शुक्रबार, वैशाख १४, २०८१

‘हामी जनताकै छोरा हौं, जनताले दु:ख नपाउने गरी काम गर्नुपर्छ’

नेपालखोज २०७८ माघ १० गते ९:५५

मधेस प्रदेशको बारा जिल्लाको प्रशासनिक नेतृत्व अहिले साकेला गाउँपालिका खोटाङका कृष्णबहादुर कटुवालको काँधमा छ । २०७८ भदौ ३१ गतेदेखि बाराको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कटुवाल कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ कटुवाललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा ३२ वर्ष बिताएका बाराका प्रजिअ कटुवाल यसअघि झुम्का कारागारमा कार्यरत थिए ।
जनताले पाउनुपर्नेजति सहज र सरल रुपमा निजामती सेवा प्रवाह हुन नसकेको प्रजिअ कटुवाल स्विकार्छन् । तर सरकारी निकायबाट भने त्यो प्रयास निरन्तर रहेको उनको दाबी छ । ‘जति जनताले सेवा पाउनुपर्ने त्यति त पक्कै पुगेको छैन । काम नै नभएको पनि होइन काम पनि भएको छ,’ प्रजिअ कटुवालले नेपालखोजसँग भने, ‘कार्यालयमा अहिले नागरिकता र राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको एकदमै भिड छ । सर्भे नभएर होला कर्मचारी संख्या पनि पुगेको छैन । जनताले जति सहज र सरल रुपमा सेवा पाउनुपर्ने हो त्यो पाएको अवस्था छैन ।’
बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णबहादुर कटुवालसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ४१औं शृंखला :

हाइलाइट्स :
-जनताले कर्मचारीबाट कसरी सेवा पाउँथे त्यो राम्ररी थाहा छ मलाई । पहुँचवाला मान्छेले जसरी पनि लिन्छ । समस्या यहाँ पहुँच नभएको मान्छेको हो । जसको यहाँ बोली बिक्दैन । जसको पहुँच हुँदैन यस्ता मान्छेलाई कुर्सीमा राखेर चिया खुवाएर सेवा दिन मन लाग्छ ।
-जनताको करबाट हामीलाई सेवा-सुविधा, तलब दिएर हामीलाई उनीहरूकै सेवा दिन नेपाल सरकारले यहाँ पठाएको हो । हाम्रो प्राथामिकता जनतालाई अत्यन्तै सद्भाव र आदरका साथ सेवा प्रवाह गरिनुपर्छ भन्ने हो ।
-कहिलेकाहीँ कोही मान्छेले दम्भ पोख्छन् त्यसलाई सामान्य रुपमा लिनुपर्छ । हाइलेभलबाट आएको कुरालाई यस्तो हो- कानुनी प्रक्रिया यो हो, हामीले यहाँसम्म गर्न सक्छौं भनेपछि उहाँहरू कन्भिन्स हुनुहुन्छ । दबाबै आएर काम गर्न नसकेको अनुभव छैन मेरो जीवनमा ।
-आफैँ तल फाँटमा झरेर काम अगाडि बढाउनु, तपाईंलाई समस्या छ ? भन्दै सेवाग्राहीलाई सोधेर गरेका काम त कति छन् कति ।
-जनतालाई छिटो-छरितो सेवा दिँदा, मीठो बोल्दा । समस्या सुनिदिँदा कर्मचारीको के बिग्रन्छ जस्तो लाग्थ्यो ।
-अहिले पनि निजामती सेवातर्फ आकर्षण छैन भन्न मिल्दैन । आकर्षण हुँदा पनि तलब भत्ता कम हुने, दुर्गममा गएर काम गर्नुपर्ने भएकाले केही दुरुत्साहित भएका हुन् । युवाहरू ठूलो सपना देख्ने विदेश जाने पनि गरेको देखिन्छ । अहिले पनि लोकसेवाको फाराम भर्ने र परीक्षामा दिने त हजारौं छन् ।
-निजामती सेवामा प्रवेश गर्न पाए जागिर सुरक्षित हुन्छ भन्ने छ । मान-प्रतिष्ठा र पेन्सन हुन्छ भन्नेछ । त्यसकारण आकर्षण नै नभएको भन्ने होइन ।
