्यालय बन्द भएर विद्यार्थीको भविष्य नै जोखिममा रहेका बेला उनीहरूलाई कसरी उपयुक्त शिक्षा पद्धतिमा जोड्न सकिन्छ भन्ने कुरामा चासो दिन नसक्ने सरकारले चाडबाडको समयमा विद्यालय खोल्छु भन्ने कुरा नाजायज भएको अविभावक संघका अध्यक्ष केशव पुरी बताउँछन् । चाडबाडमा बढी भिड भई बालबालिका थप जोखिममा पर्न सक्ने जनस्वास्थ्यविद्ले भनिरहेको समयमा विद्यालय खोलेर खाली शुल्क उठाउने बहाना मात्रै रहेको उनले बताए । यत्रो समय बालबालिकाको शिक्षाको वास्ता नगर्ने विद्यालयहरूले खाली आफ्नो स्वार्थपूर्तिका लागि विद्यालय सञ्चालन गर्न तम्सिएको पुरीको भनाइ छ ।

‘यो त कस्तो देखियो भने नगरपालिकाहरू अक्षम देखिए । नगरपालिकाहरूले संस्थागत विद्यालयहरूको दबाबमा आएर आफूखुसी विद्यालय खोल्ने निर्णय गरे,’ पुरीले भने, ‘यो निर्णय गरिनुको पछाडि अब चाडबाडमा धमाधम पैसा उठाउने बहाना मात्रै हो । उनीहरूलाई पैसा उठाउनु छ भन्दैमा बालबालिकाको ज्यान जोखिममा राख्न मिल्छ ? यो त बिल्कुलै गलत निर्णय भयो ।’ यदि यस्तै गरी विद्यालय खोल्नु नै थियो भने पहिला विद्यार्थीहरूलाई भ्याक्सिनको ग्यारेन्टी किन नगरिएको ? भन्दै पुरी प्रश्न तर्स्याउँछन् । पुरीका अनुसार आम अभिभावकहरूले पनि बालबालिका विद्यालय पठाउन अघि अहिलेको गाम्भीर्यता बुझ्न जरुरी छ ।

उनले भने, ‘अभिभावकहरूलाई आफ्ना बच्चाको ज्यान प्यारो कि बच्चाहरूलाई विद्यालय पठाएर शिक्षा दिन्छौं भन्ने कुरा प्यारो हो ?’ सबै अविभावकका लागि पहिलो प्राथमिकता भनेको आफ्ना बालबालिकाको स्वास्थ्य सुरक्षाकोे कुरा हुन्छ, यदि त्यस्तो हो भने यस्ता नचाहिँदा निर्णयका पछि लाग्नुको कुनै औचित्य नरहेको उनको ठहर छ ।

पहिलो लहरको कोरोना संक्रमण फैलिएपछि आइसोलेसन अभावमा धेरै विद्यालयलाई आइसोलेसन सेन्टरका रूपमा प्रयोग गरिएका थिए । कुन–कुन विद्यालयलाई आइसोलेसन सेन्टर बनाइएको थियो र तीमध्ये कतिलाई निःसंक्रमण गरिएको छ भन्ने कुराको नै यकिन छैन । त्यसैमा बिनाकुनै अनुगमन गरी सोझै विद्यालय खोल्ने निर्णय गर्नुले गैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको उनको आरोप छ ।

विद्यालय खोल्दा कुन–कुन मापदण्ड अपनाउनुपर्ने, विद्यार्थीले गर्ने, शिक्षकले के गर्ने, कुन–कुन समयमा कसरी अध्यापन गराउने भन्ने कुराको नै यकिन नगरी सोझै विद्यालय खोल्ने निर्णय गर्नुले सरकारी पक्ष आफ्नो जिम्मेवारीबाट सोझै पन्छिएको जस्तो व्यवहार देखिएको उनको बुझाइ छ ।

पुरी भन्छन्, ‘अहिले सोझै विद्यालय खोल्ने निर्णय सुनाएर पछि विद्यार्थीलाई केही भइहालने त्यसको जिम्मेवारी कसले लिन्छ ? यो कुराको पनि ग्यारेन्टी विद्यालयहरूले गर्न सक्नुपर्छ । होइन भने अहिलेको अवस्थामा बालबालिकालाई विद्यालय पठाउनुको कुनै औचित्य छैन ।’

प्रतिक्रिया