शनिबार, वैशाख १५, २०८१

‘जलवायु परिवर्तनको बहस सामान्य होइन’

अहिले हामीले जलवायु परिवर्तन मात्रै होइन कि जलवायु संकट भन्ने बेला भइसक्यो ।

नेपालखोज २०७८ असोज १६ गते १२:३५

के हो जलवायु परिवर्तन ? यसलाई रोक्न के गर्न सकिन्छ ?

जलवायु परिवर्तन पछिल्लो समय जटिल बन्दै गएको छ । विश्वभरका वैज्ञानिकहरूले गरेको एउटा अध्ययनले जलवायु परिवर्तन सामान्य नभइ खतरापूर्ण भइसकेको औंल्याएका छन् । विश्वव्यापी गम्भीर समस्याका रूपमा रहेका जलवायु परिवर्तन जलवायुमा हुने असामान्य परिवर्तन हो । यसबाट प्रकृतिका सम्पूर्ण गतिविधि अनियमित भई पारिस्थितिक प्राणालीलगायत सम्पूर्ण प्रणाली अस्तव्यस्त हुन्छ । यसको मुख्य कारक तत्त्वका रूपमा रहेको कार्बन उत्सर्जनको जिम्मेवार औद्योगिक र सम्पन्न मुलुक भए पनि असर विकासशील र गरिब मुलुकहरूले भोग्नुपरेको हुँदा विकसित मुलुकको पूर्ण कटिबद्धता र गरिब मुलुकहरूको साथ नै जलवायु परिवर्तनको असर कम पर्ने प्रमुख उपाय हुन सक्ने देखिन्छ । के हो त जलवायु परिवर्तन ? यसलाई रोक्न के गर्नुपर्छलगायत विषयमा आज हामीले जलवायु तथा प्रकोप विज्ञ डा. धर्मराज उप्रेतीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, डा. उप्रेतीसँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानी :

औद्योगीकरण बढ्नु भनेको वायुमण्डलमा हरित गृह ग्यासको उत्सर्जन बढ्नु हो ।

जलवायु परिवर्तन भनेको के हो ?
जलवायु परिवर्तन भनेको लामो समयदेखिको हावापानी र तापक्रममा आएको औसत परिवर्तन हो भनेर बुझ्नुपर्छ ।

संसारको जलवायु परिवर्तन संकटपूर्ण बन्न थालेको हो ?
हो, अहिले हामीले जलवायु परिवर्तन मात्रै होइन कि जलवायु संकट भन्ने बेला भइसक्यो । किनभने, यसपालिकै मात्रै संसारभरका घटनालाई हेर्ने हो भने जस्तो, जर्मनीमा आएको ६० वर्षयताको ठूलो बाढी, चीनमा आएको बाढी जसले गर्दा त्यहाँको अन्डर ग्राउन्ड रेलमा बाढी पसेर ११ जनाको मृत्यु भयो । त्यस्तै यस वर्ष अमेरिकाको न्युयोर्कमा आएको आँधी जसले गर्दा त्यहाँ धेरै जनधनको क्षति भयो । नेपालमा आएको मेलम्चीको बाढी, उच्च हिमाली क्षेत्र मनाङको बाढी यी सबै कुराको विश्लेषण गर्ने हो भने अब संसारको जलवायु परिवर्तनको बहस जलवायु परिवर्तन मात्रै नभएर जलवायु संकट उन्मुख भएको र त्यो संकट मोचनका लागि गर्नुपर्ने काममा हामी मानव जाति अब केन्द्रित हुनुपर्छ भन्ने सन्देश दिइसक्योे । त्यो खतरा मैले यत्तिकै भनिराखेको छैन । यसपालि आईपीसीसीले सार्वजनिक गरेको रिपोर्टले पनि यो कुरालाई पुष्टि गरिसकेको छ । संसारभरका वैज्ञानिकहरूले अध्ययन गरेर निकालेको जुन रिपोर्ट छ, त्यसको सारांश के छ भने तापक्रम बढ्यो, पानी पर्ने तरिकामा पनि परिवर्तन भयो, विश्वको तापमान पनि बढेको यसले पुष्टि गर्‍यो । तापक्रम यसरी बढिरहेको छ कि नेपालले विश्व तापमान १.५ डिग्री राख्नुपर्छ भनेर विश्वसामु राखेको अडान अहिले त्योभन्दा बढी हुन्छ कि भन्ने खतरा बढेको छ । १.५ डिग्री मात्रै तापक्रम बढ्दाखेरि धेरै जनधनको क्षति हुने, पशुपालनको क्षति हुने, पानी पर्ने तरिकामा एकदमै कतै धेरै उच्च पानी पर्ने र कतै पानी नै नपर्ने समस्या उत्पन्न भएको छ । अहिले जलवायु परिवर्तनको बहसलाई सामान्य रूपमा अथवा मजाकका रूपमा लिने गरिएको छ । तर, जलवायु परिवर्तनको असरलाई कृषि क्षेत्रमा हेर्ने हो भने कृषि बालीमा ह्रास आएको छ । वन क्षेत्रमा हेर्ने हो भने वनस्पतिहरू, वनको पारिस्थितिकीय प्रणालीमा असर गरेको छ । नेपालमा मात्रै पाइने जडीबुटी, वनस्पतिहरू लोप हुँदै गएका छन् । र, कतिपय जीव जन्तुहरू जुन हाम्रो नेपालमा मात्रै पाइन्छन् उनीहरूको संख्या पनि घट्दै गएको अवस्था छ । हाम्रो जुन रैथाने खेती गर्ने प्रणाली थियो त्यो नै अब लोप हुने अवस्थामा पुगेको छ । किनकि अब त्यो हुँदैन । जलवायु परिवर्तनका असरले जुन जलवायुमा पहिला त्यो हुन्थ्यो त्यसमा नहुने भएपछि नयाँ बाली हामीले प्रतिस्थापित गर्नुपर्ने अवस्था आइसकेको छ । भनेपछि यसले खाद्य संकट पनि ल्याउन सक्ने ठूलो संकेत देखाएको छ । एकातिर खाद्य संकट अर्कोतर्फ बाढी पहिरोको नोक्सानी र संसारभरका आगलागीका घटनाहरूले पनि एकमुष्ट रुपमा ब्ल्याक कार्बनको मात्रा बढेर तापक्रम बढ्नमा त्यसको पनि ठूलो भूमिका रहेको आईपीसीसीको रिपोर्टले देखाएको छ । समग्रमा हाम्रा वरिपरि भइरहेका घटना परिघटना अथवा जलवायुसँग सम्बन्धित संसारभरका सबै घटनालाई विश्लेषण गरेर हेर्ने हो भने जलवायु परिवर्तनको असर बढेको छ । यसलाई समयमै समाधान गर्न सकिएन भने यसले मानव सभ्यतामाथि नै प्रश्न गर्ने, त्यसलाई नै संकटमा पार्ने देखिन्छ ।

जलवायु परिवर्तन हुनुका कारण के हुन् ?
जलवायु परिवर्तन हुनुको कारण भनेको औद्योगीकरण बढिराखेको छ । यो औद्योगीकरण बढ्नु भनेको वायुमण्डलमा हरित गृह ग्यासको उत्सर्जन बढ्नु हो । त्यो उत्सर्जन बढ्दै जानु, जनसंख्या बढ्दै जानु, भेहिकलहरूबाट धुँवा निस्किँदै जानु, वन–जंगल नाश हुँदै जानु यी सबै कुराले हरित गृह ग्यासको उत्सर्जन वायुमण्डलमा अत्यधिक भइरहेको छ । जति हरित गृह ग्यासको उत्सर्जन बढी भयो त्यति नै ग्रिन हाउस ग्यास इफेक्ट पृथ्वीलाई तापक्रम बाहिर जान नदिन ट्र्याप गर्छ । ट्र्याप गरेपछि पृथ्वीको तापक्रम बढ्छ । पृथ्वीको तापक्रम बढ्नुको अर्थ यसले सम्पूर्ण जलवायुसँग सम्बन्धित क्षेत्रमा यसले असर गर्छ । केही धेरै पानी पर्ने, कतै पानी नै नपर्ने, कही धेरै हावाहुरी चल्ने यस्तो खालको जब हुन्छ, त्यसले विपत्ति ल्याउँछ । र, त्यो विपतमा धेरै धनजनको क्षति हुन्छ ।

जलवायु परिवर्तनलाई रोक्न के गर्नुपर्ला ?
पहिलो कुरा त यसका धेरै उपायहरूमध्ये जुनजुन क्षेत्रबाट कार्बन उत्पादन भइरहेको छ । जस्तो हामीले अहिले पेट्रोल, डिजेलको प्रयोग गर्छौं गाडी चलाउन भने अब हामीले इलेक्ट्रिक भेहिकलमा जानुपर्‍यो । नेपालले २०३० सम्म विभिन्न क्षेत्रबाट हुने हरितगृह ग्यासको उत्सर्जनलाई नेट जिरोमा झर्ने प्रतिबद्धता नेपालको राष्ट्रिय प्रतिबद्धता पत्र (एनडीसी) मा उल्लेख गरेको छ । राष्ट्रिय प्रतिबद्धता पत्र (एनडीसी) भनेको नेपालले कुन-कुन क्षेत्रबाट कति मात्रामा हरितगृह ग्यासको उत्सर्जन घटाएर २०३० मा पुग्ने रोडम्याप र २०५० सम्ममा के गर्ने भन्ने एकखालको प्रतिबद्धता हो । यो प्रतिबद्धता–पत्र नेपालले २०२१ मै निकालेर संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारुप महासन्धि (UNFCCC) मा बुझाएको छ । त्यो बुझाउनुको अर्थ के हो भने हामीले वन क्षेत्र ४५ प्रतिशतभन्दा घट्न दिँदैनौं, विद्युतीय गाडीको संख्या बढाउँछौं, फोहोर व्यवस्थापनको प्रक्रियालाई वैज्ञानिककरण गर्दै अन्य कलकारखानाहरू पनि स्वच्छ ऊर्जामा लैजान्छौं । हामीले बाल्ने चुलोलाई पनि नवीकरणीय ऊर्जामा आधारित बनाउँछौं भनेर गरेको प्रतिबद्धता पत्र हो । हामीले कार्बन उत्सर्जनलाई नेट जिरोमा झारिसकेपछि विकसित राष्ट्रले नेपालमा हुने जति पनि विपत्‌का घटनाहरू छन्, जुन जलवायु परिवर्तनका कारणले हुने विपत्‌का घटनाहरू छन्, त्यसको क्षतिपूर्ति जसले यो सिर्जना गरेको हो उसले तिर्नुपर्छ भन्ने सन्धि छ । वन-विनाशलाई रोक्ने, नवीकरणीय ऊर्जाको विकास र विस्तार गर्ने, पूर्व सूचना प्रणालीको विकास र विस्तार गर्ने र अन्य क्षेत्रलाई पनि जलवायुमैत्री बनाउन सक्यौं भने यसबाट हामी केही हदसम्म जलवायु परिवर्ननका असरहरू कम गर्न सक्छौं ।

प्रतिक्रिया