-सीडीओको जागिर अहिले ५, ६ र १० महिना जस्तोमा सरुवा भइरहेको अवस्था छ । पाँच महिना त ठाउँ बुझ्न लाग्छ । १० देखि १५ महिना बस्यो भने केही काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ । तर गर्न चाहनुपर्छ मन हुनुपर्छ ।
-विवकेपूर्ण न्याय गर्न सक्ने, जनताको कुरा आत्मसात् गर्न सक्ने, सेवा-प्रवाहमा सरलता र सहजीकरण गर्न सक्ने खालका मान्छे कमै देखिन्छन् ।
-जति जनताले सेवा पाउनुपर्ने त्यति त पक्कै पुगेको छैन । काम नै नभएको पनि होइन काम पनि भएको छ । अहिले नागरिकता र राष्ट्रिय परिचयपत्र लिनेको एकदमै भिड छ । सर्भे नभएर होला कर्मचारी संख्या पनि पुगेको छैन । जनताले जति सहज र सरल रुपमा सेवा पाउनुपर्ने हो त्यो पाएको अवस्था छैन ।
-सेवाग्राहीलाई परेको समस्यामा दत्तचित्त भएर उहाँहरूलाई खुसी बनाउने, सेवाग्राहीमैत्री अड्डाको स्थापना गर्ने हामीले सोच्नु र गर्नुपर्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मैले जागिर खाएको ३२ वर्ष भयो । म एकदमै गाउँमा हुर्केको र ग्रामीण भेकका समस्याबारे ज्ञान राख्छु । म आठ-नौ वर्षको हुँदा बुबाहरूसँग मालपोत जाँदा देख्थें । जनताले कर्मचारीबाट कसरी सेवा पाउँथे त्यो राम्ररी थाहा छ मलाई । पहुँचवाला मान्छेले जसरी पनि लिन्छ । समस्या यहाँ पहुँच नभएको मान्छेको हो । जसको यहाँ बोली बिक्दैन । जसको पहुँच हुँदैन यस्ता मान्छेलाई कुर्सीमा राखेर चिया खुवाएर सेवा दिन मन लाग्छ । मेरो मनले यसो भन्छ कतिपय ठाउँमा यो सम्भव नहुन पनि सक्छ । मकहाँ आएका समस्या म समाधान गर्छु । समाधान भएन भने कहाँ जानुपर्ने त्यसको निकास देखाउँछु । केही न केही निकास देखाएरै पठाउँछु- मेरो उद्देश्य नै यो छ । मैले सधैं कुर्सी पाउँदिनँ । सबैले पनि कुर्सी पाउँदैनन् । जनताको करबाट हामीलाई सेवा-सुविधा, तलब दिएर हामीलाई उनीहरूकै सेवा दिन नेपाल सरकारले यहाँ पठाएको हो । हाम्रो प्राथामिकता जनतालाई अत्यन्तै सद्भाव र आदरका साथ सेवा प्रवाह गरिनुपर्छ भन्ने हो । यो हुँदा-हुँदै पनि टिमले काम गर्नुपर्ने हुँदा त्यो नहुन सक्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दबाब त मलाई आए जस्तो लाग्दैन, कहिलेकाहीँ कोही मान्छेले दम्भ पोख्छन् त्यसलाई सामान्य रुपमा लिनुपर्छ । हाइलेभलबाट आएको कुरालाई यस्तो हो- कानुनी प्रक्रिया यो हो हामीले यहाँसम्म गर्न सक्छौं भनेपछि उहाँहरू कन्भिन्स हुनुहुन्छ । दबाबै आएर काम गर्न नसकेको अनुभव छैन मेरो जीवनमा ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
यस्तो घटना थुप्रै छन् । आफैं तल फाँटमा झरेर काम अगाडि बढाउनु, तपाईंलाई समस्या छ ? भन्दै सोधेर गरेका काम त कति छन् कति । एक पहाडी महिला तराईको महतो केटासँग विवाह गरेकी रहिछन् । २०५९ सालमा विवाह गरिन्, २०६० मा छोरो जन्मियो । २०६३ मा छाडेर चितवन गइन् र अर्को विवाह गरिन् । यता बच्चाको बाउको पनि निधन भएछ । छोराको नागरिकता लिने बेला भयो । सानैमा आमाले लिएर गएकाले बुबाको परिवारले यता स्वीकार