नेपाली कांग्रेस बिपीको विशेष महाधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौंमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा पुर्याए समृद्ध समाज निर्माण गर्न सकिने बताए ।
बिपी कोइरालाले अगाडि सारेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादमार्फत् समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउन नेपाली कांग्रेस बिपी लाग्ने उनले विश्वास लिएको बताए।
नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले बिपी कोइराला ठूलो विचारक भएको बताए । ‘बिपी कोइरालाको प्रथम जननिर्वाचित दुई तिहाइको सरकारदेखि अहिलेसम्म दुई तिहाइका सरकार विभिन्न कारणले ढल्दा देशले विकासको फड्को मार्न सकेन, यो मुलुकका लागि दुर्भाग्य हो,’–उनले भने ।
लोकतान्त्रिक समाजवादी पार्टीका सहमहामन्त्री डा सुरेन्द्र झाले विभिन्न राजनीतिक दलले आफ्नो महाधिवेशन समयमा गराउन नसकेको वर्तमान अवस्थामा नेपाली कांग्रेस बिपीले आफ्नो विशेष महाधिवेशन समयमा गराएर उदाहरणीय काम गरेको बताए ।
बिपी कोइरालाले अगाडि सारेको राष्ट्रिय मेलमिलापको नीति अहिलेसम्म पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको बताउँदै नेपाली कांग्रेस बिपीले पुरातनवादी सोचलाई त्यागेर नयाँ सोच र विचारका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस बिपीका सभापति हरिबोल भट्टराईले गौरवपूर्ण इतिहास बोेकेको मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले बिपी कोइरालाले देखाएको बाटो बिराएकाले आफूहरु वैकल्पिक शक्ति निर्माणमा लाग्नुपरेको बताए ।
तीन दिन चल्ने यस महाधिवेशनले सभापति एक, वरिष्ठ उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्री एक र २१ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । यस महाधिवेशनमा देशभरका ५० जिल्लाका झण्डै ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया