बिहीबार, वैशाख १३, २०८१

सेतो पुतलीको झुस, दृष्टि गुम्ने खतरा !

नेपालखोज २०७८ भदौ ३१ गते १८:५८

आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अनि संवेदनशील अंग हो । दृष्टिविनाको जीवन अन्धकार अनि कष्टकरपूर्ण रहन्छ । शरिरको पाँचवटा इन्द्रियमध्ये सबैभन्दा महत्त्वपूर्ण इन्द्रिय आँखा हो । आँखाले मानिसको व्यक्तित्व झल्काउनुको साथसाथै अनुहारको सौन्दर्य पनि बढाउँछ । कुन राम्रो कुन नराम्रो भनेर छुट्याउन पनि आँखाले मद्दत गर्दछ । अहिलेको विज्ञान तथा प्रविधिको युगमा हरेक मानिसको हात–हातमा मोबाइल फोन अनि हरेकका घर–घरमा टेलिभिजन छन् । इन्टरनेट र विज्ञान प्रविधिको जमानालाई सदुपयोग गर्दै यी साधनहरूको अत्यधिक प्रयोग गरिँदा अहिले साना बालबालिकादेखि वृद्धवृद्धा सबै उमेर समूहले नै चस्मा लगाउनुपर्ने वा आँखासम्बन्धी विभिन्न समस्या बढ्न थालेका छन् भने अर्कोतर्फ आँखामा लाग्ने अनेकथरी रोगहरू पनि देखा पर्न थालेका छन् । आज हामी कुरा गर्दै छौं, आँखासम्बन्धी रोग सापुको बारेमा । हुन त यो रोग नयाँ नभइ पुरानै रोग हो । तर, अझै पनि यस रोगबारे धेरैलाई जानकारी छैन । विशेषगरी सापु रोग एक किसिमको सेतो पुतलीलाई छोएपछि हुने संक्रमण हो । नांगो हातले सेतो पुतलीलाई छोएर आँखामा छोए यसको संक्रमण हुन्छ । बत्तीको वरिपरि घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको असरले आँखाको दृष्टि नै गुम्न सक्ने भएकाले यसको संक्रमण हुनबाट आफूलाई जोगाउन अति आवश्यक छ । के–हो त साप रोग ? यो रोग कसरी सर्दछलगायत विषयमा आज हामीले नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर तथा एभरेष्ट आई सेन्टर चाबहिलका डाइरेक्टर डा. कमल खड्कासँग कुराकानी गरेका छौं । प्रस्तुत छ, डा. खड्कासँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानी :

सापु कस्तो खालको रोग हो ?
सापु रोग सेतो पुतलीको झुस आँखामा बिझाएपछि हुने संक्रमण हो । बच्चाहरूले खेल्दा पुतलीलाई छुँदा त्यसले आफ्नो झुस फ्याँक्छ । त्यो झुस आँखाको नानीमा गड्छ । गडेपछि अन्य भाग जस्तो आँखाबाट झुस निकाल्न सकिँदैन । औषधिहरू त दिइन्छ तर यसले डे बाई डे आँखाको कन्डिसन बिग्रिन्छ । आँखामा पिप जम्मा हुन्छ । पिप जम्मा भएकोलाई उपचार गर्न पनि त्यत्ति सहज छैन र अन्तिममा यसले आँखाको ज्योति नै गुम्छ ।

यो नयाँ आएको रोग हो ?
होइन । निकै पुरानो रोग हो । आजभन्दा करिब १५/२० वर्षअघि नै प्रमाणित भइसकेको रोग हो । विशेषगरी यो रोग सबैभन्दा पहिला पोखराको हिमालय अस्पतालमा देखापरेको थियो । कास्की जिल्लामा सबैभन्दा बढी देखिएको छ भने अन्य ठाउँहरू नुवाकोटलगायत जिल्लामा पनि देखिएको छ ।

यो रोग लाग्ने निश्चित समय छ कि जुन समयमा पनि लाग्छ ?
यो सिजनल रोग हो । विशेषगरी गर्मी महिना सकिएर जाडोयाम सुरु हुने समयमा यो बढी देखिन्छ । किनभने यो समयमा सेतो पुतली अन्य समयको तुलनामा अलि बढी देखिन्छ ।

यो रोग कुन उमेर समूहका मानिसलाई बढी हुन्छ ?
सामान्य हिसाबले हेर्ने हो भने ठूलाभन्दा साना बालबालिकामा यो रोग बढी देखिन्छ । किनभने साना बालबालिकाले पुतलीसँग खेल्ने गर्छन् भने अन्य कुरामा पनि ठूला मानिसले जस्तो ख्याल गर्न सक्दैनन् । ठूला मानिसले पुतलीसँग खेल्न पनि नखेल्ने र संयमता पनि अपनाउने हुँदा ठूलाको भन्दा बालबालिकामा यो बढी देखिन्छ ।

पुतलीको झुस आँखामा परेको कति समयदेखि यसको असर देखा पर्न थाल्छ ?
यसको प्रभाव २/३ दिनदेखि नै देखिन सुरु हुन्छ । समयमा यसले उपचार पाएन भने साता–दश दिनभित्र यसले दृष्टि नै गुम्छ । अहिलेसम्म यसको उपचार सकेसम्म एकदमै न्यून मात्रै सफल भएको छ । त्यसैले यो रोग भइहाले प्रायः आँखाको दृष्टि नै जान्छ ।

यो रोग अहिले बढ्दो क्रममा छ कि घट्दो घट्दो क्रममा छ ?
यस रोगको विषयमा धेरै रिसर्चहरू भएका छन् । ती रिसर्चहरूले यो रोग हरेक वर्ष बढ्दो क्रममा छ । यो समस्या बढ्दै जानुमा धेरैलाई यो रोगको विषयमा ज्ञान नहुनुले पनि भूमिका खेलेको छ ।

यसका लक्षणहरू के–के हुन्छन् ?
–आँखाबाट आँसु आउने
–आँखा दुख्ने
–एक्कासि एउटा आँखा रातो हुने
–उज्यालोमा हेर्न गाह्रो हुने
–कम देख्ने
–आँखाको कालो भागको बीचमा सेता दाग देखिने
–पिप जमा हुने

यसबाट बच्ने उपाय के–के हुन सक्छन् ?
–सबैभन्दा पहिला पुतलीलाई कन्ट्रोल गर्ने
–सेतो पुतलीबाट टाढा रहने
–कोठामा पुतली पस्न नदिन झ्याल–ढोकामा जाली लगाउने
–झुल लगाएर मात्रै सुत्ने
–सेतो पुतलीलाई हातले नछुने
–हातले छोइहाले साबुनपानीले राम्ररी हात धुने
–हात नधोईकन आँखामा छुँदै नछुने
–झुक्किएर यदि आँखामा त्यस्तो समस्या आएको थाहा पाए सबैभन्दा चाँडो नजिकको आँखा अस्पताल जाने । यदि अस्पताल छैन टाढा छ भने साधारण एन्टिबयोटिक हाल्ने अनि अस्पताल नै पुग्ने । यति गरे यो रोगबाट केही हदसम्म जोगाउन सकिन्छ ।

प्रतिक्रिया