नगर्ने, वडाबाट सिफारिस लिन गाह्रो । उनीहरू एक सातादेखि अल्झिएको मैले देखिरहेको छु फलोअप गरिरहेको छु । वडाध्यक्षलाई बोलाएँ । उहाँलाई यो बच्चा यहाँको होइन भने होइन भन्ने सिफारिस गरिदिनू भनें । उहाँले धेरै गाह्रो मान्नुभयो । परिवारले अस्वीकार गरे पनि महतोकै बच्चा रहेको सबैले स्वीकार गरे । बच्चा एकिन भएपछि बच्चाको काकालाई मैले बोलाएँ । सनाखतका लागि काका बोलाएँ । आमाले सनखात गर्न नमिल्ने थियो उहाँको अन्त विवाह भएको थियो । काकाले सनाखात गर्न मानेनन् । सल्लाह गर्छु भने । फेरि भजित आफ्नै रहेको स्वीकार गर्छन् । सम्पत्तिमा हक दाबी गर्छ भनेर उसले नागरिकता दिन वञ्चित गरेको थियो । अनि मैले तपाईंले भतिज रहेको स्वीकार गर्नुभयो तर नागरिकता लिन वञ्चित गर्नुभयो भने थुनेर कारबाही गर्छु भनेपछि सनाखत गर्न काका तयार भए । सीडीओ नै नतातेको भए त्यो बच्चाले नागरिकता पाउने अवस्था थिएन । नागरिकता पाएपछि त्यो एकदम खुसी भयो यति धेरै आँसु खसाल्यो । ऊ खुसी हुनुमै आफूलाई कामबाट सन्तुष्ट भएको महसुस भयो । यस्ता घटना धेरै भएका छन् । बुहारीलाई नागरिकता नदिएको, श्रीमती बेपत्ता पारेका घटनाहरु छन् ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
म खोटाङको विकट गाउँमा जन्मिएको मान्छे । अहिलेको साकेला गाउँपालिका भन्छ । गाउँको हिसाबमा म पढाइमा राम्रै थिएँ । क्लासमा प्रथम हुन्थें । म बुबाहरूसँग दुई घण्टा हिँडेर सरकारी अड्डा जान्थें । बुबाहरूको काम मालपोत सीडीओ अफिसमा हुन्थ्यो । कर्मचारीहरू मुखिया, खरिदारले मान्छेलाई थकाउँथे । मालपोतमा पनि त्यस्तै । अनि कर्मचारीले मान्छेलाई किन यस्तो गर्छन् भन्ने लाग्थ्यो । हामी सेवा लिन आएकालाई कर्मचारीले किन यस्तो व्यवहार गर्छन् भन्ने लाग्थ्यो । निजामती सेवामा यिनै कुराहरुले गर्दा मेरो आकर्षण भएको हो । जनतालाई सेवा दिँदा, मीठो बोल्दा । समस्या सुनिदिँदा कर्मचारीको के बिग्रन्छ जस्तो लाग्थ्यो । जनताको सेवा गर्नुपर्छ गाउँका जनताहरूलाई यस्तो समस्यामा छन् भन्ने थियो यसका लागि निजामती सेवाबाहेक अरु थिए । जनताका लागि र विशेषगरी पहुँच नहुनेका लागि लोकसेवा निष्पक्ष हुन्छ भन्ने थियो । मालपोतको हाकिम, सीडीओलाई भेट्न मुस्किल अहिले त के छ समस्या सुन्नुपर्छ भनेर सेवाग्राहीलाई भित्र छिराउँछु । शिक्षा अधिकारीहरूलाई भेट्न गाह्रो उनीहरूलाई भेट्दा धुनषटंकार शैलीमा नमस्कार गर्नुपर्ने । सम्मान चाहिन्छ र तर यो बढी नै हो भन्ने मलाई त्यही बेला लाग्थ्यो ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
अहिले पनि आकर्षण छैन भन्न मिल्दैन । आकर्षण हुँदा पनि तलब भत्ता कम हुने दुर्गममा गएर काम गर्नुपर्ने भएकाले केही दुरुत्साहित भएका हुन् । युवाहरू ठूलो सपना देख्ने विदेश जाने पनि गरेको देखिन्छ । अहिले पनि फाराम भर्ने र जाँच दिने त हजारौं छन् । हाम्रोमा दोस्रो विकल्प पनि छैन न हाम्रोमा उद्योगधन्दा फस्टाएको छ न अन्य क्षेत्रमा रोजगारको सिर्जना भएको छ । यहाँ प्रवेश गर्न पाए जागिर सुरक्षित हुन्छ भन्ने छ । मान-प्रतिष्ठा र पेन्सन हुन्छ भन्नेछ । त्यसकारण आकर्षण नै नभएको भन्ने होइन । बोर्डिङ पढेको बच्चाहरूचाहिँ विदेश गएका र सामाजिक क्षेत्रमा संलग्न कम भएको पाइन्छ । गाउँमा अध्ययन गरेको दु:ख गरेर पढेकाहरूचाहिँ यही क्षेत्रमा आएको पाइन्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
सीडीओको जागिर अहिले ५, ६ र १० महिना जस्तोमा सरुवा भइरहेको अवस्था छ । पाँच महिना त ठाउँ बुझ्न लाग्छ । १० देखि १५ महिना बस्यो भने केही काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ । तर गर्न चाहनुपर्छ मन हुनुपर्छ । विवकेपूर्ण न्याय गर्न सक्ने, जनताको कुरा आत्मसात् गर्न सक्ने, सेवा-प्रवाहमा सरलता र सहजीकरण गर्न सक्ने खालका मान्छे कमै देखिन्छन् । व्यक्तिअनुसार पनि भर पर्छ ।

तपाईं सेवाग्राही अर्थात् जनता पनि त हो ? जनताका तर्फबाट सोच्दा कर्मचारीबाट कुन रूपमा सेवा प्रवाह भइरहेको छ ?
जति जनताले सेवा पाउनुपर्ने त्यति त पक्कै पुगेको छैन । काम नै नभएको पनि होइन काम पनि भएको छ । अहिले नागरिकता र राष्ट्रिय परिचयपत्र लिनेको एकदमै भिड छ । सेवाग्राहीको भिड एकदमै छ । सर्भे नभएर होला कर्मचारी संख्या पनि पुगेको छैन । जनताले जति सहज र सरल रुपमा सेवा पाउनुपर्ने हो त्यो पाएको अवस्था छैन ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदम सन्तुष्ट छु । सामान्य किसानको छोरो । पहाडमा घाँस-दाउरा गर्दै हुर्केको बच्चाले प्रमुख जिल्ला अधिकारी भएर सातवटा जिल्ला हाक्ने अवसर पाएँ । म नेपाल सरकारप्रति एकदम आभारी छु । मेरा साथीहरू अझै पनि गाउँमा हलो जोतिरहनुभएको छ । त्यस हिसाबले मैले एकदमै अवसर पाएको भन्छु मचाहिँ । त्यही भएर पनि हामी अवसर आएको मान्छेले जिम्मेवारीसाथ काम गर्नुपर्छ । हामी जनताको छोरा हौं जनताले दु:ख नपाउने गरी हामीले काम गर्नुपर्छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
तपाईंले जनता र सेवाग्राहीबारे धेरै सोध्नुभयो । यो राम्रो कुरा हो । हरेक सेवाग्राहीलाई भगवान् मानेर उहाँहरूको समस्यालाई बुझेर उहाँहरूको आवश्यकता के हो कानुनी कुरा के हो प्रशासनिक कुरा के हो त्योतर्फ सचेत गराउँदै हामीले आएका जनता विकास निर्माणका कुरादेखि लिएर शान्ति-सुरक्षा, नागरिकता, मालपोत, नापीको जे कुरामा होस् आएका कुरा सम्बोधन गरेर उहाँहरूलाई सन्तुष्ट गर्नु हाम्रो परम धर्म हो भन्ने बुझ्नुपर्छ । हामी कर्मचारी जनताभन्दा सुविधाभोगी पनि छौं । हामीलाई सरकारले तलबभत्ता दिएको छ । सेवाग्राहीलाई परेको समस्यामा दत्तचित्त भएर उहाँहरूलाई खुसी बनाउने, सेवाग्राहीमैत्री अड्डाको स्थापना गर्ने हामीले सोच्नु र गर्नुपर्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले मधेस प्रदेशको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

खिमराज भुसाल, प्रजिअ, प्युठान – ‘जनतालाई सेवा गर्ने उपयुक्त अवसर’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया